४ वैशाख २०८१ मंगलबार
राजनीति

कालापानी माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेर केही उपलब्धी हुन्नः मन्त्री सोनल

बारा– प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कालापानी र लिपुलेक लगायतका नेपाली भूभागलाई भारत सरकारले आफनो नक्सामा पारेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्नु भन्दा कुटनीतिक माध्यमले सीमा विवाद टुङ्गयाउनु पर्नेमा सुझाव दिएका छन्। 

कलैयामा शनिवार पत्रकार सम्मेलन गरी मन्त्री सोनलले कुटनीतिक माध्यमबाट सीमा विवाद नटुङ्गयाई नेपाली जनताले भारतीय दूतावास अगाडि विरोध मात्रै गर्नाले केही उपलब्धि नहुने तर्क समेत गरे। 

भारतले नेपाली भूभागलाई आफनो नक्शामा पारेको भन्दै देशको विभिन्न भागमा भारत विरोध प्रदर्शन भइरहेको बेलामा प्रदेश मन्त्री सोनलले भारत विरुद्ध प्रदर्शन गर्नु भन्दा सीमा विवाद कुटनीतिक र राजनीतिक माध्यमबाट सुल्झाउन पत्रकार सम्मेलन गरी संघीय सरकारलाई आग्रह गरेका छन्। 

सीमा विवाद देखिएको भारत र नेपाल दुबै सार्वभौम राष्ट्र भएको दुबै देशका प्रधानमन्त्री वा सम्बन्धित मन्त्री बीच बसेर सीमा विवाद सुल्झाउन सकिने भए पनि संघीय सरकार त्यसमा अग्रसर नदेखिएको आरोप मन्त्री सोनलले लगाए। 

तत्कालिन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको पालामा चीनले नेपाली सीमा मिचेको विवाद उत्पन्न भएपछि त्यस बेला दुबै पक्ष बसेर सीमा विवाद टुङ्गयाएको सम्झना मन्त्री सोनलले गराए। 

नेपाली भूभाग चीनले मिचेको नक्सासहित तत्कालिन प्रधानमन्त्री कोइरालाले चिनियाँ समकक्षी माओत्सेतुङ्गसँग छलफल गरी नेपाली भूभाग फिर्ता गराउन सफल भए पनि अहिले संघीय सरकारले सीमा विवाद समाधान गर्नको लागि कुटनीतिक प्रक्रिया अगाडि नबढाई चुप लागेर बसेको सोनलले बताए। 

नेपालको एक इन्च सीमा पनि भारतले मिचेको भए त्यो फिर्ता गर्नुपर्छ र त्यसको लागि भारतीय दूतावास अगाडि प्रदर्शन गरेर सिमित समुदायको व्यक्तिमाथि अपशब्द प्रयोग नगरि कुटनीतिक मर्यादा अपनाउनुपर्ने तिर संघीय सरकार लाग्नुपर्ने अवस्था रहेको उनले बताए। 

कुनै पनि दुई देशबीच सीमा विवाद हुँदा त्यसलाई पुरानो नक्सा र कुटनीतिक माध्यमले विवाद समधान गरिँदै आए पनि भारतले नेपाली सीमालाई आफनो नक्सामा पारेको प्रमाण देखाएर नेपाल सरकारले त्यसलाई फिर्ता गराउन कुटनीतिक पहल तत्काल थाल्नु पर्ने मन्त्री सोनलको भनाई छ।

प्रकाशित: २३ कार्तिक २०७६ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App