६ वैशाख २०८१ बिहीबार
राजनीति

पौडेललाई फकाउन उनकै निवास पुगे देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उनकै निवास पुगेका छन्। शुक्रबारको केन्द्रिय कार्यसमिति बैठक बहिस्कार गरेका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुगेका हुन्।

भेटमा चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडी बढ्ने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन्। सभापति देउवालाई हतारमा अगाडी बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडी बढ्नुपर्ने सुझाव देउवालाई आफुले दिएको पौडेलले बताए।

पार्टीलाई एक बनाएर अगाडी बढ्ने भूमिका पार्टी सभापतिको रहेको र उनलाई सहयोग गर्न सबै तयार रहेको उनले बताए। भेटमा सभापति देउवासँग पार्टीलाई एकजुट बनाएर अहिलेको चुनौतीको सामना गर्न पार्टीभित्र के कस्ता समस्या छन् ती समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको पौडेलले बताए। सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उनको धारणा थियो।

पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। आफुहरुको पहिलो एजेण्डा महाधिवेशनको कार्यतालिका सार्वजनिक हुनुपर्ने रहेको र यसलाई वार्ता समितिले टुंगो लगाउने नेता पौडेलले बताए। छलफलमा सहभागी उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताए।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले महाधिवेशनको कार्यतालिका नै नबनाउने नभनेको बताए। पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको छलफल सकारात्मक भएको उनको भनाई छ। पार्टीका केन्द्रीय सदस्य हृदयराम थानीले प्रजातान्त्रिक पार्टीभित्र लाइभ म्याण्डेडका कुराहरु आउने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। सबैको लक्ष्य र पुग्ने विन्दु एउटै भएकाले एकजुट भएर जाने परिस्थितीको निर्माण हुनुपर्ने भन्दै उनले शनिबारको छलफल सकारात्मक भएको बताए। थानी पनि देउवा पौडेलको छलफलमा सहभागी थिए।

शुक्रबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो।

 

प्रकाशित: २८ मंसिर २०७६ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App