coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपामा ‘मौलिकताको खडेरी’, चिनियाँ नेताबाट प्रशिक्षण

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन् । प्रशिक्षण मंगलबार पनि चल्नेछ । नेपपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ ।

नेपालको ठूलो र सत्तासीन वामपन्थी दलले सुरुदेखि नै माक्र्स, लेलिन, एंगेल्स र माओको विचारधारा मार्गदर्शन मानेर राजनीति गरे पनि त्यसमा बेलाबेलामा विचलन आएका बेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेपछि फेरि कम्युनिस्ट सिद्धान्तको धङधङी सुरु भएको हो । अहिले नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नेता सी चिनफिङको विचार अपनाउन खोज्नुलाई पनि त्यही धङधङीको निरन्तरताको रूपमा व्याख्या गर्न थालिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेकपा आफ्नो मौलिकपन छाडेर एकदलीय साम्यवादतर्फ उन्मुख भइरहेको आरोप लगाइरहेका बेला चिनियाँ पार्टीका नेताबाट दिइएको प्रशिक्षणले पनि यो आरोपलाई अझ बलियो बनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेकपा आफ्नो मौलिकपन छाडेर एकदलीय साम्यवादतर्फ उन्मुख भइरहेको आरोप लगाइरहेका बेला चिनियाँ पार्टीका नेताबाट दिइएको प्रशिक्षणले पनि यो आरोपलाई अझ बलियो बनाएको छ ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा नेकपामा सी विचारधाराको प्रशिक्षणलाई नेपाली वामपन्थी आन्दोलनमा मौलिकताको खडेरीका रूपमा अथ्र्याउँछन् । ‘सात दशकको अवधिमा नेपाली वामपन्थीमा मौलिकताको खडेरी देखियो । माक्र्स, लेनिन, माओ हुँदै सी विचारधाराको अनुशरणले नेपालको वामपन्थी आन्दोलनले आफ्नै मौलिक विचार सिर्जना गर्न नसकेको देखाउँछ,’ उनले भने । सापकोटा माक्र्सवादको दायराभित्र रहेर नेपालका कम्युनिस्ट मौलिक किसिमको विचार प्रतिवादन गर्नुको साटो अरु कसैको विचारमाथि निर्भर हुँदै गएको बताउँछन् । उनी यसलाई नेपालका वामपन्थी दलमा देखिएको नीति शून्यता र विचार शून्यताको परिणाम ठान्छन् । पार्टी विचार शून्य हुँदै गइरहेका बेला नेकपाले कार्यकर्ता भुलाउन सी विचारधारा अघि सारेको उनको तर्क छ ।

सत्तारूढ नेकपाले पार्टीका नेतालाई सी विचारधाराबाट प्रशिक्षण दिँदै गर्दा अब उक्त दलले कस्तो रणनीति अवलम्बन गर्छ भन्ने कुराको पनि प्रश्न खडा भएको छ । नेकपाले लोकतन्त्रको माध्यमबाट समाजवादमा जाने घोषणा गरिसकेको छ । जबकी सी विचारको अनुशरण र लोकतन्त्रको अभ्यास एकैपटक सम्भव नहुने राजनीतिक विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक सापकोटा सी विचारधारा र लोकतन्त्र एकैपटक अनुसरण गर्न सम्भव नहुने बताउँछन् । चीनले अवलम्बन गरेको खुला अर्थतन्त्रमार्फत आर्थिक विकास गर्ने योजनालाई पनि नेपालका कम्युनिस्टले स्वीकार नगर्ने भएकाले खुला अर्थतन्त्रको विरोध र सी विचारधाराको अनुशरण पनि आफंैमा विरोधाभाष हुने सापकोटाको तर्क छ ।

कांग्रेस नेता बालकृष्ण खाँणले त सोमबार एक कार्यक्रममा नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठनको संज्ञा नै दिए । उनले चिनियाँ कम्युनिस्ट पार्टी कसरी चलेको छ र चीनमा कसरी जनतालाई नियन्त्रणमा राखिन्छ भन्ने कुराको प्रशिक्षण दिन चिनियाँ नेता नेपाल आएको आरोप लगाए ।

नेपालमा शक्ति राष्ट्रको चासो बढिरहेका बेला सत्तारूढ नेकपाभित्र चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको सी विचार धारासम्बन्धी प्रशिक्षण दिने विषयले भूराजनीतिक रुपमा पनि अर्थ राख्ने जानकार बताउँछन् । परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई सत्तारुढ दलले कुनै निर्णय गर्दा धरातलीय यथार्थको पनि हेक्का राख्नुपर्ने बताउँछन् । चीन उदयीमान विश्व शक्ति बन्ने तयारीमा रहेकाले ऊससँगको सम्बन्ध विस्तार गर्नुपर्ने भए पनि त्यसले कुनै अर्काे छिमेकी वा मित्र राष्ट्रसँगको सम्बन्धमा असर पुग्न नहुने भट्टराईको तर्क छ । ‘चीनसँग सम्बन्ध विस्तार गर्नुपर्छ तर यसले अरुलाई सशंकित बनाउने काम गर्नुहुँदैन,’ उनले भने । नेपालमा शक्ति राष्ट्रको ध्यानकेन्द्रित भएकाले यसको सही व्यवस्थापन गर्न नसके समस्या निम्तिन सक्ने उनको तर्क छ ।

सत्तारूढ दलले एउटा शक्ति राष्ट्रको अनुसरण गर्दैगर्दा अर्को राजनीतिक दलले अर्को देशको कुनै दललाई यसरी नै अघि सार्दै अघि बढे मुलुकको राष्ट्रियता कमजोर बन्न पुग्ने उनको बुझाइ छ । मुलुकको अर्को कुनै दलले भारत, अमेरिका वा अर्को कुनै मुलुकको राजनीतिक सिद्धान्त र बाटोमा हिँड्ने घोषणा ग¥यो भने त्यसविरुद्ध नेकपा नेतृत्वको यो सरकारलाई प्रश्न उठाउने नैतिक अधिकार यसले समाप्त गरेको जानकार बताउँछन् । प्रशिक्षणलाई लिएर नेकपाभित्र पनि असन्तुष्टि बढेको छ । पार्टीको विदेश विभागले एकअर्काको देशको विचार आदानप्रदानको कार्यक्रम राख्न सकिने धारणा राख्दै नेकपाका एक नेताले भने, ‘तर स्कुल विभागमार्फत कार्यक्रम गर्दा हामी नेकपा चिनियाँप्रति लोयल भएको सन्देश गयो । यसले पार्टीलाई हित गर्दैन ।’

प्रकाशित: ७ आश्विन २०७६ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App