७ वैशाख २०८१ शुक्रबार
राजनीति

अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख

फाइल तस्बिर

काठमाडौं - संसद्को बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन्। संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसद्को सदस्य सम्बन्धित सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद् सदस्यता रिक्त हुने उल्लेख छ। तर, बिना सूचना लामो समय अनुपस्थित हुने सांसदलाई पनि अहिलेसम्म कुनै कारबाही भएको छैन। जिल्ला भ्रमण, विदेश भ्रमण, घरयासी काममा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्ने जानकारी दिएको भन्दै उनीहरूको अनुपस्थितिलाई सदर गरेको छ। तर, प्रायः सांसद संसद्लाई बेवास्ता गर्ने गरेकै कारण अनुपस्थित हुने गरेको पाइएको छ।

‘कुनै सूचना नै नदिइ सांसद बैठकमा अनुपस्थित हुने गर्छन् तर, सभामुखले सूचना दिएर गएको भन्दै अनुपस्थितलाई उपस्थित परिणत गराउने गरेका छन्,’ स्रोतले भन्यो। गत असोज २ गतेको संसद् बैठकमा पनि सभामुख कृष्णबहादुर महराले लगातार दस दिनभन्दा बढी अनुपस्थित हुने १५ जना सांसदको बिदा स्वीकृत गरेका थिए।

सांसद अनुपस्थित भएकै कारण बेलाबेलामा कोरम पुग्न नसक्दा संसद्को बैठकसमेत अवरुद्ध हुने गरेको छ। चौंथो(बर्खे)अधिवेशन २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म सञ्चालनमा रहेको थियो। स्वतन्त्र सांसद छक्कबहादुर लामा जेठ ३० देखि असार १३ गतेसम्म संसद् बैठकमा उपस्थित भएनन्। उनले जिल्ला भ्रमणको जानकारी दिएको सचिवालयले जनाएको छ। कांग्रेस सांसद् सुजता परियार असार १ गतेदेखि २१ गतेसम्म अनुपस्थित भइन्। उनले विशेष कारण भएको जानकारी दिएको संसद् सचिवालयले जनायो।

संसद् सचिवालयमा भएको रेडर्कअनुसार समाजवादी पार्टीका विमलप्रसाद श्रीवास्तव पनि जेठ २५ देखि असार ९ गतेसम्म अनुपस्थित थिए। उनी विदेश भ्रमणमा गएको जानकारी दिएको संसद् सचिवालयको भनाइ छ। त्यसैगरी, कांग्रेसका सांसद विजयकुमार गच्छदार पनि घरयासी काम भन्दै वैशाख २३ गतेदेखि जेठ ११ सम्म संसद्को बैठकमा अनुपस्थित रहेको संसद् सचिवालयले जनायो। यसैगरी नेकपाकी सांसद सरिताकुमारी गिरी घरयासी कामले जेठ ७ गतेदेखि २९ सम्म संसद् बैठकमा अनुपस्थित रहेको सचिवालयले जानकारी दियो।

कांग्रेस सांसद नागेन्द्रकुमार पनि जेठ १९ देखि ३१ सम्म अनुपस्थित रहेका थिए। उनी अस्वस्थ्य भएर नआएको बताएको सचिवालय बताउँछ। नेकपा सांसद् पुष्पकुमारी कायस्थ पनि असार १९ देखि साउन २९ सम्म अनुपस्थित भएकी छन्। उनले यो अवधिमा विदेश भ्रमण गरेको जानकारी संसद् सचिवालयले दियो। नेकपाका सांसद मोतिलाल दुगड पनि जेठ १९ देखि ३१ सम्म अनुपस्थित रहेका छन्। विदेश भ्रमणमा रहेको भन्दै उनले निवेदन दिएको संसद् सचिवालयको भनाइ छ। कांग्रेस सांसद कर्मा घले पनि साउन २० देखि असोज २ गतेसम्म अनुपस्थित थिए। उनले पनि घरयासी समस्या देखाएका छन्।

नेकपाका सांसद शिवकुमार मण्डल जेठ १९ गतेदेखि जेठ ३१ गतेसम्म रहेका छन्। उनले जिल्ला भ्रमणको कुरा उल्लेख गरेका सचिवालय बताउँछ भने नेकपा सांसद् कमला रोका जेठ १६ गतेदेखि जेठ ३१ गतेसम्म अनुपस्थ्ति रहँदा जिल्ला भ्रमणमा रहेको सचिवालयको भनाइ छ। नेकपाका सांसद विशाल भट्टराई पनि साउन २२ देखि भदौ १२ सम्म अनुपस्थित भएका छन्। उनले विदेश भ्रमण गएको जानकारी दिएको संसद् सचिवालय बताउँछ। नेकपाकी अन्जना बिशंखे भदौ २१ गतेदेखि असोज २ गतेसम्म अनुपस्थित छन्। उनी पनि विदेश भ्रमणमा रहेको सचिवालयले जनाएको छ। नेकपाका सांसद भूमिप्रसाद त्रिपाठी पनि घरयासी कामका कारण संसद् बैठकम अुनपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तो छ कानून
संसद्मा १० दिनभन्दा बढी अनुपस्थित हुने सांसदले सदनलाई सूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित भएमा स्थान रिक्त हुने व्यवस्था संविधानले गरेको छ। सभामुख कृष्णबहादुर महराले गत असोज २ गते प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम (४) बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थितिलाई स्वीकृतिका लागि सदनमा प्रस्तुत गरेका थिए।

सर्वसम्मत स्वीकृत भएपछि उनीहरूको अनुपस्थिति सदर भएको थियो। यसअघिका अधिवेशनमा पनि लगातार १० बैठकभन्दा बढी अनुपस्थित भएका सांसदको अनुपस्थितिलाई स्वीकृत गरिदै आएको छ। अहिलेसम्मको रेकर्डअनुसार लगातार १० दिनसम्म अनुपस्थित भएका कुनै पनि सांसदको पद रिक्त गराइएको छैन।

प्रकाशित: १२ आश्विन २०७६ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App