७ वैशाख २०८१ शुक्रबार
राजनीति

आन्तरिक विवादमा कांग्रेसका भ्रातृ संगठन

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन आन्तरिक विवादमा रुमलिन पुगेका छन्। पार्टीभित्र मौलाउँदै गएको चरम गुटबन्दीको प्रभाव भ्रातृ तथा शुभेच्छुक संगठनमा देखिएको हो।

त्यसको पछिल्लो उदाहरण हो नेपाल तरुण दल। पार्टीभित्र सहमति हुन नसक्दा महाधिवेशन भएको तीन वर्ष हुन लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन नपाएको तरुण दलको अध्यक्ष र महासचिवको विवाद छताछुल्ल बन्न पुगेको छ।

तरुण दलको ६३ औं स्थापना दिवसका अवसरमा कात्तिक १० गते अध्यक्ष र महासचिव दुवैले छुट्टाछुट्टै कार्यक्रम राखेपछि विवाद तीव्र बन्न पुगेको छ। अध्यक्ष जीतजंग बस्नेत पार्टी कार्यालय सानेपामा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने निर्णय गरेका छन् भने महासचिव भूपेन्द्रजङ शाहीले उपत्यकास्तरीय भेला आयोजना गर्ने जनाएका छन्। बस्नेत र शाहीबीचको द्वन्द्व फेरि चर्किएको छ।

माउ पार्टी कांग्रेसले भदौ २४ गते देखि गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको औचित्य नभएको धारणा शाहीले चर्किएको विवाद भदौ २८ गते बस्नेत र शाही दुवैले एकअर्कालाई कारवाहीको घोषणा गरेका थिए।

अध्यक्ष र महासचिवबीच विवाद बढ्दै गएपछि शीर्ष नेताहरूले त्यसलाई निरूपणको तयारी गरेका छन्। बिहीबार बस्ने केन्द्रीय समितिको बैठकमा समेत त्यस विषयमा कुरा उठ्ने एक नेताले जानकारी दिए। ‘दुई जनाबीच विवाद तीव्र बनेकै छ दलको स्थापना दिवससमेत नजिकिएकाले त्यसअघि नै समाधान गर्ने प्रयास हुन्छ,’ ती नेताले भने।

पार्टीको अर्को भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गत माघ २ देखि रिक्त छ। पार्टी केन्द्रीय समितिले सभापति शेरबहादुर देउवालाई अन्य नेतासँगको समन्वयमा संघको केन्द्रीय तोक्ने अधिकार दिए पनि आन्तरिक सहमति जुट्न नसक्दा अहिलेसम्म समिति गठन हुन सकेको छैन।

आन्तरिक विवादले नेपाल महिला संघको केन्द्रीय समिति पनि सक्रिय हुन सकेको छैन। अध्यक्ष उमा रेग्मीले आफखुसी पदाधिकारी र सदस्य मनोनयन गरेको भन्दै सुरु भएको विवाद अझै सुल्झन सकेको छैन।

नेपाल किसान संघ र नेपाल आदिवासी÷जनजाति संघ, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर सामाज, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल दलित संघसहितका संगठन वर्षौदेखि महाधिवेशन भएका छैनन्।

नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवा खल र नेपाल प्रेस युनियनले पनि अवधि गुजारिसकेका छन्। यद्यपी कांग्रेसको सम्पन्न केन्द्रीय समिति बैठकले म्याद गुजारेका भ्रातृ तथा शुभेच्छुक संगठनलाई छ महिना समय दिएर महाधिवेशनमा पठाउने निर्णय पार्टीले गरेको छ।

बैठकले समय अवधि सकेका भ्रातृ संगठन विधानलाई एकरूपता दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले विधानलाई एकरूपता दिने काम गरिरहेको जानकारी दिंदै साउँदले भने, ‘नेपाल दलित संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघको विधानलाई टुंगो लगाउन धमाधम काम भइरहेको छ। छिट्टै सक्छौं।’

प्रकाशित: ८ कार्तिक २०७६ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App