coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भनेः 'जग्गा लिजमा दिइएकोबारे छानबिन हुन्छ'

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टअन्तर्गत रहेको गोकर्ण फरेष्ट रिसोर्टको जग्गा नवीकरण स्वतन्त्र संघ–संस्थाबाट मूल्यांकन गराएर मात्रै गरेको बताएका छन्। ट्रष्ट मातहत रहेका जग्गा जमिन र सार्वजनिक सम्पत्ति भाडामा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने जनाउँदै गोकर्ण फरेष्ट रिसोर्ट दिएको जग्गा नवीकरण गर्दा स्वतन्त्र मूल्यांकन गराएको भन्दै सरकारको निर्णयको बचाउ गरेका हुन्।

शनिबार प्रेस संगठन नेपालका पदाधिकारीको शपथग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासी पनि वर्तमान सरकारसँग जोडेर प्रचार गरिएको दाबी गरे। ‘केही दिनअघि गोकर्ण रिसोर्टको लिज अवधि थपियो। यसरी थपियो, जसरी पहिले कहिल्यै थपिएको थिएन। पहिले हचुवाको भरमा मूल्य राखिएको तर अहिले स्वतन्त्र संघ–संस्थाबाट मूल्यांकन गराएर थपिएको छ,’ प्रधानमन्त्रीले भने, ‘अर्को अवधि बाँकी रहँदै किन दिइयो भन्ने छ। अवधि बाँकी रहँदै कि त्यसलाई नचलाउने भन्नुप¥यो सरकारले, कि अरू केही गर्नुप¥यो। जब कसैले लिजमा लिएको छ, उसले प्रगति गर्छु भन्छ, आकर्षक ढंगले सरकारलाई कर तिर्छु, लिजको रकम राम्रो तिर्छु, प्रतिस्पर्धामा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन। पहिले भएन भने उसले निर्माण गर्न सक्दैन। बैंकबाट लोन लिनपु¥यो, निर्माण गर्नुप¥यो र सञ्चालन गर्नुप-यो। २० वर्षका लागि लियो, १० वर्ष निर्माण गर्नै लाग्छ। त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन।’

जब कसैले लिजमा लिएको छ, उसले प्रगती गर्छू भन्छ,आकर्षक ढंगले सरकारलाई कर तिर्छु,लिजको रकम राम्रो तिर्छु, प्रतिष्पर्धामा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन। २० वर्षका लागि लियो १० वर्ष निर्माण गर्नै लाग्छ।

प्रधानमन्त्री ओलीले जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको थियो, कालीमाटीलाई लिजमा दिइयो, चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएकोलाई पनि यही सरकारले गर्यो भन्ने जस्ता प्रचार भएको त्यो ठिक नभएको बताए। ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिसनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानबिन हुन्छ,’ उनले भने।

उनले यसअघि हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा भाडामा दिएको बताउँदै अहिले अवधि बाँकी रहँदै बन्द नहोस् भनेर नवीकरण गरेको पनि बताए। सरकारले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यती समूहलाई नै दिने निर्णय गरेको थियो। सरकारको सो निर्णय विवादित भएको छ। तर प्रधानमन्त्री ओलीले बचाउ गर्दै कानुन र विधिसंगत भएको दाबी गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका नेताहरू सरकारको समर्थनमा कुरा गर्न नसकेर कुण्ठा पोख्न थालेको बताएका छन्। उनले पार्टीको समर्थनमा बोल्न नसक्ने, सरकारको समर्थनमा बोल्न नसक्ने, विरोध मात्र बोल्नेहरू कुण्ठाग्रस्त रहेको दाबी गरेका हुन्। ‘विरोधीहरूले सीधा आँखाले हेर्न नसक्नेगरी पार्टी र आन्दोलनलाई बलियो बनाउँदा पनि आलोचना गर्नुले विरोधका लागि विरोध मात्र हो,’ ओलीले भने। राष्ट्रिय जनता पार्टीसँग भएको दुई बुँदे सहमति गर्दा एकथरीले रोइकराई गरेको बताउँदै ‘बालुवाटारबाट कालो धुँवाको मुस्लो निस्किएको’ भन्ने भीम रावलको कवितांश लाई नाम नलिई कवि पनि नयाँनयाँ खालका निस्किए अचम्म अचम्मका कविता सुनिन थालियो भन्दै जवाफ फर्काएका थिए। प्रधानमन्त्रीले स्रोतसाधन भएकाले मिडियामा लगानी गरेर त्यसमार्फत सरकारमाथि हमला गर्न खोजेको समेत दाबी गरे। उनले सरकार असफल बनाउन संगठित रूपमै प्रयास भइरहेको बताए।

सोही कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले मिडिया बुर्जुवाको हातमा रहेको आरोप लगाउँदै त्यसतर्फ सजग रहन सञ्चारकर्मीलाई आग्रह गरे। दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह गरेका थिए। उनले परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यो कुनै हालतमा सफल हुन नसक्ने दाबी गरे। अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको दाबी गर्दे उनले त्यसमा इन्टरनेट र डिजिटल प्रविधिले मुख्यरूपमा काम गरेको बताए। अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै पार्टी र सरकारले काम गरिरहेको पनि स्पष्ट पारे।

प्रकाशित: १३ पुस २०७६ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App