७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्राविधिक र आर्थिक क्षेत्रमा भारतको सहयोग सह्रानीय, मित्रता अमर रहोसः मन्त्री पण्डित

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्राविधिक र आर्थिक क्षेत्रमा भारतीय सहयोग सह्रानीय भएको बताएका छन्।

भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतले आयोजना गरेको विशेष समारोहमा बोल्दै मन्त्री पण्डितले इतिहासदेखि अहिलेसम्म विकास तथा विभिन्न क्षेत्रमा पुर्याएको योगदान र सहयोग भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गरे। अहिलेसम्मको विकासका लागि उनले धन्यवाद पनि दिए।  

पहिले काशी विश्वविद्यालयबाट पढेर आएको सुन्ने गरेको भन्दै पछिल्लो समय इन्जिनियर पढ्न नेपालीहरु रुट्की जाने गरेको उनले सुनाए। भारतमा पढेर आएका नेपालीलाई काम गर्न सहज भएको र क्षमता र योग्यताको स्तर पनि माथि रहेको बताए।

संघीयता कार्यान्वयनको सम्बन्धमा आफू मन्त्री बनेपछि धेरै पुरानो भारतको संघीय प्रणाली र न्याय तथा कर्मचारी समायोजन प्रणाली अध्ययन गर्न अवलोकन भ्रमणमा गएको स्मरण गर्दै मन्त्री पण्डितले त्यहाँको अनुभव संघीयताको व्यवस्थापनमा प्रयोग गरिरहेको जानकारी गराए। 

‘सीता राम, बुद्ध, गोरखालीहरुबाट सामिप्य बनेको नेपाल भारत मित्रतालाई अघि बढाउँदै जानुपर्छ। अनुभव आदानप्रदान गर्नुपर्छ। सम्बन्ध अमर रहोस्’ उनले भने। 

कार्यक्रममा भारतीय राजदूत मन्जिभसिंह पुरीले प्राविधिक र आर्थिक क्षेत्रको सहकार्यबाट द्विपक्षीय सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे। हाइटेक कोर्षले हरेक क्षेत्रमा व्यवसायिक र दक्ष मानिस उत्पादन गर्ने गरेको बताउँदै पुरीले हालसम्म विभिन्न देशका २ लाख मानिस लाभाम्वित भएको बताए। 

राजदूत पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए। यस कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संशाधन विकासमा उल्लेख्य योगदान पुर्याएको उनको भनाई थियो।

कार्यक्रममा नेपाल सरकारका सचिव दिनेश घिमिरे, राष्ट्रिय योजना आयोगकी शर्मिला कार्की, किमोन सिलवाल, सावित्रा शर्मा र रामवती देवीले तालिम लिँदाको अनुभव शेयर गरेका थिए। 

सो समारोहमा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति थियो। नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्नभारत सरकारको पूर्ण सहयोगमा‘आइटेक कार्यक्रम’सञ्चालित छ। 

नेपाल सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना  कर्मचारीहरुको मानव संशाधन विकासका लागि आइटेकका विभिन्न कोर्षहरुको उपयोग गर्दै आएको छ। तालिम कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रवर्द्धन, व्यवसाय योजना तथा प्रवर्द्धन, लेखा र वाणिज्य आदि जस्ता विषयहरु समावेश गरिएको छ।

कार्यक्रममा भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आकर्षक साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो। 

प्रकाशित: १३ आश्विन २०७६ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App