११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

युद्ध स्वीकार्छौं तर भूमि छोड्दैनौ : थापा

बाजुरा- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भूमि माथिको हस्तक्षेप स्वीकार्य नभएको बताएका छन्। भारतले नयाँ नक्सा सार्वजनिक गर्ने बाहनामा नेपालको भूमिलाई समेत आफ्नो भन्ने दाबी पेश गरेको विरोधमा थापाले भारतीय हस्तक्षेप रोकिनु पर्ने बताएका छन्।

बाजुरा क्याम्पसलाई आंगिक क्याम्पसका रुपमा उद्घाटन गर्न बाजुरा पुगेका थापाले युद्ध स्वीकार्ने तर भूमि नछोड्ने चेतावनी दिएका छन्। नेपालको भूमि माथिको कुनै पनि हस्तक्षेप र सैन्य दादागिरी बहादुर नेपालीका लागि स्वीकार्य नहुने घोषणा गरेका छन्।

पूर्व मन्त्री समेत रहेका थापाले सिंगो नेपाल जनता सेनाका रुपमा रुपान्तरण भएरै भएपनि सिमा सुरक्षा गर्न पछि नपर्ने बताएका छन्। कुनै इतिहासका कालखण्डमा नझुकेको र कसैको पराधिनमा नबसेको देशलाई सैन्य बल देखाएर भारत विरुद्ध युद्ध नै स्वीकार्य हुने धारणा राखेका छन्।

थापाले देशको शान्ति सुरक्षा र सामाजिक सुशासनमा नेपाल प्रहरीको भूमिका अब्बल भएको र मदिरा सेवनकै नाममा पनि समाजमा अशान्त पार्ने कार्य गरिए कारवाही गर्न प्रहरीलाई आग्रह गरेका छन्। बाजुराको शान्ति सुरक्षाको प्रंशसा गर्दै थापाले कुनै दलको नेता कार्यकर्ताको सिफारिस फोन आए कुनै वास्ता नगर्न भन्दै त्यसमा साथ रहने बताएका छन्।

थापाले फरक प्रसंगमा राजनीति भनेको ठगी, झुट र गलत प्रचारको खेल नभएको बताएका छन्। देश निर्माण समृद्धीको यात्रामा अघि बढिरहेको बेला नानाथरीका गलत प्रचार गरेर, सामाजिक सञ्जालको दुरुपयोग गर्दै झुटको खेती गरेर केही अर्थ नरहने बताका छन्।

क्याम्पस उद्घाटनको पूर्व सन्ध्यामा बाजुरा क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी तर्फ संकेत गर्दै थापाले समाजलाई अराजक बनाउने र भड्काउने काम नगर्न सुझाव दिएका छन्। थापाले बाजुरा क्याम्पस नेकपाको मात्रै हो भन्दै पन्छीने काम गरिएपनि कुनै फरक नपर्ने बताउँदै नसक्ने घोषणा गरे सबै जिम्मा नेकपा लिन देशकै नेतृत्व गरिरहेको दाबी गरेका छन्।

उनले वुद्धीजीवी वर्गबाट पनि विचार, विकल्प र समाधानका विषयलाई समावेश गरिने पर्ने धारणा राखेका छन्। विरोधले देश नबन्ने र बहसलाई सकारात्मक सोचका साथ गरिनु पर्ने बताएका छन्। कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर गोविन्द्रसिंह विष्ट, अनेरास्ववियुका नेता नरेश रोकाया, पूर्व क्याम्पस प्रमुख वीरबहादुर कटुवाल, पत्रकार महासंघका उपाध्यक्ष निमेन्द्र शाही, स्ववियु सभापति चेतनदीप अयडी लगायतले मन्तव्य राखेका थिए।   

प्रकाशित: २६ कार्तिक २०७६ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App