१५ चैत्र २०८० बिहीबार
राजनीति

वर्तमान सरकारलाई असफल हुने छुट छैनः मन्त्री भट्टराई

ताप्लेजुङ– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा रहेको बर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै नेकपाका जनप्रतिनिधिमार्फत भ्रष्टाचार,सामाजिक बिभेद र लैगिंक असमानताको अन्त्य हुनुपर्ने बताएका छन्। नेकपाका स्थायी समिति सदस्य समेत रहेका उनले जनता र राष्ट्रको सर्बोपरी हित हुनेगरी काम गर्न नेकपाबाट निर्वाचित ताप्लेजुङका जनप्रतिनिधिलाई निर्देशन समेत दिए। 

अगुवा कार्यकर्तालाई पार्टीका सैद्धान्तिक तथा व्यवहारिक बिषयमा प्रशिक्षण दिन क्रममा शनिवार गृह जिल्ला ताप्लेजुङ आइपुगेका नेता मन्त्री भट्टराईले पुँजीवादी शक्तिलाई परास्त गरेर प्राप्त भएको यो ऐतिहासिक अवसरलाई नतिजा लिने माध्यमको रुपमा विकास गर्नुपर्ने बताए। चुनावका माध्यमबाट प्राप्त भएको अपार नतिजालाई जनता र राष्ट्रको पक्षमा प्रयोग गरेमा मात्र परिवर्तनको अनुभूत गराउन सकिने भन्दै मन्त्री भट्टराईले सरकार त्यो बाटोमा प्रयत्नशील रहेको बताए। उनले पर्याप्त मात्रामा स्रोत र साधनको समुचित बितरण गर्ने कार्यमा केही प्राविधिक कठिनाई बाहेक सरकारले जनताको पक्षमा काम र परिणाम दिँदै गएको बिश्वास दिलाए। 

संघीयता पछि बिकसित भएका भएका तीन तहका सरकारका आ–आफ्नै क्षेत्र र जिम्मेवारी रहेको भन्दै उनले तीनै तहका सरकारले जनताले गरेको भरोसा पूरा गर्नेगरी काम गर्नुपर्ने बताए। स्थानीय तह जनताको सबैभन्दा नजिक र जगको सरकार भएकोले स्थानीय तहले अरुभन्दा बढी सजग र सम्बेदनशील हुनुपर्ने मन्त्री भट्टराईको भनाई थियो। जनताले यो सरकारलाई असफल हुने छुट नदिएको भन्दै जनताको भरोसा पूरा गर्ने कार्यमा तीनै सरकारको जिम्मेवारी हुने उनको भनाई थियो। 

सरकार निर्वाचित भएपछिको दुई बर्षमा संबिधान कार्यान्वयनका लागि तीनै तहका सरकारलाई चाहिने आवश्यक कानून, ऐन र नियम बनाउने महत्वपूर्ण चुनौती पार भएकोले अबका ३ बर्षमा बनेका कानूनका आधारमा जनतालाई परिमाण दिन सक्नेगरी काम गर्ने मन्त्री भट्टराईको भनाई थियो। उनले लगानीमा बृद्धि र यसप्रतिको उत्साह थपिएकोले रोजगारीका अवसर सृजना हुने भन्दै आर्थिक विकासका सकारात्मक सूचकहरु देखा पर्न थालेको बताए। 

जनताले परिवर्तन सहितको परिणाम चाहेको भन्दै त्यो अभियानमा सरकार बिचलित नभएको बताए। सीमा बिवादलाई कुटनीतक पहलका माध्यमबाट समाधान गर्न सरकारले योजना बनाइरहेको बताउँदै मन्त्री भट्टराईले प्रधानमन्त्री स्वयंले सीमा बिवादका लागि राष्ट्रिय सहमतिका लागि अग्रसरता लिएको दावी गरे। उनले सीमा बिवादका बारेमा राष्ट्रिय सहमति र एकीकृत धारणा बाहेक अर्को बिकल्प नभएको समेत बताए। 

प्रकाशित: २३ कार्तिक २०७६ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App