६ वैशाख २०८१ बिहीबार
राजनीति

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

चितवन- नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन्।   
     
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताए। नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए।     
     
सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताए। उनले भने, 'संसारमा चीनको जस्तो शासन कहींँ पनि छैन। चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन।'   
     
सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै काङ्ग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँडले बताए। पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली काङ्ग्रेस रहेको बताए।     
     
काङ्ग्रेसले देशव्यापी रूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनक रूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए। नेता खाँडले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताए।

प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो। रासस

प्रकाशित: ८ आश्विन २०७६ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App