१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाहाल निवासमा छुट्टै बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ। सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो।

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीभित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ। ‘पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन्। पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेका छन्। पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा बढ्दै गएको छ। अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन,’ स्थायी कमिटिमा प्रस्तुत प्रतिवेदनमा लेखिएको छ। आफैंले तयार पारेका प्रतिवेदनलाई चुनौती दिँदै दाहाल स्वंयले पूर्वमाओवादी खेमाका नेतालाई निवासमा बोलाएर बैठक गरेको स्रोतले जनाएको छ। यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जानकारी दिइएको छैन। स्वास्थ्यका कारण ओली स्थायी कमिटी बैठकमा उपस्थित भएका छैनन्।

स्थायी कमिटी बैठक सुरु भएको दोस्रो दिन सोमबार बिहान दाहालले आफ्नै निवास पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका थिए। दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वा्रा प्रस्तुत राजनीतिक प्रतिवेदनको मर्म र भावनाविपरीत छ। स्रोतका अनुसार खुमलटार बैठकमा समग्र पार्टी हितमा धारणा राख्ने भनिए पनि सभामुख खोसिने चिन्ता व्यक्त भयोे। यसअघि पूर्वमाओवादी खेमाबाट सभामुख बनाइएको थियो। सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार आरोपमा राजीनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपामा अनुकूल पात्र खोजी भइरहेको छ। स्थायी कमिटी बैठकमा पूर्वमाओवादी खेमाका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेललगायत १४ जना सहभागी थिए। स्थायी कमिटीमा पूर्वमाओवादीबाट १९ जना छन्।

पार्टी स्थायी कमिटी बैठक जारी रहेकै बेला अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका छन्। दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वा्रा प्रस्तुत राजनीतिक प्रतिवेदनको मर्म र भावनाविपरीत छ।

पूर्वएमाले खेमाका प्रधानमन्त्री ओलीले आफूअनुकूलका व्यक्तिलाई सभामुख बनाउने चर्चा चलिरहेका बेला दाहालले पार्टी स्थायी कमिटीमा प्रतिनिधित्व गर्ने पूर्वमाओवादीका नेतालाई निवासमा बोलाएर छुट्टै बैठक गरेका हुन्। ‘पुस ४ गते प्रतिनिधिसभाको बैठक आह्वान भैसकेको छ। हाम्रो भागमा परेको साभामुख पद कार्यकारी अध्यक्षसँग साटिएको हल्ला चलेपछि अध्यक्षज्यूले त्यसलाई स्पष्ट पार्न बैठक बोलाउनु भएको रहेछ’, खुमलटार बैठकमा सहभागी एक नेताले भने। ती नेताका अनुसार स्थायी कमिटी बैठकमा पनि सभामुखबारे कुरा उठ्ने भएकाले अध्यक्ष दाहालले आफ्ना कुरा राख्न सहज होस् भनेर निवासमा छुट्टै बैठक गरेका हुन्। ‘प्रधानमन्त्री ओलीले सभामुखमा आफूनिकट व्यक्ति ल्याउन खोज्नु भएको छ र दाहाललाई हुन्न भन्न अप्ठेरो छ। यी दुवै विषयलाई चिर्न दाहालका लागि यो बैठक महत्वपूर्ण हुन्छ’, ती सदस्यले भने। खुमलटार बैठकमा सहभागीले पूर्वएमाले खेमासँग नझुक्न दाहाललाई सुझाव दिएका थिए। ‘पार्टी एकीकरणकै प्रक्रियामा रहेकाले महाधिवेशन नभएसम्म यो वा त्यो मानेमा हामीले झुक्ने अवस्था आउदैन। सकेसम्म आफ्नो समूहमा रहेका साथीहरुलाई बलियो बनाएर लैजाने गरी अध्यक्ष दाहालको कोसिस हुनुपर्छ भन्ने धारणा राखियो’, ती सदस्यले भने। खुमलटार बैठकमा नारायणकाजी श्रेष्ठ र राबहादुर थापा भने मौन बसेका थिए। उनीहरुले धारणा राख्दा समग्र पार्टी हितलाई ध्यान दिन जरुरी रहेको मात्रै बताए। स्रोतका अनुसार अन्य सहभागीले भने सभामुख पद नछाड्न दहाललाई दबाब दिए।

स्थायी कमिटी सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि ६ पृष्ठको लिखित धारणा राख्दै नेतृत्वले सही दिशा दिन नसकेको आरोप लगाएका छन्।

खुमलटार बैठकमा सहभागी नेताहरुले दाहालसँग सभामुख पद पूर्वएमालेका लागि छाडिएको हो भन्दै जिज्ञासा राखेका थिए। दाहालले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलमै रहेको प्रतिक्रिया दिएका थिए। बैठकमा प्रत्यक्ष निर्वाचित सांसद र स्थायी कमिटीमा भएकालाई मात्रै सभामुख बनाउनुपर्ने अडान लिन दाहाललाई सुझाइयो।

पार्टीको चालु स्थायी कमिटी बैठकमा पनि सभामुखबारे छलफल भएको छ। स्थायी कमिर्टीको मंगलबारको बैठकमा सदस्यहरूले सभामुखको विषय तत्कालै टुंग्याउन नेतृत्वलाई आग्रह गरे। ‘सभामुखको चर्चा धेरै भएकाले आजको बैठकमा सदस्यहरुले यसलाई तत्कालै टुंग्याउन आग्रह गरेका छन्’, स्थायी कमिटी सदस्य भीम रावलले भने।

नेकपामा वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउने कि सुवासचन्द्र नेम्बाङलाई भन्ने विषयमा छलफल चलिरहेको छ। दुवै पूर्वएमाले खेमाका हुन्। पूर्वमाओवादी समूहले अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ, जनार्दन शर्माको नाम सभामुखका लागि चर्चामा ल्याएको छ। पार्टी एकीकरण हुनुअघि तत्कालीन माओवादी केन्द्रतर्फबाट कृष्णबहादुर महरालाई सभामुख बनाइएको थियो। संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीसँगको यौन प्रकरण बाहिर आएपछि महराले पदबाट राजीनामा दिएका हुन्। यस प्रकरणमा महराविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

स्थायी कमिटीमा नेतृत्वको आलोचना
सत्तारुढ नेकपाको मंगलबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरुले नेतृत्वको आलोचना गरेका छन्। स्थायी कमिटी सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि ६ पृष्ठको लिखित धारणा राख्दै नेतृत्वले सही दिशा दिन नसकेको आरोप लगाएका छन्। ‘दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौं भन्ने देखिन्छ। कमरेडहरू ! खासगरी नेतृत्वका कमरेडहरू ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं !’, उनको लिखतमा उल्लेख छ।

भुसालले नेताहरूलाई हामी कता जाँदैछौ भनेर गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेका छन्। ‘दलाल पुँजीवादले पनि आफूअनुकूलका पार्टी, नेता, मन्त्री, सांसद, बौद्धिक, पत्रकार, कर्मचारी, सामाजिक अभियानकर्ता पनि जन्माइरहन्छ। आजको कम्युनिस्ट पार्टीले पनि राष्ट्रिय पुँजी र समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादन गर्नुपर्छ र अझ बढी मात्रामा उत्पादन गरेर मात्रै क्रान्तिले जित्छ। नत्र दलाल पुँजीवादले कम्युनिस्ट पार्टी स्वयंलाई निलिदिनेछ। कमरेडहरू ! गम्भीरतापूर्वक विचार गरौं, हामी कता जाँदैछौं !’, उनले भनेका छन्।

अर्का स्थायी कमिटी सदस्य एवं ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अबको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवादकै जगमा उभिने भएकाले त्यसको व्याख्यामा जोड दिनुपर्ने बताए। ‘अहिले हामी जुन भूमिकामा छौं र जुन शासकीय प्रणालीमा छौं त्यो भनेकै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मुख्य कार्यदिशा हो। त्यसकारण समाजवादमा पुग्ने लक्ष्य पनि जबज नै हो’, नेता पोखरेलले भने।

अनुशासन आयोगका संयोजक एवं स्थायी कमिटी सदस्य अमृत बोहोराले नेतृत्वको आलोचना गरेका कारण विगतमा धेरै नेतामाथि प्रतिशोध साँधिएको उदहाहरण दिँदै अब त्यस्तो नहोस् र गरिँदैन भन्ने राजनीतिक प्रतिवेदनमै उल्लेख गर्न आग्रह गरे। ‘अहिलेको बैठकमा नेताहरु डराइडराई बोलिरहेका छन्। विगतमा नेतृत्वको आलोचना गर्दा जिम्मेवारीविहीन बनाउने, प्रतिशोध साँध्ने काम भयो। अहिले पनि त्यही हुन्छ भन्ने भाव मनमा लिएर बोल्नुपर्ने परिस्थिति सिर्जना भयो। त्यसकारण साथीहरुले स्पष्ट कुरा राख्न सकेका छैनन्’, बाेहोराले भने, ‘नेतृत्वबाट आत्मालोचना भयो भन्नु त ठिकै हो, यो लिखतमा हैन व्यवहारमा आउनुपर्ने विषय हो। तर यहाँ लिखितरुपमा आत्मालोचना गर्ने तर भेदभावपूर्ण व्यवहार गर्ने चलन छ। त्यो रोकिएपछि मात्रै पार्टी नेतृत्वमा अनुशासन छ र विधिको पालना भएको छ भन्न सकिन्छ।’

बैठकमा भुसाल, पोखरेल, बोहोरा, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, केशव बडाल, रघुवीर महासेठ, लेखराज भट्ट, मणि थापा, आमन्त्रित सदस्यद्वय नन्दकुमार प्रसाईं र विष्णुप्रकाश श्रेष्ठसमेत १३ जनाले आआफ्नो धारणा राखे। अध्यक्षद्वयका तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेठले बताए। ‘बैठकमा उठेका कतिपय विषयमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको छ’, उनले भने। बैठक आइतबारदेखि जारी छ।

प्रकाशित: २ पुस २०७६ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App