८ वैशाख २०८१ शनिबार
राजनीति

आलम पक्राउ कांग्रेसविरुद्धको षड्यन्त्र: सभापति देउवा

फाइल तस्वीर

भक्तपुर– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन्।बोडेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाएका हुन्। 

‘आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु भएको छ’ सभापति देउवाले भने,‘१२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको छ।’

कार्यक्रममा तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा लागि परेको बताए। 

‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो’ उनले भने।

काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने सिटौलाको भनाई छ।

काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उनले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए। पौडेलले काङ्ग्रेस विकल्पको रुपमा उदाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले काङ्ग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए।

महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, गाउँपालिका विकास समितिका महासचिव वंशलाल लामालगायतले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध सङ्घर्षका लागि तयार रहनुपर्नेमा जोड दिए। 

काङ्ग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्ग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको काङ्ग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए। प्रशिक्षण शनिबार सम्पन्न हुने काङ्ग्रेसले जनाएको छ। रासस

प्रकाशित: १ कार्तिक २०७६ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App