८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सरकार पारदर्शी नभएको आरोप

जनकपुरधाम- प्रदेश नं २ को सरकारमा विधि नभई व्यक्तिको वर्चश्व भएकाले लोकतन्त्रको मान्यता अन्योलमा परेको भन्दै ध्यानाकर्षण गराइएको छ। फ्रिडम फोरम र समृद्धि कन्सल्टेन्सी ट्रेडिङ एण्ड मिडिया सेन्टरद्वारा आज आयोजित छलफल कार्यक्रममा वक्ताहरुले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

प्रदेश सरकार जनताप्रति जवाफदेही नभएको, योजना वितरणमा स्वेच्छाचारिता भएको, योजनाको कार्य सम्पन्न भए पनि कमिशनका कारण फछ्र्योट नगरिएको जनाउँदै वक्ताहरुले वस्तुगत माग एउटा र व्यवहार अर्को भएकाले आउने दिनमा सांसद र आमजनताबीच विश्वासको खाडल बढ्दै जाने चिन्ता व्यक्त गरे।

कार्यक्रममा समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य रामअशीष यादव र परमेश्वर साहले केन्द्रीय सरकारले अधिकार कटौती गरेको गुनासो गरे। प्रतिपक्षी दल नेकपा र नेपाली काँग्रेसका नेताहरुले आम जनताको अपेक्षा पूरा गर्न प्रदेश सरकार असफल रहेको आरोप लगाए।

फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले पारदर्शी संस्कृतिलाई जगदेखि नै हुर्काएर शासन प्रणालीसँग नागरिकलाई प्रत्यक्ष जोडी सहभागितामूलक लोकतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न खुला सरकार साझेदारीको अवधारणा लागू हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १७ मंसिर २०७६ ०९:५७ मंगलबार

प्रदेश_सरकार पारदर्शी आरोप