coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

असन्तुष्टलाई मनाउन सभापति देउवा सक्रिय

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको कार्यतालिकासहित सबै विषयमा प्याकेजमै सहमति गर्ने प्रयास थालिएको छ। १४औं महधिवेशनको कार्यतालिकालाई केन्द्रीय समिति बैठकको एजेन्डा नबनाएसम्म असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने अडान राखेपछि शनिबार संस्थापन पक्षले सहमतिको प्रयासलाई तीव्र बनाएको हो। तर साँझसम्म विवाद समाधानका लागि ठोस खाका तयार नभए पनि संस्थापन र इतर समूह सहमतिबाटै निकासमा पुग्न लचिलो बनेका हुन्।

नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट पक्षले १४औं महाधिवेशनको कार्यतालिकाको अजेन्ड केन्द्रीय समितिमा नआएको भन्दै बिहीबार केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए। संस्थापनइतरबाट बैठक बहिष्कार भएपछि सहमतिका लागि सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर शनिबार बिहान पौडेल निवास बोहोराटार पुगे। संस्थापनसँग वार्ता गर्न गठित वार्ता समितिका सदस्य हृदयराम थानी पनि पौडेल निवासमै थिए।

१४औं महाधिवेशनको कार्यतालिका साथै प्याकेजमै सहमतिका लागि लिखित सहमति गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ।

त्यहाँ भएको दुई पक्षीय वार्ता सकारात्मक नभए पनि त्यसपछि पुनः असन्तुष्ट पक्षबाट वार्ता समितिका संयोजक प्रकाशमान सिंह निवास चाक्सीबारीमा झन्डै तीन घन्टा लामो छलफल भयो। सभापतिका तर्फबाट वार्तामा रहेका उपसभापति निधि सिंहलाई टेलिफोन गरेर छलफलका लागि दिउँसो ४ बजे चाक्सीबारी पुगे। त्यहाँ पौने ७ बजेसम्म भएको दुई पक्षीय छलफलमा असन्तुष्ट पक्षले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने अडान दोहो¥यायो। साथै भ्रातृ संगठनको नेतृत्व तथा कार्यसमिति, पार्टीका विभागहरूका साथै अन्य निकायमा प्याकेजमै सहमति हुनुपर्ने अडान राखिएको छ। पार्टीसहित सबै निकायमा सम्मानजनक सहभागिता हुनुपर्ने भन्दै सोहीअनुसारको भागबन्डा गर्नुपर्ने अडान असन्तुष्ट पक्षले उपसभापति निधिसँग राखेको छ। १४औं महाधिवेशनको कार्यतालिका साथै प्याकेजमै सहमतिका लागि लिखित सहमति गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ।

‘कार्यतालिका नआई बैठकमा सहभागी हुने कुरै छैन,’ असन्तुष्ट पक्षका एक नेताले भने, ‘सबै विषयमा सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने अडान राखेका छौं।’ सभापति देउवा र नेता पौडेलबीच शनिबार बिहान भएको वार्ताभन्दा छलफल सकारात्मक बाटोतिर अघि बढेको भन्दै पार्टी उपसभापति निधिले सभापति देउवासहित निकटहरूसँग छलफल गरेर जानकारी दिने बताए। ‘महाधिवेशनको कार्यतालिका, नेता पौडेलद्वारा अघि सारिएको नौबुँदे र बिहीबार केन्द्रीय समितिमा पेस भएको नौबुँदेसहितका सबै प्रस्तावमाथि छलफल भएको छ,’ स्रोतले भन्यो, ‘अहिले नै कुरा टुंगो लागेको छैन तर भ्रातृ संगठनदेखि सबै विषय छलफल भएको छ। भोलि (आइतबार) सम्म कुरौं।’

दुवै पक्षका वार्ता टोलीबीच भएको छलफल निष्कर्षमा पुग्ने बाटोमा अघि बढे पनि आइतबारको बैठकमा असन्तुष्ट पक्ष केन्द्रीय समितिको बैठकमा सहभागी हुने सम्भावना नरहेको एक नेताले जानकारी दिए। ‘आज (शनिबार) सबै विषयमा छलफल प्रवेश भएको छ,’ एक नेताले भने, ‘त्यसलाई निष्कर्षमा पु¥याउने हो भने फेरि छलफलमा बस्नुप¥यो कहाँ–कहाँ, कति–कति र के–के पाउने भन्ने विषय छलफलमा प्रवेश भएकै छैन। अहिले त सम्मानजनक सहभागिताको मात्र कुरा भएको छ।’ उपसभापति निधिले असन्तुष्ट पक्षसँग भएको छलफलको जानकारी सभापति देउवालाई दिएका छन्।

त्यसअघि शनिबार बिहान साढे १० बजेतिर पौडेल निवास पुगेका देउवाले पार्टी संगठनलाई अघि बढाउन आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। १३औं महाधिवेशनपछि झन्डै चार वर्ष आफूले सहमतिकै पहल गरेको सुनाउँदै देउवाले अब यत्तिकै बस्ने अवस्था नभएको धारणा राखेका थिए। ‘अब म अघि बढ्न चाहन्छु,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंले पनि पार्टीलाई अघि बढाउन मलाई सहयोग गर्नुस्।’

जवाफमा नेता पौडेलले १३औं महाधिवेशन भएको चार वर्ष पुग्न लागेको भन्दै १४औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा ल्याउन सभापति देउवालाई आग्रह गरेका थिए। कार्यतालिका नआउँदा महाधिवेशनप्रति नै आशंका जन्माएको धारणा राख्दै पौडेलले पार्टी संगठनलाई मजबुत बनाएर अघि बढाउने कुरामा आफ्नो सधैं सहयोग रहने धारणा राखेका थिए। तर पौडेलले महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव केन्द्रीय समितिमा नआएसम्म बैठकमा सहभागी नहुने अडान दोहो-याएका थिए।

उपसभापति निधिसहित पौडेललाई भेट्न बोहोराटार पुगेका सभापति देउवाले महाधिवेशनका लागि गर्नुपर्ने तयारी बाँकी रहेको र निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका ल्याउने जानकारी गराएका थिए। विधानको व्यवस्थाअनुसार पार्टीले म्याद थप मात्रै गर्ने सुनाउँदै देउवाले विभागको संख्या थप र गठनका साथै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका भ्रातृ संगठनहरू गठनमा सहयोग गर्न आग्रह गरेका थिए।

पौडेल आफ्नो अडानमा कायम रहेपछि सभापति देउवाले आफू बहुमतका आधारमा निर्णय गरीअघि बढ्ने बताएका थिए। त्यसपछि दुई नेताबीचको छलफल एकाएक चर्काचर्कीमा परिणत भएको बताउँदै स्रोतले भन्यो, ‘केही समय दुई नेताबीच ठाडठाडै तँ–तँ र म–म गरेरै कुरा भयो। त्यसले झन् वातावरण बिर्गालाजस्तो देखिएको थियो।’ पौडेलले महाधिवेशनको कार्यतालिका ल्याएपछि सबै कुरा मिल्दै जाने भन्दै योग्यता, क्षमता र योगदानका आधारमा पार्टीका नेता तथा कार्यकतालाई न्यायोचित ढंगबाट जिम्मेवारी बाँडफाँटमा आफ्नो सहयोग रहने धारणा राखेका थिए। शनिबार विराटनगर हुँदै आफू पाथीभारा जान लागेको सुनाउँदै पौडेलले पूर्वमहामन्त्री प्रकाशनमा सिंह नेतृत्वमा रहेको वार्ता टोलीसँग बसेर सबै कुरा टुंगो लगाउन सभापति देउवालाई आग्रह गरेको स्रोतको दाबी छ।

त्यसपछि महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको असन्तुष्ट पक्षको भेलाले महाधिवेशनको कार्यतालिका नआएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको छ। उनीहरूले संस्थापन पक्षबाट नेपाल विद्यार्थी संघ गठन भए समानान्तर समिति गठन गर्ने निष्कर्षसमेत निकालेका छन्।

बिहीबार सुरु पार्टी केन्द्रीय समितिको बैठकमा महाधिवेशनको कार्यतालिका नल्याई विभागको संख्या थपसहितको प्रस्ताव आएको भन्दै नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेका थिए। असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेपछि शुक्रबार दुवै पक्ष आन्तरिक छलफलमा जुट्नुका साथै सभापति देउवाले नेता पौडेललाई शुक्रबारै टेलिफोन गरी शनिबार कफी खान घरमा आउने प्रस्ताव गरेका थिए। केन्द्रीय समितिको अर्को बैठक आइतबारका लागि बोलाइएको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App