१६ चैत्र २०८० शुक्रबार
राजनीति

एकतिहाइको निर्वाचन माघ १५ भित्र

काठमाडौं – राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्रचार गरेको छ। फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुने भएपछि सचिवालयले आयोगलाई पत्र पठाएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

सदस्यहरुको पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा उल्लेख छ। यसअनुसार माघ १५ गतेभित्र निर्वाचन गरिसक्नुपर्छ। राष्ट्रियसभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना हुन्छ। प्रत्यक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ। सोही अनुसार एकतिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदैछ।

५९ जना सदस्य रहेको राष्ट्रियसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबाट दुईदुईजना सदस्य छन्। राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ भन्ने संविधानको व्यवस्थाअनुसार उनीहरुको यसअघि नै गोलाप्रथाद्वारा कार्यकाल विभाजन गरिएको थियो। यसअनुसार प्रदेश १ मा कांग्रेस १ र नेकपा २ गरी तीन, प्रदेश २ मा कांग्रेस १, राजपा २ र समाजवादी १ गरी चार पद खाली हुँदैछन्। प्रदेश ३ मा नेकपा १ कांग्रेस १ गरी २ जनाको पद खाली हुँदैछ। गण्डकी प्रदेशमा कांग्रेसका २ जना सदस्यको पद खाली हुँदैछ। प्रदेश ५ मा कांग्रेसबाट १ र नेकपाबाट २ जनाको पद खाली हुँदैछ। सुदूरपश्चिम प्रदेशबाट कांग्रेसबाट १ र नेकपाबाट १ गरी २ जनाको खाली हुँदैछ। राष्ट्रपतिबाट मनोनीत एकजनाको पनि पद खाली हुँदैछ।

संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएर राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना रहने व्यवस्था छ। प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने व्यवस्था छ।

कुन समूहबाट कति रिक्त ?
राष्ट्रियसभामा महिला कलस्टरबाट सातजना महिलाको पद खाली हुनेछ भने दलित कलस्टरबाट दुईजनाको खाली हुनेछ। यसैगरी अपाङ्ग र अल्पसंख्यकबाट दुईजनाको पदावधि सकिँदैछ। खुलातर्फ सातजना र मनोनीत एकजना गरी कुल १९ जनाको पदावधि सकिँदैछ।

प्रदेश १ मा खुलातर्फ १ जना, महिला कलस्टरबाट १ जना र दलित कलस्टरबाट एकजना गरी तीनजनाको निर्वाचन गर्नुपर्नेछ। प्रदेश २ बाट खुलातर्फ १ जना, महिला कलस्टरतर्फ १ जना, दलित कलस्टरमा १ जना, अपाङ्ग/अल्पसंख्यक कलस्टरमा १ गरी चारजनाको निर्वाचन हुनेछ। प्रदेश नं. ३ मा खुलामा १ जना र महिलातर्फ १ जना गरी २ जनाको निर्वाचन गर्नुपर्नेछ। गण्डकी प्रदेशमा खुलातर्फ १ र महिलातर्फ १ गरी २ जनाको निर्वाचन गर्नुपर्नेछ। प्रदेश ५ बाट खुला १, महिला १ र अपांग/अल्पसंख्यक १ गरी तीनजनाको निर्वाचन गर्नुपर्नेछ। सुदूरपश्चिम प्रदेशबाट खुला १, महिला १ गरी २ जनाको निर्वाचन गर्नुपर्नेछ। मनोनीतबाट १ जनाको निर्वाचन गर्नुपर्नेछ।

कोको बिदा हुँदैछन् ?
महिला कलस्टरबाट प्रदेश १ मा कांग्रेसबाट सरिता प्रसाईं, प्रदेश २ मा कांग्रेसबाट मुक्ताकुमारी यादव, प्रदेश ३ मा कांग्रेसबाट धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट कांग्रेसकी विन्दादेवी आले राना, प्रदेश ५ मा नेकपाबाट मीना बुढा, कर्णाली प्रदेशमा नेकपाबाट युटोल तामाङ, सुदूरपश्चिम प्रदेशमा नेकपाबाट कमलाकुमारी वलीको पदावधि सकिँदैछ। दलित कलस्टरमा प्रदेश १ मा नेकपाका खेमराज नेपाली, प्रदेश २ मा समाजवादी पार्टीका रामप्रित पासवानको पदावधि सकिँदैछ। यस्तै अपांग वा अल्पसंख्यक कोटाबाट प्रदेश ५ मा नेकपाका राजकुमार कुँवर र प्रदेश २ राजपाका वृषेशचन्द्र लालको पदावधि सकिँदैछ।

खुला कलस्टरतर्फ प्रदेश १ मा नेकपाका हरिचरन सिवाकोटी, प्रदेश २ मा राजपाका रमेशप्रसाद यादव, प्रदेश ३ मा नेकपाका बलरामप्रसाद बाँस्कोटा, गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ मा कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशमा नेकपाका कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे पनि पदमुक्त हुँदैछन्। राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडाको कार्यकाल पनि सकिँदैछ।

प्रकाशित: १३ मंसिर २०७६ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App