७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सत्ताका लागि ओली पश्चिमा राष्ट्र र प्रचण्ड भारत रिझाउँदै छन्’

रुपन्देही– नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता स्वार्थका लागि छुटाछुट्टै देशको समर्थन जुटाउन लागि परेको टिप्पणी गरेको छन्।

‘दुवै नेता मिले नेपालले जित्छ। अन्यथा शक्ति राष्ट्रले द्वन्द्वका लागि छौडाहरु परिचालन गर्छन’, उनले भने।

प्रधानमन्त्री ओली पश्चिमा देशका शक्ति राष्ट्रको समर्थन बटुलेर ५ बर्ष नै प्रधानमन्त्री हुन खोजेको तथा अर्का अध्यक्ष प्रचण्ड भारतको समर्थन लिएर प्रधानमन्त्री हुने दाउमा रहेको मैनालीको तर्क छ। रिर्पोट्स क्लब प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव मैनालीले यी दुवै नेतालाई विदेशीहरुले आफू अनुकुल चलाउन खोजेको समेत बताए। 

प्रधानमन्त्री ओलीले अमेरिकाको इन्डो प्यासेफिक र एमसिसि (मिलियन च्यालेञ्ज कर्पोरेशन) स्वीकार गर्ने नीति लिनु सरकार टिकाउने रणनीति भएको मैनालीको तर्क छ। ‘अमेरिकाले नेपाल छिरेर फ्रि तिब्बतको मुभमेन्टलाई सघाउन खोजिरहेको छ, त्यसका लागि प्रधानमन्त्री ओलीले सत्ताका लागि सम्झौता गर्न खोज्नुभएको छ’ पुराना कम्युनिस्ट नेता मैनालीले भने। तत्कालिन सभामुख कृष्णबहादुर महराले एमसिसी प्रोजेक्ट टेबुल भएर पनि रोकेको बिषयमा असहमति आउनुले प्रधानमन्त्री ओलीले आफ्नो सत्ताका लागि गरेको रणनीति भएको उनको ठहर छ। 

उनले अहिले प्रधानमन्त्री ओली र प्रचण्डबीचको विवाद पनि सत्ता स्वार्थकै लडाई रहेको बताए। प्रचण्ड प्रधानमन्त्री हुँदा भारतसँग थुप्रै सम्झौता गरेको बताउँदै भारतलाई रिझाएर प्रधानमन्त्री हुन खोजेको मैनालीले बताए। ‘प्रचण्डजी भारतकै बलमा सत्तामा जान खोज्दै हुनुहुन्छ’, नेता मैनालीले भने। उनले प्रधानमन्त्री ओली हार्ने भन्दै सरकार परिवर्तनको संकेत गरे। 

नेपालमा भारतको हस्तक्षेप बढी हुनेतर्फ संकेत गर्दै अहिले नेकपाभित्र सत्ताको लडाईँ चर्किएको उनको भनाई छ। उनले तत्त्कालिन एमाले र माओवादी एकता सत्ताकै लागि भएको समेत बताए। उनले ओली–प्रचण्डलाई पश्चिमा र भारतले आफू अनुकुल चलाउन खोजेको र यदि त्यसो हुन नसके नेपालमा फेरि पनि द्वन्द्व हुने बताए। ‘दुवै नेता मिले नेपालले जित्छ। अन्यथा शक्ति राष्ट्रले द्वन्द्वका लागि छौडाहरु परिचालन गर्छन’, उनले भने। 

‘यी दुवै पार्टीको एकता प्राविधिक थियो, अझै पनि विचार र सिद्धान्त मिलेको छैन’, पूर्व उपप्रधानमन्त्री समेत भएको मैनालीले भने। उनले नेकपा नेतृत्वको सरकासँग जनताले अपेक्षा धेरै गरे पनि त्यो पूरा नभएको बताए। ‘जनता ह्याप्पी हुन सकेनन्, सरकारले जनताको चाहना अनुसार कामै गर्न सकेन’, उनले भने। 

फौजदारी अभियोगमा तानिएका सांसदहरुले पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ। सत्ताधारी दलका सांसदहरूले करेक्सन गरेर अघि बढ्नुपर्ने मैनालीको जोड थियो। एकले अर्काेलाई फसाउने काम भैरहेको उनको निष्कर्ष छ।

प्रकाशित: ५ कार्तिक २०७६ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App