७ वैशाख २०८१ शुक्रबार
राजनीति

इन्द्रावती–८ मा ८४ प्रतिशत मतदान

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिका–८ मा वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा उत्साहजनक मतदान भएको छ।  वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि रिक्त स्थान पूर्तिको लागि भएका चुनावमा झण्डै ८४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा १ हजार ४ सय चार मतदाता रहेकोमा १ हजार १ सय ७५ मत खसेको मतदान अधिकृत कृष्णमणि फुँयालले बताए । मतदाताले उत्साहजनक ढंगले मतदानमा सहभागिता जनाएको उनले बताए । उनका अनुसार मत खसाल्न बिहानैदेखि मतदाताको भिड लागेको थियो । दिउँसो २ बजेतिर भिड पातलिँदा ७५ प्रतिशतभन्दा बढी मत खसिसकेको थियो । स्थानीय चन्द्रावती आधारभूत विद्यालयलाई मतदानस्थल बनाएर दुईवटा केन्द्रबाट मत खसाल्ने व्यवस्था मिलाइएको थियो ।

यस वडामा चार उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपाबाट केदारनाथ आचार्य, कांग्रेसका राले (अशोक) तामाङ, राप्रपाका रणबहादुर तामाङ र राप्रपा (संयूक्त) का ढकबहादुर श्रेष्ठ वडाध्यक्षको प्रतिस्पर्धामा उत्रेका हुन् । नेकपाका आचार्य र कांग्रेसका तामाङलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । स्वर्गीय श्रेष्ठले कांग्रेसबाट वडाध्यक्ष जितेका थिए । उनले अहिले नेकपाबाट उम्मेदवार बनेका आचार्यलाई नै पराजित गरेका थिए । तत्कालीन माओवादीका उम्मेदवार आचार्य सात मत अन्तरले पराजित भएका थिए ।

इन्द्रावती नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचन र परिणाममा सबैको चासो छ । मतदान सम्पन्न भएकाले केही समय आरामपछि साँझबाट नै मतगणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित: १४ मंसिर २०७६ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App