coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीको राष्ट्रवाद कालापानीमा नांगियो : देउवा

बागलुङको निसीखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : संगम/नागरिक

बागलुङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा नांगिएको बताएका छन्। आइतबार बागलुङको निसीखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विगतमा राष्ट्रवादका चर्को नारा लगाएका प्रधानमन्त्रीले भारतले सिमाना मिच्दा बोल्नसमेत नसकेको आरोप लगाए। ‘आफूलाई निकै राष्ट्रवादी बताउने प्रधानमन्त्री र अहिलेको सरकार सिमाना मिचिँदा चुपचाप बसेको छ,’ उनले भने, ‘सरकारको राष्ट्रवाद कालापानी र लिपुलेकमा पुगेर समाप्त भएको छ, राष्ट्रवाद भारतलाई समर्पण गरिएको छ।’

राष्ट्रियताको सवालमा प्रतिपक्षी दल कांग्रेसलगायत अन्य सबैले साथ दिँदा पनि सरकारले दह्रोसँग खुट्टा टेक्न नसकेको उनको भनाइ छ। ‘कांग्रेस प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग नै गर्दा पनि यो सरकारले खुट्टा टेक्न डराएको छ,’ सभापति देउवाले भने, ‘भारतसँग कुरा गर्न डराउँदा सरकार नेपालको जमिन भारतको नक्सामा पर्दा पनि टुलुटुलु हेरेर बसेको छ।’ कालापानी र लिपुलेकमा आइपुग्दा प्रधानमन्त्रीको राष्ट्रवाद भारतप्रति समर्पण भएको देउवाको आरोप छ। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रवादको खोक्रोपन पुष्टि भएको छ,’ उनले भने, ‘राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छ।’

वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेको समेत देउवाले जिकिर गरे। सरकार चाहिनेभन्दा नचाहिने कुरा गरेर जनतालाई भुलाउने काममा व्यस्त रहेको उल्लेख गर्दे उनले कांग्रेसको पालामा भएको कामलाई आफूले गरेको भनी देखाउने गरेको आरोप लगाए। उनले सरकारको कार्यशैलीले देशविकासका लागि कांग्रेसको विकल्प नभएको पुष्टि गरको तर्क गरे। देउवाले जलाशययुक्त उत्तरगंगा जलविद्युत् परियोजना बागलुङमा बनाउन कांग्रेस डटेर लाग्ने बताए। ‘उत्तरगंगा हाइड्रोपावर राष्ट्रिय गौरवको आयोजनाका रूपमा छिटो निर्माण गर्न कांग्रेस लड्छ,’ उनले भने, ‘यसको निर्माणले बागलुङको मात्रै होइन देशकै मुहार फेर्नेछ।’ बागलुङको विकासका लागि महŒवपूर्ण भूमिका राख्ने मध्यपहाडी लोकमार्ग, सालझन्डी सडकलगायतको विकास र विस्तारका लागि पहल गरिने उनको भनाइ थियो।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको सरकारले देशलाई उन्न्नतिको साटो अधोगतितर्फ धकेलेको बताए। ‘देशमा भ्रष्टाचार र लुटतन्त्र बढेको छ, सरकारले देशलाई समृद्धिको नारा दिएर दुर्गतितर्फ धकेलेको छ,’ उनले भने, ‘देश अगाडि बढ्ला भन्दा झन् पछाडि धकेलिएको छ।’ अहिलेको सरकारका कारण गणतन्त्र समेत खतरामा परेको उनको जिकिर छ। ‘प्रजातन्त्र जोगाउन कांग्रेसको विकल्प छैन,’ उनले भने। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले देशको अस्मितामाथि पराईले धावा बोल्दा सरकार जल्लास्पद ढंगले नाजवाफ बनेको तर्क गरे। ‘छिमेकीले देशको भूगाग आफ्नो नक्सामा राख्दा पनि सरकार लाचार बनेर बस्छ,’ उनले भने, ‘योभन्दा लज्जाको विषय अरू के हुन्छ ?’ सरकारले सीमा विवादको समाधानका लागि कूटनीतिक पहल गरे कांग्रेसले साथ दिने उनको भनाइ थियो। कांग्रेस युवानेता गगनकुमार थापाले शालीन र भद्र प्रतिपक्ष पाउँदा पनि सरकारले काम गर्न नसकेको आरोप लगाए। ‘संसद्मा सरकारको पक्षमा दुई तिहाइ छ, प्रतिपक्ष शालीन ढंगले अगाडि बढेको छ, कतै कुर्ची भाँच्दैन, रेलिङ भत्काउँदैन, र पनि सरकारलाई काम गर्न केले छेकेको छ ?’ उनले भने, ‘अब नेपालीले जनताले यसको मूल्यांकन गर्ने बेला आएको छ।’

उपनिर्वाचनको मतपरिणामले सरकार फेरबदलका लागि अर्थ नराखे पनि जनमत कता जाँदैछ भन्ने स्पष्ट पार्ने भएकाले कांग्रेस उम्मेदवारको पक्षमा एकढिक्का भएर चुनावी नतिजा आफ्नो पक्षमा पार्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा कांग्रेस नेता शंकर भण्डारी, नेता प्रदीप पौडेलले जित शेरचनको जितले मात्रै पश्चिम बागलुङ समृद्ध बन्न सक्ने बताए।

प्रकाशित: ९ मंसिर २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App