२५ श्रावण २०७७ आइतबार
राजनीति

आफू पढेको ‘पाठशाला’ पुग्दा मुख्यमन्त्री पौडेल भावुक

काठमाडौं, फर्पिङ – शिक्षाप्रेमी र उदारवादी विचारका मानिने राणा प्रधानमन्त्री देव शमशेरले १९५८ सालमा ब्राह्मण बालकहरूलाई कर्मकाण्ड र संस्कृत सिकाउन काठमाडौंको फर्पिङमा भाषा पाठशाला स्थापना गरेका थिए। तर त्यसबेलाको राणाकालीन पारिवारिक किचलो र राजनीतिक अस्थिरताका कारण त्यो भाषा पाठशाला केही वर्ष चलेर त्यसै लथालिंग भएको थियो।

पछि १९७६ सालमा फर्पिङ डोल्लु निवासी पण्डित सूर्यनाथ पौडेलले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरसँग गुनासो गरी फर्पिङमा भाषा पाठशाला पुनः संगठित गरेका थिए। सोही समयदेखि औपचारिकता पाई निरन्तर शैक्षिक चेतना प्रवाह गर्दै आएको फर्पिङ माध्यमिक विद्यालयले सय वर्ष पूरा गरी सोमबार शतवार्षिकी मनाएको छ।

शतवार्षिकी समारोहमा भाग लिन प्रमुख अतिथि प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल सो विद्यालय प्राङगणमा पुग्दा निकै भावुक बनेका थिए। उनले सो विद्यालय (पाठशाला) मा आफ्नो बाल्यकाल बिताएको सम्झे। २०११/०१२ सालतिर उनी सोही विद्यालयमा कहिले लाम्पाटी त कहिले कोतघरमा बसेर चन्ढी तथा रुद्री पढ्न सिकेको सम्झे।

‘जब स्कुलले मलाई शतवार्षिकीको प्रमुख अतिथ्यता ग्रहण गरिदिन आग्रह ग-यो म खुसीले गदगद भएँ, त्यो अनुभव भनेर साध्य छैन,’ मुख्य मन्त्री पौडेलले नागरिकसँग कुरा गर्दै भने, ‘यो पाठशालामा मेरो बाल्यकालको भावना जोडिएको छ। त्यतिबेला बाहुनका छोराहरूमात्र पढ्थे। कहिले गुन्द्री कहिले भुइँमा त्यसै बसेर पढ्थ्यौं।’

‘आज मेरो स्कुलले सय वर्ष पूरा गरेको र म आफू अध्ययन गरेको पाठशालामा प्रमुख अतिथि बनेर आउँदा गर्वको अनुभुति भएको छ,’ उनले भने। उनले सरकारी स्कुलहरू कतै मर्ज र कतै विद्यार्थी न्युन भइ बन्द भइरहेको अवस्थामा फर्पिङ माविले विद्यार्थी र अभिभावकको विश्वास जित्दै उच्चमाविका साथै प्राविधिक धारको नमुना विद्यालय बनेर विशिष्ट उदाहरण प्रस्तुत गरेको भन्दै विद्यालय व्यवस्थापनको खुलेर प्रशंसा गरे। ‘मैले यो स्कुललाई प्रस्ताव गर्न भनिसकेको छु,’ मुख्यमन्त्री पौडेलले भने ‘मलाई यस क्षेत्रमा एउटा सुविधासम्पन्न प्राविधिक शिक्षालय खोल्ने इच्छा छ। त्यसका लागि फर्पिङ मावि पहिलो प्राथमिकतामा पर्नेछ।’

१९७६ सालमा फर्पिङ डोल्लु निवासी पण्डित सूर्यनाथ पौडेलले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरसँग गुनासो गरी फर्पिङमा भाषा पाठशाला संगठित गरेका थिए।

किरातकालीन बस्ती फर्पिङमा सुरुमा भएका शैक्षिक अभ्यासहरूलाई संगठित गर्दै १९७६ मा औपचारिक रूपमा फर्पिङ स्कुल स्थापना भई निरन्तर समाजको विश्वास जितिरहेको सो विद्यालयले शिक्षामा आएको नवीन परिवर्तनसँगै नेपाली र अंग्रेजी दुवै विषयमा अध्यापन गराइरहेको प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले बताए। ‘सुरुमा गुरुकुल पद्धतिमा शिक्षा दिने यस विद्यालयलाई समयअन्तरमा प्रविधिमैत्री बनाइएकाले हामी अभिभावकको विश्वास जित्न सफल भएका छौं,’ प्रधानाध्यापक श्रेष्ठले खुसी बाँड्दै भने, ‘सय वर्ष पूरा गर्नु आफूमै एउटा इतिहास हो।’

हाल सो विद्यालयमा सञ्चालित कक्षा नौदेखि १२ सम्मको सिभिल इन्जिनियरिङ कक्षाका गरी सात सय ४० विद्यार्थी अध्ययनरत छन्।

सुविधासम्पन्न पक्की भवनहरू भएको सो विद्यालयमा सिसिटिभी क्यामेरा जडान र आइसिटी कक्षासमेतको व्यवस्था छ। सहायक प्रधानाध्यापक राजेश श्रेष्ठका अनुसार २०२२ सालमा कक्षा एकदेखि साधारणतर्फको शिक्षा अध्यापन सुरु गरेको सो विद्यालयबाट २०५० सालमा १४ जना विद्यार्थी पहिलोपल्ट एसएलसी परीक्षामा सहभागी भएका थिए। सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तथा सोही विद्यालयका पूर्वशिक्षक श्यामबहादुर केसीले विद्यालयले स्थानीय अभिभवाक, विद्यार्थी र समुदायको विश्वास जितेर यो क्षेत्रमै उदाहरणीय काम गरिरहेको बताए। ‘आफ्नो शैक्षिक विशिष्टता कायम गर्न विद्यालयले विद्यालयमै नर्सको समेत व्यवस्था गरेको छ,’ अध्यक्ष केसीले भने ‘नर्सले शिक्षकदेखि विद्यार्थीहरूको नियमित स्वास्थ्य अनुगमन तथा परीक्षण गर्नुको साथै कक्षाकोठामा समेत सरसफाइबारे बालबालिकालाई सुसूचित गराउने गर्छिन्।’

शतवार्षिकीको अवसरमा विद्यालयले शतवार्षिकी स्मारिका, २०७६ प्रकाशित गरेको छ भने विद्यालय प्रवेशमार्गमा शतवार्षिकी प्रवेशद्वार नै निर्माण गरेको छ। कार्यक्रममा उत्कृष्ट शिक्षक शशीराज अर्याल, श्रीकृष्ण महर्जन तथा उत्कृष्ट विद्यार्थी कक्षा १० का छात्र शिशम बलामीलाई सम्मान गरिएको थियो। त्यस्तै, पूर्वशिक्षकहरू नन्दकुमारी श्रेष्ठ, रेणुका मल्ल, दीर्घसेवी शिक्षकहरू राजेश श्रेष्ठ, रामचन्द्र केसी, रतिकुमारी महाजु, सरस्वती बस्नेत, नन्दमान श्रेष्ठ, विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने संस्थाहरू रुक्मिणी फाउन्डेसन, साम्य मेमोरियल, सिपिसिएसका प्रतिनिधिलगायतलाई सम्मान गरिएको थियो।
सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा शैक्षिक प्रदर्शनी गरेका थिए।

प्रकाशित: १७ मंसिर २०७६ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App