७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपामा विवाद

फाइल तस्बिर:नागिरक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर विवाद भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो।

नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षीमात्र राखेको भन्दै नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताले असन्तुष्टि जनाएका छन्। उनले प्रदेश प्रमुख तय गर्न सोमबार बसेको पार्टी सचिवालय बैठकमा असहमति (नोट अफ डिसेन्ट) लेखेका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीनको भागबन्डा गरेपछि रुष्ट नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए। त्यसपछि अरु नेताले सहमतिमा नाम टुंगो लगाउन प्रस्ताव गरे पनि अध्यक्षबीचको भागबन्डाअनुसार नै बैठकले निर्णय गरेपछि नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

नेपालले निर्वाचन हारेकालाई प्रदेश प्रमुख बनाउँदा गलत नजिर बस्ने भन्दै विधि र प्रक्रियालाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए। ‘स्थानीय तहको निर्वाचन हारेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउँदा त्यसले गलत नजिर बस्छ। बरु पार्टीभित्रका र बाहिरकालाई समेत मिलाएर प्रदेश प्रमुख बनाउँदा त्यसले राम्रो सन्देश दिन्छ’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँको कुरा सुनुवाइ नभएपछि नोट अफ डिसेन्ट राख्नुभएको छ।’

कुरा नसुनिएपछि नेपालले लेखे नोट अफ डिसेन्ट,
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीन गरी प्रदेश प्रमुखको भागबन्डा गरेपछि माधव नपाल रुष्ट बनेका छन्।

नेता नेपालले विश्वकान्त मैनाली, अमृत बोहोरा, प्रदीप नेपाल, श्रीमाया थकाली, रघुजी पन्त र बेदुराम भुसालको नाम प्रस्ताव गरेको स्रोतको दाबी छ। उनको प्रस्तावमा ओली र दाहालले छलफल गर्नै नचाहेको एक नेताले जानकारी दिए।

बैठकमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डडेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाईं र काठमाडौंकी शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख बनाउन दुई अध्यक्षका तर्फबाट नाम प्रस्ताव भएको थियो। तिनै नामलाई बैठकले अनुमोदन गरेको छ। यस्तो निर्णय असन्तुलित भएको धारणा नेता नेपालले राखेका थिए।

नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले सचिवालयको निर्णय आश्चर्यपूर्ण भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए। नेता रिजालले सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुट्याएको भन्दै असन्तुष्टि जनाएका हुन। ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ’, उनले भनेका छन्। नेता रिजालले मेयरमा हारेकालाई पनि प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै पार्टी निर्णयको ओलोचना गरेका छन्।

प्रदेश प्रमुखमा सिफारिस भएका प्रसाईं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेची नगरपालिकाको मेयरमा पराजित भएका थिए। नेता रिजालले उनलाई संकेत गर्दै प्रश्न गरेका छन्, ‘अन्त मेयर हारेकाको योग्यता पुग्दोरहेछ तर कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख सिफारिस गर्न आइतबारै दुईपटक नेकपा सचिवालय बैठक बसेको थियो। बैठकमा सहमति जुट्न नसकेपछि प्रदेश प्रमुख नियुक्त गर्न साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो भने दुई अध्यक्षले अन्य नेताहरुसँग पनि समन्वय गरेर सोमबार बिहान पुनः सचिवालय बैठक बसेर नाम टुंगो लगाउने समझदारी बनेको थियो।

यस्ता छन् नयाँ प्रदेश प्रमुख
सोमनाथ प्यासी अधिकारी नेकपाभित्र लोकप्रिय नेताका रुपमा परिचित छन्। तत्कालीन नेकपा (माले) को तर्फबाट राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवारका रुपमा प्यासी विजयी भएका थिए। २०४८ सालमा तत्कालीन एमालेबाट सांसद बनेका उनी पटकपटक केन्द्रीय सदस्य, तत्कालीन एमालेको निर्वाचन आयोगको संयोजक र पार्टी एकीकरण भएपछि नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुन्। २०७४ को चुनावमा उनी पूर्वएमालेको समानुपातिक सूचीमा थिए। उनलाई कास्की क्षेत्र नं. २ मा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको रुपमा पनि सिफारिस गरिएको थियो। हाल उनी प्रधानमन्त्री ओलीनिकट छन्।

तत्कालीन राष्ट्रिय जनमोर्चाको अध्यक्ष रहेका अमिक शेरचन राजाको शासनकालमा सात दलको आन्दोलनमा सक्रिय सहभागी भएका थिए। सात दलमध्ये शेरचनले नेतृत्व गरेको जनमोर्चा पनि एक दल थियो। तत्कालीन नेकपा माओवादी १० वर्षे सशस्त्र युद्ध छोडेर शान्तिप्रक्रियामा आएर पार्टी एकता भएपछि उनी त्यो पार्टीभित्र वरिष्ठ नेताका रुपमा थिए। उनी तत्कालीन माओवादीबाट उपप्रधानमन्त्रीसम्म भइसकेका छन्। हाल उनी पार्टीभित्र निष्क्रियजस्तै छन्।

डडेल्धुराका गोविन्द कलौनी सरकारी शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा आएका हुन्। उनी २०५१ सालमा डडेल्धुरामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग चुनाव लडेका थिए। पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी कञ्चनपुरबाट चुनाव लडेका थिए। पटकपटक चुनाव हारेपछि उनी पार्टीमा निष्क्रियजस्तै थिए।

बाँकेका तिलक परियार गृहमन्त्री रामबहादुर थापा निकट दलित नेता हुन्। उनी नेकपाको केन्द्रीय सदस्य एवं दलित मुक्ति मोर्चाका संयोजक हुन्। पहिलो संविधानसभामा उनी तत्कालीन माओवादीबाट बाँके १ बाट सभासद भएका थिए। जन्मघर रोल्पा भए पनि उनको स्थायी बसोबास बाँकेमा छ।

झापाका पुराना कम्युनिस्ट नेता विष्णु प्रसाईं यसअघि २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति भएका थिए। २०७४ सालको स्थानीय चुनावमा उनी मेची नगरनगरपालिकाको मेयरमा पराजित भएका थिए। उनी झापा संघर्षदेखि नै ओलीनिकट छन्।

शिक्षण पेसामा छँदादेखि नै राजनीतिमा सक्रिय धर्मनाथ यादव सिरहाका पुराना कम्युनिस्ट नेता हुन्। पूर्वएमालेको केन्द्रीय सदस्य रहेका उनी ओलीनिकट मानिन्छन्। शिक्षक संगठनबाट राजनीतिमा आएका यादव केन्द्रीय सदस्यबाहेक लाभको पदमा नभएपछि उनलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको हो।

द्वन्द्वकालमा ज्ञानेन्द्र त्रिपाठीलाई सरकारले पक्राउ गरी बेपत्ता पारेपछि उनकी पत्नी शर्मिला त्रिपाठी एकल महिलाको रुपमा जीवन यापन गर्दै आएकी थिइन्। काठमाडौं स्थायी घर भएकी त्रिपाठी पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख भएकी हुन्। द्वन्द्वकालमा उनका पति भैरवनाथ गणबाट बेपत्ता पारिएका थिए।

प्रकाशित: १९ कार्तिक २०७६ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App