७ वैशाख २०८१ शुक्रबार
राजनीति

महरा र आलम सांसदबाट निलम्बित

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।

निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र)बाट दाङ २ बाट निर्वाचित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वाचित सांसद हुन्।

दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ। पक्राउ अवधिभर उनीहरूले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन।

प्रतिनिधिसभा नियमावली नियम २४४ ले फौजदारी मुद्दामा अदालतबाट सफाइ नपाएसम्म सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने व्यवस्था गरेको छ। नियम २४४ को उपनियम ३ मा भनिएको छ, ‘कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ।’

यसैगरी, तीन वर्ष वा सो भन्दा बढी कैद सजाय हुने मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेकोमा थुना अवधिभर पनि सांसदको हैसियतमा काम गर्न र सेवा सुविधा प्राप्त नुहुने व्यवस्था नियमावलीले गरेको छ। नियमावलीको नियम २४४ को उपनियम ३ कै व्यवस्थामा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर सांसदको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ।’

तर, अदालतले दोषी ठहर गर्दै फैसला गरेमा भने सांसद सदस्य स्वतः निलम्बन भएको मानिने छ। कुनै सांसद पक्राउ परेमा सदनका अध्यक्षता गरेका व्यक्तिलाई त्यसको जानकारी दिने व्यवस्था छ। निवर्तमान सभामुख महरा असोज १९ गते पक्राउ परेकाले सो विषयमा तुरुन्तै संसद् सचिवालयमा जानकारी दिइएको थियो। संसद् अधिवेशन नभएको बेला सूचना जारी गर्ने र अधिवेशन भएको बेला सदनबाट पढेर सुनाउने व्यवस्था छ।

संसद् अधिवेशन असोज २ गतेदेखि अन्त्य भएकाले संसद् सचिवालयले असोज २३ गते सूचना जारी गर्दै महराका लागि नियमावलीको नियम २४४ को उपनियम (३) को प्रयोजन उल्लेख गर्दै सूचना जारी गरेको थियो। जसबाट महराले सांसदको हैसियतमा कुनै काम गर्न नपाउने र उनको सेवा सुविधा स्थगित भएको छ। निवर्तमान सभामुख महरालाई सांसद पदबाट पनि राजीनामा दिन नेकपाले सुझाव दिएको छ। तर, महराले अहिलेसम्म सांसद पदबाट राजीनामा दिएका छैनन्।

संसद् अधिवेशन नभएकाले संसद् सचिवालयले आइतबार पक्राउ परेका सांसद मोहम्मद अफताब आलम पक्राउ परेको र उनलाई नियमावलीको व्यवस्था बमोजिमको सूचना जारी गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाको २०७४ सालको निर्वाचनमा कैलाली १ मा राजपाबाट निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनाको दोषीको आरोपमा थुनामा राखिएको छ। उनले सांसदको हैसियतमा कुनै काम गर्न पाएका छैनन् भने उनको सेवा सुविधा रोकिएको छ।

उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको थियो। उनले उच्च अदालत दिपायलमा पुनरावदेन दिएका छन्। यसैगरी, हेलिकप्टर दुर्घटनाबाट कास्की २ बाट तत्कालिन नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीको निधन भएपछि सो ठाउँमा यही मंसिरमा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: २७ आश्विन २०७६ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App