७ वैशाख २०८१ शुक्रबार
राजनीति

न्यायपरिषदमा राजनीतिक रङ : कानुनमन्त्री

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा। तस्बिर : रेखा/नागरिक

बुटवल — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा नेपाल बार एसोसिएसनको भावनाविपरीत नियुक्ति नहुने बताएका छन। नेपाल बार एसोसिएसनले मंगलबार बुटबलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले न्यायपरिषद्को सदस्यबाट राजीनामा दिएका पदमप्रसाद वैदिकलाई न्यायाधीशमा नियुक्त नगर्ने संकेत गर्दै यस्तो बताएका हुन्।

‘मानवअधिकार राष्ट्रिय सम्मेलन तथा ४६औं केन्द्रीय कार्यकारिणी परिषद् बैठक’ मा बारका पूर्वअध्यक्ष तथा पदाधिकारीले न्यायाधीशमा नियुक्तिका लागि न्यायपरिषद् सदस्यलाई राजीनामा गराएको लगायत अरोप लगाए। उनीहरुले न्यायपरिषद् राजनीतिको फोहोरी खेलमा डुबेको र न्यायाधीश नियुक्तिमा चरम राजनीतीकरण भएको भन्दै त्यसविरुद्ध सडकमा निस्कनुपर्ने अवस्था पनि आउन सक्ने चेतावनी दिए।

कार्यक्रमको सुरुमै बोलेर निस्किएका कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पनि न्यायपरिषद्ले गर्ने नियुक्तिमा राजनीतिक रङ भरिएको टिप्पणी गरेका थिए। उनले न्यायपरिषद्मा देखिएको राजनीतिक रङले न्यायपालिकाको शाख गिराएको र जनतामा अविश्वास पैदा भएको बताए। ‘न्यायपरिषद्ले गर्ने नियुक्तिमा राजनीतिक रङरोगन र डेन्टिङ पेन्टिङ भयो, जसले न्यायपालिकाप्रति जनतामा अविश्वास पैदा गरायो’, मन्त्री यादवले भने। न्यायपरिषदलाई राजनीतिक अखडा हुनबाट जोगाउन यसको संरचनामै समयसापेक्ष सुधार गर्नुपर्ने खाँचो उनले औंल्याए।

बार एसोसिएसनमा पूर्वअध्क्षहरूले न्यायपरिषद् राजनीतिको फोहोरी खेलमा डुबेको र न्यायाधीश नियुक्तिमा चरम राजनीतीकरण भएको भन्दै त्यसविरुद्ध सडकमा निस्कनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने– त्यो दिन न्यायपालिकाको डेथ हुन्छ।

न्यायपरिषद्को आलोचना भएपछि जवाफमा प्रधानन्यायाधीश जबराले लागेका आरोप सतप्रतिशत गलत भएको भन्दै बारको सुझाव, समर्थन र भावनाविपरीत न्याय क्षेत्रमा कुनै पनि नियुक्ति नहुने बताएका हुन्। न्यायपरिषद् अध्यक्षसमेत रहेका उनले वैदिकको नाम उल्लेख नगरी परिषद् सदस्यबाट राजीनामा दिएकाको विषयमा न्यायपरिषद् बैठकमा छलफल भए पनि न्यायाधीशमा नियुक्त गर्ने भन्ने कुरा जसरी बाहिर ल्याइयो त्यो गलत भएको दाबी गरे।

पछिल्लोपटक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला वैदिक परिषद् सदस्य भएका थिए। उनले सर्वोच्चको न्यायाधीश हुन भन्दै न्यायपरिषदबाट राजीनामा दिएको समाचार केही दिनअघि सार्वजनिक भएपछि आलोचना भइरहेको छ। प्रधानन्यायाधीश जबराले बारका तर्फबाट आएका विचारभन्दा आफू पृथक नभएको पनि बताए। बारसँगको सहकार्यबिना न्यायालय निष्पक्ष ढंगबाट अगाडि बढ्न नसक्ने भन्दै उनले बार आन्दोलनमा निस्कनुपर्दाको दिन न्यायपालिकाको मृत्यु हुने भनाइसमेत राखे। ‘बारले नै न्यायपालिकाविरुद्ध लाठी उठायो, बार सडकमा निस्कनुपर्ने भयो भने त्यो दिन न्यायपालिकाको डेथ हुन्छ। तपाईहरुले के सोच्नु भएको छ ? त्यस्तो वातावरण बनाउन न्यायपालिकाको प्रमुख तयार होला ? तयार हुन सक्दैन,’ प्रधानन्यायाधीश जबराले भने। न्यायपालिकालाइ स्वतन्त्र रुपमा काम गर्न दिन आग्रह गर्दै उनले धम्काउने परिस्थिति सिर्जना नगर्न आग्रह गरे।

जबराले निष्पक्ष, सक्षम, र स्वतन्त्र न्यायालयका लागि न्यायाधीशहरु स्वाभिमानी हुनुपर्नेमा जोड दिए। उनले भनसुन र नाता सम्बन्धका आधारमा नभई कानुनी आधारमा टेकेर मात्रै फैसला र आदेश गर्न न्यायाधीशहरुलाई सुझाए।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरु कृष्णप्रसाद भण्डारी, विश्वकान्त मैनाली, शेरबहादुर केसी, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई, रक्षा बस्याल, सुनिलकुमार श्रेष्ठ, महासचिव लिलामणि पौडेल, कोषाध्यक्ष रुपचन्द्र पोखरेल, उच्च अदालत बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीलगायतले जनताको अधिकार रक्षाका लागि न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउनुपर्नेमा जोड दिएका थिए। बुधबारसम्म चल्ने कार्यक्रममा देशभरका ८ सय बढी कानुन व्यवसायी सहभागी छन।

प्रकाशित: २५ मंसिर २०७६ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App