१५ चैत्र २०८० बिहीबार
राजनीति

धरानमा सत्ता पल्टियो

नवनिवार्चित मेयर तिलक राई (दाँया) लाई बधाई दिँदै प्रतिद्वन्द्वी प्रकाश राई। तस्बिर : रोहित/नागरिक

धरान – धरान नगर प्रमुख पदका लागि मंसिर १४ को भएको उपनिर्वाचनको मतगणना सुरु भएदेखि नै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लागि सुखद भएन। नेकपाले वडा नम्बर सातको अध्यक्ष त जोगायो तर प्रमुख (मेयर) पदमा दुई हजार सात सय ९५ मतान्तरले विरासत गुमायो। नेकपाको यो हारसँगै अब धरान ‘लालकिल्ला’ पनि रहेन। यहाँ पञ्चायतकाल र २०४६ सालको परिवर्तनपछिका हरेक चुनावमा कम्युनिस्ट पक्षधर उम्मेदवारले जित्दै आएका थिए। कांग्रेसले पहिलो पटक धरानमा विजयको झन्डा फहराउन सकेको घिल्लो पटकको स्थानीय तह निर्वाचनमा पराजित कांग्रेसका उम्मेदवार तिलक राईले दोस्रो पटकमा सफलता हात पारे।

अघिल्लो स्थानीय तह निर्वाचन २०७४ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन। त्यसबेला एमाले एक्लैले मेयर, उपमेयरसहित १४ वटा वडा जितेको थियो भने माओवादीले एउटा वडा जितेको थियो। तर अघिल्लो चुनावमा बहुमतले जितेर पकड बनाएको वडामा यसपालि नेकपाको जनमत कमजोर देखिएको छ।

अघिल्लो चुनावमा नेकपाले जितेको वडाहरू १९, १६, १३, १२, ११, १०, ९, ८, ७ र ३ वडामा कांग्रेसले अग्रता लिएको थियो भने कम्युनिस्टको निर्णायक भोट भएको वडा १७ मा नेकपाले ४० मात्र र वडा १५ मा दुई सय ६८ मत बढी ल्यायो। दुई ठुला कम्युनिस्ट पार्टी एकीकरण भएपछिको उपनिर्वाचनको यो परिणाम नेकपाका लागि अनपेक्षित हो। अघिल्लो चुनावमा कांग्रेसले जितेको वडा ५ मात्र यसपाली नेकपाले लिड ग-यो।

उपनिर्वाचनअघि नेपाली कांग्रेसले यसपटक ‘परिवर्तनको पक्षमा भोट’ भन्ने नारा प्रचारमा ल्याएको थियो। मत परिणामले पनि धरानका जनताले परिवर्तनको पक्षमा अभिमत प्रकट गरेको देखिन्छ। तर महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिशास्त्रका सहप्रध्यापक डा. अमृतकुमार श्रेष्ठ भने धरानका जनताले परिवर्तन रोजेको नभई सत्तामा रहेका जनप्रतिनिधिका काम–कारबाहीप्रतिको असन्तुष्टि र आक्रोश मतमार्फत प्रकट गरेको बताउँछन्। ‘जनताले कांग्रेसको सरकार पनि देखेकै हुन्। त्यसैले यो मत परिणाम सत्तामा बसेका जनप्रतिनिधिसँगको असन्तुष्टि र आक्रोशलाई जनताले मतमार्फत प्रकट गरेका हुन्,’ श्रेष्ठले भने, ‘यसले सत्ता पक्षप्रति जनता असन्तुष्ट रहेछन् भन्ने देखाउँछ।’

सहप्रध्यापक श्रेष्ठले भने जस्तै धरान उपमहानगर झन्डै डेढ वर्ष नेतृत्व (मेयर) विहीन अवस्थामा रहँदा धेरै आलोचनाको शिकार हुनुपरेको थियो। अस्वाभाविक करवृद्धि, जनप्रतिनिधिको घुमफिर मोह, अपारदर्शी काम, निर्वाचित भएपछि सुरु भएका नगर गौरवका आयोजनाहरू अलपत्र हुनु, जनतासँग राम्रो बोली–व्यवहार नगर्नुलगायतले जनप्रतिनिधि आलोचित थिए। जनप्रतिनिधिहरू कतिसम्म आलोचित थिए भने नेकपाको चुनावी घरदैलो कार्यक्रममा कार्यबाहक मेयर, वडाध्यक्षहरूलाई सहभागी नगराउन दबाब परेको थियो।

तर धरानमा जनप्रतिनिधिप्रतिको वितृष्णा र असन्तुष्टिमात्र नेकपाको हारको कारण भने होइन। पार्टी एकीकरण प्रक्रिया ढिलाइ हुँदा झन्डै दुई वर्षसम्म नेकपा कमिटीविहीन अवस्थामा थियो। त्यसबेला नेकपाको पार्टी गतिविधिहरू लगभग शुन्य अवस्थामा रह्यो भने त्यही समयमा नेपाली कांग्रेस देशव्यापी जागरण अभियान सुरु गरेर पार्टी, संगठन मजबुद गर्न केन्द्रित भएको थियो। दुई चरणको जागरण अभियान गरेको कांग्रेसले धरानको उपनिर्वाचनलाई कति महत्व दिएको थियो भने निर्वाचनअघि केन्द्रीय तथा शीर्षस्थ नेताहरू दिनहुँ धरान आएका थिए। केन्द्रीय नेता महेश आचार्य जागरण अभियानको बेलादेखि नै धरानमा थिए। केन्द्रीय नेताहरूको उपस्थितिले गुट, उपगुटमा विभाजित कांग्रेसका स्थानीय नेताहरूलाई एकताबद्ध बनायो।

कांग्रेस एकताको भावनाले बलियो हुँदै गर्दा नेकपा भने भावनात्मक रूपमा एकीकृत हुनै सकेको थिएन। पूर्वएमाले र पूर्वमाओवादी खेमामात्र होइन, उम्मेदवार चयन प्रक्रियामा पूर्वएमालेभित्र माधव नेपाल गुटबाट ओली गुटलाई निषेध गर्ने कार्यशैलीले पनि नेकपाभित्रको असन्तुष्टिलाई छताछुल्ल बनाएको थियो। नेकपा पार्टीको आन्तरिक विवादमा रुमल्लिरहँदा कांग्रेस भने सर्वसम्मत उम्मेदवार चयन गरेर जनताको घरदैलोमा पुगिसकेको थियो। कम्युनिस्टको भोट बैंक मानिएको सुकुम्बासी बस्ती र तटस्थ मतदातालाई आकषर्ण गर्न कांग्रेसका केन्द्रदेखि स्थानीय नेता, कार्यकर्ताहरूले यसपालि अत्यन्तै मेहनत गरे। त्यसविपरीत नेकपाका कार्यकर्ता भने २०७४ सालको चुनावको नतिजा हिसाब गर्दै कम्तीमा आठदेखि १० हजार मतान्तरले जित्ने आत्मरतिमा रमाइरहे।

नेकपाको हारमा केन्द्रीय सत्ता सहयात्री दल समाजवादी पार्टीको भूमिका पनि उल्लेखनीय छ। कांग्रेससँग घोषित रूपमा चुनावी तालमेल नगरे पनि समाजवादीको भोट कांग्रेसलाई गएको देखिन्छ। समाजवादीले धरानमा आफ्नो जनमत कति हो भन्ने थाह पाउन एक्लै उम्मेदवारी दिएको थियो। धरानमा समाजवादीको भोट कम्तीमा चार हजार भएको अनुमान थियो। तर मत परिणाम अनुसार समाजवादीले मात्र सात सय ५५ मत पाएको छ। समाजवादीभन्दा बढी मत कमजोर संगठन भएको संघीय लिम्बुवान मञ्चले एक हजार एक सय ३१ मत ल्यायो। कांग्रेसले खम्बुवान पार्टीसँग त घोषित रूपमा नै सहकार्य गरेको थियो। नेकपाका नेताहरूले यस्ता साना दल र समाजवादी पार्टीसँग कांग्रेसको गोप्य तालमेल हुनेतर्फ ध्यानै पु-याउन सकेनन्।

नेकपा जिल्ला कमिटी सचिव तथा उपनिर्वाचन परिचालन मुल समितिका संयोजक रमेश बस्नेत पार्टी एकीकरण प्रक्रिया ढिला हुँदा दुई वर्षसम्म तल्लो तहमा कमिटीविहीन अवस्था हुनुले पनि चुनावी परिणाममा असर पुगेको स्वीकार गर्छन्। ‘दुई वर्षसम्म पार्टी, संगठनमा भ्याकुम थियो, त्यसबेला कांग्रेसले खेल्ने अवसर पायो। हामी डेढ महिनाअघि मात्र अभियानमा जुट्यौं,’ उनले भने, ‘चुनावी परिणामको समीक्षा गर्छौं, हारको कारण र कमी–कमजोरीहरू खोतल्छौं र सच्चिएर अघि बढ्छौं।’

भत्कियो लालकिल्ला
कम्युनिस्टहरू उनीहरूको बाहुल्यता भएको क्षेत्रलाई लालकिल्ला भन्ने गर्छन्। त्यस्तै लालकिल्ला मानिने धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित आत्मसात गरेका छन्। उनले नेकपाका उम्मेदवार प्रकाश राईलाई दुई हजार सात सय ९५ मतान्तरले हराउँदै ऐतिहासिक जित दर्ता गराएका हुन्।

२०४६ सालको परिवर्तनपछिका सबै निर्वाचनमा हार ब्यहोरेको कांग्रेस यसपालि भने लालकिल्ला तोड्न सफल भयो। कांग्रेसबाट विजयी राईले २६ हजार सात सय नौ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार नौ सय १४ मत पाए। मंसिर १४ गते भएको निर्वाचनमा ५४ हजार आठ सय ४८ मत खसेको थियो। धरानमा ९२ हजार आठ सय ५३ मतदाता छन्।

वडा नम्बर ७ को अध्यक्षमा भने नेकपाका जीवनराज सुवेदी विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेलाई मात्र एक मतले हराए। वडाअध्यक्षमा विजयी भएका सुवेदीले ६ सय २२ मत पाए भने उनका प्रत्यासी उम्मेदवार पलिखेले ६ सय २१ मत पाए।

मेयरमा विजयी तिलक राई अघिल्लो स्थानीय तह निर्वाचन २०७४ मा पनि उम्मेदवार थिए। त्यसबेला उनी तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बासँग चार हजार आठ सय ७३ मतले हारेका थिए। त्यसबेला सुब्बाले २० हजार नौ सय ७५ मत पाएका थिए भने तिलक राईले १६ हजार एक सय दुई मत पाएका थिए।

सबैको मतले जितेको हो : राई
धरान नगरप्रमुखमा विजयी तिलक राईले धरानका जनताले मत दिएर आफूलाई जिताएको भन्दै सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन्।

मेयरमा विजयी भएपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै स्थानीय तहमा कोही पनि प्रतिपक्ष नहुने भन्दै सबैले मिलेर नै धरानको विकास र समृद्धिमा काम गर्ने बताए। उनले भने, ‘मलाई धरानका जनताले जिताउनु भएको हो, यो जनताको जित हो। मैले कांग्रेसको मतले मात्र जितेको होइन।’

उनले जनताको अभिलाषालाई सबैले मिलेर पूरा गर्ने बताए। धरानमा भएको विकृति, विसंगति रोक्ने र पारदर्शी भएर काम गर्ने बताए। ‘म आफू भ्रष्टचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ। शुन्य सहनशीलतामा काम गछु,’ उनले भने, ‘विगतको भ्रष्टचारविरुद्ध तुरुन्त एक्सनमा जान्छु, भएको कमी–कमजोरीहरूलाई सुधार्छु।’ उनले नगरप्रमुखको तलब–भत्ता आफूले उपभोग नगर्ने र सामाजिक काममा खर्चिने प्रतिबद्धता पुनः दोहो-याए।

प्रकाशित: १७ मंसिर २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App