१६ चैत्र २०८० शुक्रबार
राजनीति

तरुण दलका नेता नेकपाका अध्यक्ष

मनराजे बुढा मिलन।

बाजुरा- राजनीति सुरु गर्दा मनराजे बुढा मात्र १८ वर्षका थिए। ३८ वर्षका बुढाले राजनीति गर्न थालेको मात्र २० वर्ष बितिसकेको छ। नेपाली काँग्रेस निकट युवाहरुको संस्था तरुण दलको सदस्यता लिएर बुढाले राजनीति सुरु गरेका हुन्।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी काँग्रेसको प्रचारमा समेत हिँडेका थिए। दिएको जिम्मेवारी इमान्दारी पूर्वक निर्वाह गर्ने र प्रतिवद्ध स्वभावकै कारण काँग्रेसले कलिलै उमेरमा तरुण दलको जिम्मेवारी दियो। त्यो बेला अधिकांश काँग्रेस आस्थावान थिए।

बुढा २०५६ सालतिर २० वर्षको उमेरमा साविक छतारा गाविसको तरुण दलको अध्यक्ष बने। अध्यक्ष बनेको केही वर्षसम्म काँग्रेस राजनीतिसँग जोडिएपनि कामको शिलशिलामा भारत जाँदा उनले तत्कालिन नेकपा माओवादी निकट भएर काम गर्न थाले।

प्रवास कमिटीमा बसेर माओवादी नेताहरुलाई आवत जावतमा सहयोग गर्ने, चन्दा संकलन गरेर पार्टी कमिटीलाई बुझाउने गरेपछि माओवादी नेतृत्व पनि प्रभावित भए। द्धन्द्धकालिन समय सकिए लगत्तै नेपाल फर्के र माओवादीको पार्टी संगठनमा बसेर काम गरे। काँग्रेसको कार्यशैली चित्त बुझ्दो लागेन, सर्वहाराको विषयमा बोल्ने पार्टी माओवादी नै भनेर पार्टी सदस्यता लिएको बुढाको भनाइ छ।

तीनै तरुण दल छताराका अध्यक्ष मनराजे बुढा मिलन नेकपाको उम्मेदवार बनेर वडा अध्यक्ष समेत बनेका छन्। स्थानीय तह निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका बुढा ३८ मतले पराजित भएका थिए। अघोषीत रुपमा तत्कालिन नेकपा एमालेसँग सहकार्य गरेपनि उनले जित्न सकेनन्।

वडा अध्यक्षमा जितेका खम्म नेपालीको जिप दुर्घटनामा मृत्यु भएपछि त्रिवेणी नगरपालिका १ मा उपनिर्वाचन भयो। उपनिर्वाचनमा पनि नेकपाले मिलनलाई नै उम्मेदवार बनायो र उनले २० मतको अन्तरले नेपाली काँग्रेसका खगेन्द्र चदारालाई पराजित गरेका छन्।

सिंगो नगर कार्यपालिका, दुखद निधनको सहानुभूति र मेयर उपमेयर सहितको स्थानीय तह काँग्रेसको पक्षमा हुँदा पनि बुढाले जित आफ्नो पक्षमा पारेका हुन्। जनताको विश्वास, सिंगो नेकपाको नेतृत्वको सक्रियता र रिटायर्ड नेपाल प्रहरीका सई लोकबहादुर रावल कै देनका कारण जितेको बुढाको भनाइ छ।

कुल १०३९ मत रहेको त्रिवेणी १ मा ७२७ मत खसेको थियो। त्यो मध्ये बुढाले ३६७ र निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र चदाराले ३४७ मत प्राप्त गरेका छन्। ११ मत बदर भएकोमा २ मत राप्रपाका उम्मेदवार मिनबहादुर ढोलीले प्राप्त गरेका छन्।

जितपछि बुढाले जनताको विश्वासलाई गुम्न नदिने बताएका छन्। नेकपाले छतारा र नगरपालिकाको केन्द्र रहेको तोलीमा भब्य विजयी सभा आयोजना गरेको विद्यार्थी नेता चेतनदीप अयडीले बताएका छन्।

निर्वाचनका लागि नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेताहरु लालबहादुर थापा, प्रकाश शाह, कर्णबहादुर विक, सहदेव बोगटी सहित खटिएका थिए। नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य एनपी साउँद, बद्री प्रसाद पाण्डे, जनकराज गिरी, देवराज जोशी, कविराज पण्डित सहित सक्रिय थिए।

काँग्रेसको बाहुल्य क्षेत्र भनिएपनि छतारा माओवादी युद्धकालिन अवस्थामा आधार इलाकाका रुपमा रहेको थियो।

 

प्रकाशित: १५ मंसिर २०७६ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App