७ वैशाख २०८१ शुक्रबार
राजनीति

संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काङ्ग्रेसको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो।

संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए। साथै बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ।

बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका थिए।

यसैगरी बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने सम्बन्धमा समेत छलफल भएको थियो। काङ्ग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेदवार टुङ्गो लगाउन र अन्य तयारीका लागि यही कात्तिक ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ। त्यसअघि भोलि नै पदाधिकारी बैठक पुनः बसेर केन्द्रीय समितिमा छलफल हुने कार्यसूचीका बारेमा समेत सहमति गरिने उनले जानकारी दिए।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा. मीनेन्द्र रिजाललगायत उपस्थित थिए। रासस

प्रकाशित: ५ कार्तिक २०७६ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App