८ वैशाख २०८१ शनिबार
राजनीति

कम्युनिष्टलाई भोट दिँदा प्रजातन्त्रको हत्या हुन्छः पौडेल

भानुचोकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिरः रोहित/नागरिक

धरान- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिँदा प्रजातन्त्रको हत्या गरे सरह हुने गम्भीर टिप्पणी गरेका छन्। बुधबार धरानको भानुचोकमा आयोजित मंसिर १४ को उपनिर्वाचन लक्षित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रजातन्त्र जोगाउनको लागि कांग्रेसलाई भोट दिन आग्रह पनि गरे।

उनले भने, ‘हामीले लडेर प्रजातन्त्र, संविधान, गणतन्त्र, समावेशिता सबै ल्यायौं। तर अहिलेको दुई तिहाई सरकारले ती सबै उल्टाउने काम गर्दैछ। त्यसैले कम्युनिष्टलाई भोट दिनु भनेको प्रजातन्त्रको हत्या गरे सरह हुन्छ, आफुले आत्महत्या गरे सरह हुन्छ।’

नेता पौडेलले संविधानको मर्म कुल्चेर केपी ओली नेतृत्वको सरकारले प्रजातन्त्र विरोधी कानुनहरु धमाधम बनाइरहेकोले प्रधानमन्त्री ओली तानाशाही बन्न खोजेको गम्भीर आरोप पनि लगाए। प्रेस स्वतन्त्रता, मानवअधिकारलाई अंकुश लगाउने गरी विधेयक ल्याएको सरकारले अहिले संसदलाई पनि छलेर संवैधानिक परिषद विधेयक ल्याउन लागेकोमा विरोध जनाए। ‘प्रेस, मानवअधिकार आयोग जस्ता निकायहरुको अधिकार कटौटी गरेर यो सरकार सर्वसत्तावाद कायम गर्न खोज्दैछ। ओली जी तानाशाह हुन खोज्दैछन्,’उनले भने,‘यो आउदो उपनिर्वाचन तानाशाह बनाउने हो कि कांग्रेसलाई जिताएर कम्युनिष्टलाई खबरदारी गर्ने हो?’

नेता पौडेलले यो उपनिर्वाचन प्रजातन्त्र भर्सेस सर्वसत्तावादी कम्युनिष्टहरुबीचको जनमत चुनाव भएको बताए। कम्यनिष्टहरु जहिल्यै सर्वहारा र मजदुर वर्गको भर्यांग चढेर सत्ता पुगेपछि प्रजातन्त्रको जरा उखेल्न सक्रिय हुने गरेकोे पौडेलले बताए। सोही कोणसभामा बोल्दै महामन्त्री सशांक कोइरालाले देशमा अहिलेसम्म जे जति भौतिक, आर्थिक प्रगति भएको छ, ती सबै कांग्रेसले नै गरेको जिकिर गरे। उनले वर्तमान प्रधानमन्त्रीलाई रेल र पानीजहाजको सपना गरिब जनतालाई बाँड्न छोडेर उनीहरुको जीवनस्तर उकास्ने योजना ल्याउन सुझाव दिए। ‘विकास कांग्रेसले नै ल्याउने हो, दुई तिहाईको सरकारले त पानी जहाज र रेलको सपना देख्ने हो,’उनले भने,‘ओली जी, गरिब जनतालाई सोच्नुस्।’

कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले विकासको लागि धरानलाई कांग्रेस चाहिने तर भोट भने सधै कम्युनिष्टलाई दिने गरेको बताए। उनले सुशासन, विकास र भ्रष्टचारमुक्त नगरपालिकाको लागि कांग्रेसलाई भोट दिन आग्रह गरे। अर्का नेता महेश आचार्यले सिमा मिचिएको विवाद समाधान गर्न प्रधानमन्त्रीले कुटनैतिक संवाद थाल्नु पर्नेमा हाम्रो हो भन्दै बोल्ने काम मात्र भएको बताए।

कांग्रेस उम्मेदार तिलक राईले कम्युनिष्टहरुले सधै जितेपनि कुनै काम नहुँदा जनतामा भोट हाल्नै नजाने गरी निराशा पैदा भएको बताए । उनले आफुले जितेर गएमा सेवा सुविधा पारदर्शी बनाएर सबैको पहुँचमा पुर्याउने साथै भ्रष्टचार र अनियमितता रोक्ने बताए।

सोही कार्यक्रममा पुर्वमाओवादीका जिल्ला कमिटी सदस्य प्रेमबहादुर लकान्द्रीसहित सय भन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका थिए। सुनचाँदी व्यवसायीको नेतृत्वकर्ता लकान्द्रीलाई कांग्रेसले सोही कार्यक्रममा आमन्त्रितत जिल्ला कमिटि सदस्यमा नियुक्ती गरेको पत्र पनि थमाएको थियो।

प्रकाशित: ४ मंसिर २०७६ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App