८ वैशाख २०८१ शनिबार
राजनीति

बेथितिको अखडा बन्दै स्थानीय सरकार

शिवहरि घिमिरे
काठमाडौं - काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ। विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन्। ती अधिकृतहरूको मनोमानीका कारण सेवाग्राहीहरू मर्कामा परेका छन्। ती अधिकृतहरू दैनिक कार्यालय त जाँदैनन् नै, गएका दिन पनि ढिलो गरी पुग्ने र समय सकिनुअगावै निस्कने प्रवृत्तिका कारण सेवाग्राही मात्र होइन, मातहतका कर्मचारीले समेत हैरानी बेहोर्दै आएका छन्।

कर्मचारी नं. १

ललितपुरको महाँकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे काठमाडौंको थानकोटबाट दैनिक ५५ किलोमिटर दूरी पार गरेर कार्यालय ओहोरदोहोर गर्छन्। ग्रामीण सडक भएकाले गाडीबाट यो दूरी पार गर्न करिब चार–पाँच घन्टा लाग्छ। २६ कात्तिक २०७६ मा गोटीखेलस्थित गाउँपालिकाको कार्यालय पुग्दा उनी भेटिएनन्। तर त्यस दिन उनले रजिस्टरमा हाजिर गरिसकेको भेटियो। उनले अघिल्लो दिन नै भोलिपल्टको पनि हाजिर गरेका थिए।

गाउँपालिका उपाध्यक्ष कमला तामाङका अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डे सातामा दुई–तीनपटक मात्र कार्यालय आउँछन् र आएको दिन नआएका दिनको पनि हाजिरी गर्छन्। ‘मन्त्रालयले पठाएका कर्मचारीसँग काम गर्न सारै गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘कार्यकारी नियमित नआउँदा सेवाग्राही मर्कामा परेका छन्।’ स्थानीय प्रकाश थिङले काम लिएर हप्तामा तीनपटक आउँदा एकपटक मुस्किलले कार्यकारी भेटिएको गुनासो गरे। ‘हाकिमको कुर्सी सधैं खाली हुन्छ,’ उनले भने, ‘प्रशासकीय अधिकृतबारे सोध्दा अरू कर्मचारी रिसाउँछन्।’ कार्यालयमा नभेटिएपछि २६ कात्तिकमा फोन सम्पर्क गर्दा पाण्डेले आफू कार्यालयमै रहेको दाबी गरे। आफूहरूले कार्यालयबाटै फेन सम्पर्क गरेको बताएपछि उनले बोली फेरे। जोगिन खोज्दै उनले भने, ‘मैले सेवाग्राहीलाई मर्का पारेको त छैन नि !’

गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले कर्मचारीलाई मनाएर प्रशासनिक काम गर्न मुस्किल परेको व्यथा सुनाए। ‘कार्यालयका कागजात र निर्णयमा हामीले हस्ताक्षर गरेर हुँदैन,’ उनले भने, ‘कार्यकारी नियमित कार्यालय नआएकाले काममा बाधा परेको छ।’ गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयनजिकै बस्ने व्यवस्था मिलाइदिन खोजे पनि उनले अस्वीकार गरेको दाहालले सुनाए। पाण्डे पाहुना आएझैं कार्यालयमा आउने–जाने गरेको धेरैको गुनासो छ। गाउँपालिकाका एकजना कर्मचारीका अनुसार कात्तिकमा उनी आठ दिन मात्रै कार्यालयमा गए तर हाजिरचाहिँ महिनाभरिकै छ।

कर्मचारी नं. २

ललितपुरको बाग्मती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य भक्तपुरको बालकोटमा बस्छन्। त्यहाँबाट भट्टेडाँडास्थित गाउँपालिका कार्यालयको दूरी झन्डै ५० किलोमिटर छ। बालकोटबाट गाडीमा कार्यालय पुग्न उनलाई कम्तीमा तीन घन्टा लाग्छ। त्यसैले उनी नियमित कार्यालय जाँदैनन्। निर्णय गर्नुपर्ने काम र हस्ताक्षर गर्नुपर्ने कागजात तयार पारेर अरू कर्मचारीले उनको टेबुलमा राखिदिन्छन्। उनी आफ्नो अनुकूलतामा त्यहाँ पुगेर कागजातमा सही गरेर घर फर्किन्छन्। स्थानीय मनोज पराजुली भन्छन्, ‘आचार्य सरले अफिस आएका बेला रजिस्टरमा हाजिर गरेर फर्किएको गुनासो सुनिएको छ।’

कात्तिक १४ गते दिउँसो १२ बजे कार्यालय पुग्दा उनको कोठा चकमन्न थियो। सूचना अधिकारी मिलन शर्मा भन्दै थिए, ‘उहाँ टाढाबाट आउनुपर्ने भएकाले ढिलो भएको हो।’ सेवाग्राहीचाहिँ आचार्य आउने बाटो हेरेर बसिरहेका थिए। भट्टेडाँडाका केशव तिम्सिना भन्छन्, ‘कुन दिन कति बेला आउनुहुन्छ, थाहै हुन्न। कहिलेकाहीं त कुर्दाकुर्दै दिनै बित्छ।’ आचार्य भने टाढाबाट आउँदा ढिलो हुने गरे पनि आफू कार्यालयमा नियमित उपस्थित हुने गरेको दाबी गर्छन्। यो गाउँपालिकामा पनि विद्युतीय हाजिर मेसिन बिग्रेकाले कर्मचारीहरू रजिस्टरमै हाजिर गर्छन्। आचार्य कात्तिकमा नौ दिन मात्रै कार्यालयमा उपस्थित भएका छन्।

कर्मचारी नं. ३
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महत सुनाकोठीमा बस्छन्। घरदेखि ३५ किलोमिटर कच्ची बाटो पार गरेर कार्यालय पुग्न उनलाई साढे दुई घन्टा लाग्छ। कात्तिक १४ गते दिउँसो ३ बजे गाउँपालिका कार्यालय पुग्दा उनी भेटिएनन्। गाउँपालिकाका इन्जिनियर दिनेश सञ्जेलले प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको सुनाए। उनले भने, ‘कार्यकारीले गर्नुपर्ने काम धेरै हुन्छ, हस्ताक्षर उहाँकै चल्छ तर नियमित कार्यालय आएको थाहा छैन।’ यो गाउँपालिकामा पनि विद्युतीय हाजिरी बिग्रिएको छ। त्यसैले कर्मचारीले रजिस्टरमै हाजिर गर्छन्। गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले कार्यकारी टाढा बस्दा कार्यालयको काममा बाधा परेको गुनासो गरे। उनका अनुसार केही कर्मचारी गाउँपालिका कार्यालय नजिकै डेरा गरेर बसेका छन्। तर महतचाहिँ कार्यालय नजिक बस्न तयार छैनन्। गाउँपालिका प्रमुख सिङ्तान भन्छन्, ‘मन्त्रालयले खटाएका कतिपय कामचोर कर्मचारीलाई मैले फर्काइदिएको छु।’ प्रमुख प्रशासकीय अधिकृत महतले भने, ‘टाढा बसे पनि आफूले जिम्मेवारी पूरा गरिएकै छ।’

उनले कात्तिकको हाजिरी दिन मानेनन्। सूचना अधिकारी चित्रदेव दाहालले सार्वजनिक बिदाबाहेक अन्य दिन प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित भएको लिखित जानकारी दिए। कात्तिकमा शतप्रतिशत हाजिर गरे पनि महत १४ कात्तिकमा कार्यालयमै थिएनन्। सेवाग्राहीले समेत महत अधिकांश समय कार्यालयमा नभेटिने गुनासो गरे। स्थानीय सुजन तामाङले भने, ‘धेरैपटक कार्यालय आउँदा महत सरलाई हामीले भेटेका छैनौं।’

कर्मचारी नं. ४

काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी भक्तपुरको लोकन्थलीका बासिन्दा हुन्। उनको घरदेखि कार्यालयको दूरी करिब ४५ किलोमिटर टाढा पर्छ। भण्डारी हप्तामा चार दिनभन्दा बढी कार्यालयमा भेटिँदैनन्। पाँचखाल वातावरण बचाउ अभियानका संयोजक सूर्यबहादुर भेटवाल भन्छन्, ‘सेवाग्राही १० बजेदेखि हाकिम कुरेर बसेका हुन्छन् तर हाकिमसाप १२ बजेअघि कार्यालय छिरेको देखिएको छैन। त्यो पनि सातामा तीन–चार दिन मात्रै।’ पाँचखाल नगरपालिकाको पनि विद्युतीय हाजिरी बिग्रिएको छ। त्यसैले यहाँका कर्मचारी रजिस्टरमा हाजिर गर्छन्। विद्युत् नियमित नभएकाले विद्युतीय हाजिरी मेसिन बिग्रिएको प्रशासकीय अधिकृत भण्डारीले दाबी गरे। ‘टाढाबाट आउनुपर्दा सेवाग्राहीलाई मात्रै होइन, मलाई पनि अप्ठेरो छ,’ उनले भने।

उनी मात्र होइन, नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, लेखा सहायक सुशीला पाठक, सीतामाया तामाङ पनि भक्तपुरबाट भण्डारीसँगै ओहोरदोहोर गर्छन्। कार्यकारी कार्यालय नगएको दिन उनीहरू पनि जाँदैनन्। २७ कात्तिक दिउँसो पाँचखाल नगरपालिका पुग्दा उनीहरूमध्ये कोही पनि कार्यालयमा थिएनन्। भण्डारी कात्तिकमा ११ दिन मात्रै कार्यालयमा उपस्थित भएका छन्।

कर्मचारी नं. ५
पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं भक्तपुरको गट्ठाघरवासी हुन्। उनको कार्यालय घरदेखि करिब ३२ किलोमिटरको दूरीमा पर्छ। त्यहाँ पुग्न चापागाईंलाई कम्तीमा डेढ घन्टा लाग्छ। मंसिर १ गते आइतबार दिउँसो पनौती नगरपालिका पुग्दा चापागाईं कार्यालयमा भेटिएनन्। उनको हाजिरी विवरण अरू कर्मचारीले देखाउन मानेनन्। १० बजेदेखि पर्खेर बसेका सेवाग्राही प्रमुख प्रशासकीय अधिकृत चापागाईं १ बजेसम्म पनि नआएकाले आक्रोशित देखिन्थे।

‘हामीले तिरेको कर खाएका कर्मचारीले हामीलाई नै सताउने ?’ पनौतीवासी ईश्वर बस्नेतले भने, ‘नगरपालिकाको फोहोर व्यवस्थापनको एउटा योजनाका लागि धाउँदाधाउँदा जुत्ता फाट्न लागे।’ तीनपटक कार्यालय पुग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नभेटिएको गुनासो उनले गरे। त्यसै दिन कार्यालयबाट फोन गर्दा चापागार्इंले पारिवारिक समस्याका कारण बिदामा बसेको बताए। ‘हामी पनि मान्छे हौं, बिरामी परिन्छ।’ तर उनले त्यस दिनको पनि हाजिर गरेका छन्।

पनौती नगरपालिकाको पनि विद्युतीय हाजिर बिग्रिएको छ। कात्तिकमा सार्वजनिक बिदाबाहेक अन्य दिन बिदा नबसेको उनले दाबी गरे। ‘म ११ गते बिदामा बसेको छु, अरू दिन बिदा बसेको छैन, नपत्याए मेयरसापलाई सोध्नुस्।’ नगरप्रमुख भीम न्यौपानेले टाढा बसे पनि कार्यालयको काममा अवरोध नगर्न कर्मचारीलाई आग्रह गरिएको बताए। ‘कर्मचारी टाढा बसेपछि काममा अप्ठेरो त हुन्छ नै,’ उनले भने। स्थानीय तहले कर्मचारीलाई डेराको व्यवस्था गरेको भए पनि कर्मचारी नबसेको न्यौपानेको भनाइ छ।

मारमा सेवाग्राही
स्थानीय तहका कर्मचारी कार्यालयबाट टाढा बस्दा त्यसको सीधा असर सेवाग्राहीलाई परेको छ। टाढा बस्दा इन्धन र समयको खर्च त भएको छ नै, कार्यालयको काममा बाधा पुगेको छ। दुई वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियाको अग्रसरतामा कर्मचारी टाढा बसेर सेवाग्राहीलाई सताएपछि मन्त्रालयले ‘परिपत्र’ गरेरै स्थानीय तहमा खटिएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहभित्रै बस्न भनिएको थियो। त्यसअघि सोही मन्त्रालयले २०७४ वैशाख १ मा स्थानीय तहका कार्यकारीहरू समयमै हाजिर हुन र मन्त्रालयको स्वीकृतिबिना बिदा लिन नपाउने व्यवस्था सहितको परिपत्र जारी गरेको थियो। ‘अधिकृतहरूले मन्त्रालयको पूर्वस्वीकृति नलिई कार्यालय नछाड्नु हुन अनुरोध छ,’ त्यसमा भनिएको थियो, ‘पालिकाबाट बिदा लिँदा वा बस्दा स्वीकृति लिएर मात्रै जानुहुन अनुरोध छ।’

तर प्रमुख प्रशासकीय अधिकृतहरूबाट दुवै परिपत्रको पालना नभएको पूर्वसचिव तथा प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। ‘त्यसबेला कर्मचारी सम्बन्धित स्थानीय तहमा नबसेका गुनासा धेरै आए, त्यसपछि मन्त्रालयमा ५÷६ जनाको समूह बसेर त्यो परिपत्र जारी गरेका थियौं,’ उनले भने, ‘तर कर्मचारी स्थानीय तहभित्र बस्नुपर्ने नियम पालना भएन।’ मन्त्रालयका सूचना अधिकारी जीवलाल भुसालका अनुसार स्थानीय तहभित्र नबस्ने कर्मचारीलाई सरुवा गरेर कारबाही गरिने अभ्यास पनि भएका छन्। तर त्यसका लागि सेवाग्राहीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिनु जरुरी हुन्छ। मन्त्रालयका सहसचिव भूपाल बराल कर्मचारी टाढा बस्दा त्यसको घाटा सेवाग्राही र राज्यलाई भएको बताउँछन्। उनले भने, ‘स्थानीय तहका कर्मचारीको बदमासी नियन्त्रण गर्ने जिम्मा स्थानीय तहकै हो, टाढाबाट कार्यालय ओहोरदोहोर गर्दा राज्यलाई क्षति भएको छ। त्यसैले जनप्रतिनिधिहरू नै यसमा जागरुक हुुन जरुरी छ।’

दुईथरी हाजिरी
समयमै कार्यालय नपुग्ने अनि सातामा एक–दुई दिन मात्र कार्यालय पुगेर हाजिर गर्ने कर्मचारीले अनेक बहानामा विद्युतीय हाजिर बिगार्ने गरेका छन्। उनीहरू मेसिन बिग्रिएको, सफ्टवेयरले काम नगरेको, बिजुली नभएकोजस्ता कारण देखाएर रजिस्टरमै हाजिर गर्छन्। काभ्रेपलाञ्चोकका पाँचखाल, बनेपा, पनौती, धुलिखेल नगरपालिकाको विद्युतीय हाजिर चल्दैन। त्यस्तै ललितपुरको बाग्मती, कोन्ज्योसोम र महाँकाल गाउँपालिकामा पनि विद्युतीय हाजिरी नचल्ने बनाइएको छ। जनप्रतिनिधि आएपछि कर्मचारीले नै जानी जानी विद्युतीय हाजिरी बिगारेका हुन्। मेसिन बिग्रिएपछि आफ्नो अनुकूलतामा रजिस्टरमा हाजिर गर्ने छुट कर्मचारीले पाएका छन्। ‘प्रमुख प्रशासकीय अधिकृतले जे भन्यो जनप्रतिनिधिले त्यही मान्नुपर्ने अवस्था छ,’ पाँचखाल नगरपालिकाका नासु प्रशन्न सिपखानले भने, जानीजानी विद्युतीय हाजिरी बिगारिएको छ।’

बाग्मती गाउँपालिकाको कार्यालयको ढोका बाहिर विद्युतीय मेसिन जडान छ। तर प्रशासकीय अधिकृत युवराज आचार्यले विद्युतीय हाजिर भए पनि ढड्डामै हाजिर गरिएको बताए। ‘कहिले बिजुली हुँदैन, कहिले सफ्टवेयरले काम गर्दैन,’ उनले भने, ‘त्यसकारण ग्रामीण क्षेत्रमा रजिस्टरमै हाजिर गर्न सहज हुन्छ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार विद्युतीय हाजिरीको व्यवस्था नै कर्मचारीलाई समयको पालना गराउन हो। तर त्यो मेसिन नै नचलेपछि कर्मचारीलाई मनपरी गर्ने छुट मिलेको छ। उनी भन्छन्, ‘कार्यालयमा समयमै नआउने कर्मचारीलाई विद्युतीय हाजिरले निगरानीमा राखेको हुन्छ। त्यो नै बिगारेर ढड्डामा हाजिर गर्नु बदमासी हो।’ (खोज पत्रकारिता केन्द्र)
 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जथाभावी गर्ने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीलाई नियन्त्रण गर्न २०७४ वैशाखमा जारी गरेको परिपत्र।
बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको कार्यकक्ष।

प्रकाशित: २२ मंसिर २०७६ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App