१६ चैत्र २०८० शुक्रबार
राजनीति

भाइटिकामा कात्तिक १३ गते विदा दिन सांसद शाक्यको माग

काठमाडौं– प्रदेश नम्बर तीनका सांसद डा. अजयक्रान्ति शाक्यले भाइटीका (किजापूजा)का लागि सरकारले कात्तिक १३ मा विदा दिनुपर्ने माग गरेका छन्। 

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार भाइटीका (किजापूजा)मा सरकारले कात्तिक १०, ११ र १२ गते विदा दिने निर्णय गरेपछि सांसद् शाक्यले असन्तुष्टि व्यक्त गर्दै कात्तिक ११, १२ र १३ गते नेवार समुदायले क्रमशः लक्ष्मीपूजा, म्हपूजा र भाईटिका मनाउनु पर्ने हुनाले कात्तिक १३ गते पनि विदा दिन सरकारसँग आग्रह गरेका हुन्। ‘पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साइत निकाल्दा नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई मिच्ने गरेको छ’, शाक्यले भने, ‘सरकारले पनि पञ्चाङ्गलाई नै आधार मानेर यस्ता महत्वपूर्ण पर्वहरुमा विदा दिँदा नेवाः समुदाय थप मारमा पर्ने गरेका छन्।’

सांसद शाक्यले नेवाः समुदायको परम्परा अनुसार सुर्योदय बेला जुन तिथि हुन्छ उक्त दिन त्यही पर्व मनाउने गरिन्छ। त्यसै परम्परा अनुसार अहिले कात्तिक १२ गते सूर्योदय हुँदा प्रतिपदा तिथि पर्छ त्यसैले उक्त दिन नेपाल संवतको नयाँ बर्ष ११४० मनाउने र बेलुकी म्हपूजा गर्नु पर्ने हुन्छ र उक्त प्रतिपदाको दिन भाइटिका मान्न सकिँदैन र भोलि पल्ट अर्थात् १३ गतेका दिन सूर्योदय हुँदा द्वितीया तिथी रहन्छ र त्यसैले उक्त दिन भाईटिका गरिन्छ। तसर्थ पनि नेवार समुदायलाई भाइटिका गर्नका लागि विदा आवश्यक हुने हुनाले उक्त दिन सार्वजनिक विदा दिन पनि नेपाल सरकारसँग शाक्यले आग्रह गरे। ‘पञ्चाङ्ग समितिले कात्तिक ९ गते त्रयोदशी अर्थात काग तिहार भनेको छ, त्यस अनुसार १० गते चतुर्दशी अर्थात कुकुर तिहार हुन्छ र ११ गते औँसी पर्छ,’ शाक्यले भने, ‘नेवाः समुदायमा पर्व मनाउन घडी–पलाको अर्थ रहन्न। सूर्योदय जुन तिथिमा भयो त्यो पुरा दिन त्यहीँ तिथी पर्ने र त्यसैका आधारमा नेवाः समुदायले चाड–पर्व मान्ने चलन छ।’

शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा अर्थात् कुकर पूजाको दिन लक्ष्मीपूजा गर्नुपर्ने बाध्यता हुने र त्यो संभव नहुने पनि प्रष्ट पारे। ‘पञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औँसी र १२ गते ७ बजेर ५१ मिनेट सम्म प्रतिप्रदा तिथि भनेको छ। त्यसपछि १२ गते नै भाइटिका भनेको छ,’ उनले भने, ‘पञ्चाङ्ग समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपुजा नै मिल्दैन।’ 

पञ्चाङ्ग समितिले निकालेको साइतमा आफ्नो कुनै आपत्ति नभएको पनि उनले स्पष्ट पारे। शाक्यका अनुसार नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ। 

प्रकाशित: १ कार्तिक २०७६ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App