coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

खिचातानीले कांग्रेसमा गतिरोध

काठमाडौं - आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपूर्ण अवस्थामा पुगेको छ। १३औं महाधिवेशन भएको साढे तीन वर्ष हुँदासमेत आन्तरिक विवादका कारण विभाग र अन्य निकायलाई कांग्रेसले पूर्णता दिन सकेको छैन। यसबाट कार्यकर्ता नेतृत्वपंक्तिसँग असन्तुष्ट छन्।

महाधिवेशन भएको दुई महिनाभित्रै सबै विभाग र निकायलाई पूर्णता दिइसक्नुपर्ने विधानको व्यवस्था रहे पनि संस्थापन र असन्तुष्ट पक्षबीचको खिचातानीका कारण यो कामले अहिलेसम्म पूर्णता पाउन नसकेको हो।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षका कारण विभागहरु गठन हुन नसकेको दाबी गर्दै आएको छ। असन्तुष्ट पक्षले संथापन पक्षको दाबीलाई अस्वीकार गर्दै सभापति देउवाले विभागहरु गठन गर्न नचाहेको आरोप लगाउँदै आएको छ। महाधिवेशन भएको साढे तीन वर्ष बितिसकेकाले अब विभागहरु गठन गर्नुभन्दा १४औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने पक्षमा असन्तुष्ट खेमा छ। तर, संस्थापन पक्ष बाँकी समयका लागि भए पनि विभागहरु गठनको पक्षमा छ। कार्यकर्ता भने संस्थापन र असन्तुष्ट पक्षको आआफ्नै अडानका कारण पार्टीले गति लिन नसकेको बताउँछन्।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षका कारण विभागहरु गठन हुन नसकेको दाबी गर्दै आएको छ। असन्तुष्ट पक्षले संथापन पक्षको दाबीलाई अस्वीकार गर्दै सभापति देउवाले विभागहरु गठन गर्न नचाहेको आरोप लगाउँदै आएको छ।

असन्तुष्ट पक्षको विरोधकै कारण कांग्रेसले बल्लतल्ल गठन गरेको संसदीय र कार्यसम्पादन समिति विघटन भएको छ। दुवै समितिहरु विधानविपरीत गठन भएको भन्दै असन्तुष्ट पक्षले विघटन गर्न माग गरेपछि सभापति देउवाले डेढ वर्षअघि (२०७५ वैशाखमा) विघटन गरेका थिए। समितिमा भागबन्डा नमिल्दा दुवै समिति अहिलेसम्म गठन हुन सकेको अवस्था छैन। सभापति देउवाले पटकपटक कार्यसम्पादन समिति गठनका लागि केन्द्रीय समिति बैठक बोलाए पनि सहमति नजुट्दा यो विषयले प्रवेश पाउन सकेको छैन।

यसअघि वरिष्ठताका आधारमा कार्यसम्पादन समिति गठन गरिए पनि विधानले व्यवस्था गरेको २९ भन्दा बढी सदस्यीय बन्न पुगेको थियो। आकांक्षीलाई समेट्नुपर्ने बाध्यता र दबाबका कारण समिति विधानले व्यवस्था गरेभन्दा बढी सदस्यीय बनेको थियो। त्यो समिति विघटन भएपछि सभापति देउवाले २९ जनामा आफ्नो पक्षमा बहुमत राखेर पुनः गठनको तयारी गरेका थिए। तर, असन्तुष्ट पक्षले संख्याका आधारमा नभई प्रभावशाली नेतालाई समितिमा समेट्नुपर्ने माग राखेपछि गठन हुन नसकेको संस्थापन पक्षका एक नेताले बताए। साथै विगतमा सभापति देउवासँग निकट रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता अर्जुननरसिंह केसीलाई पनि संस्थापन पक्षको कोटाबाट समितिमा राख्नुपर्ने अडानले कार्यसम्पाद समिति गठन हुन नसकेको संस्थापन पक्षको दाबी छ। सिटौला र केसीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि देउवा विरोधी धार समाउँदै आएका छन्।

त्यस्तै, कांग्रेसले नयाँ संविधान अनुसारको तल्लो तहका संरचना समायोजनको काम बल्ल सुरु गरेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्व र कार्यसमिति गठनमा मापदण्ड निर्माण गरेर समायोजनलाई अन्तिम चरणमा पु¥याए पनि प्रदेश कार्यसमिति कसरी गठन गर्ने भन्नेमा अझै सहमति जुट्न सकेको छैन।

त्यतिमात्र होइन पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरुको हालत पनि टिठलाग्दो छ। नेपाल विद्यार्थी संघ माघदेखि केन्द्रीय समितिबिहीन छ भने नेपाल तरुण दल, नेपाल महिला संघसहितका भ्रातृ संगठन आन्तरिक विवादका कारण सक्रिय छैनन्। आधा दर्जन बढी भ्रातृ तथा शुभेच्छुक संगठनले महाधिवेशन गर्ने समय गुजारिसकेका छन्। त्यस्तै नेपाल किसान संघ, नेपाल आदिवासी÷जनजाति संघ, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर सामाज, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल दलित संघको वर्षौंदेखि महाधिवेशन हुन सकेको छैन।

नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाः खल र नेपाल प्रेस युनियनले पनि निर्वाचित कार्यकालको अवधि गुजारिसकेका छन्। कांग्रेस केन्द्रीय समितिले म्याद गुजारेका भ्रातृ तथा शुभेच्छुक संगठनलाई छ महिना समय दिएर महाधिवेशनमा पठाउने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकले भ्रातृ तथा शुभेच्छुक संघसंगठनहरुको विधानमा एकरुपता ल्याउन र भ्रातृ तथा शुभेच्छुक संगठनको मान्यताका लागि आएका निवेदनमाथि सिफारिस गर्न केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा समिति गठन गरेको छ। समिति सदस्य श्यामकुमार घिमिरेले भ्रातृ तथा शुभेच्छुक संघसंगठनको सदस्यताको प्रकार, महाधिवेशन प्रतिनिधि, कार्यकाल, कार्यसमिति संख्या, पार्टीको महाधिवेशनमा प्रतिनिधित्वसहितका विषयलाई एकरुपता कसरी दिने भन्नेमा छलफल जारी रहेको जानकारी दिए। पार्टी सभापतिसहितका पदाधिकारीसँग पनि साउद नेतृत्वको समितिले छलफल गरिसकेको सुनाउँदै घिमिरेले कानुनी कुरा मिलाउन कानुन व्यवसायीलाई पनि जिम्मेवारी दिएको बताए।

पार्टीका संरचना र भ्रातृ संगठनहरु निष्क्रिय हुँदा भदौ २४ गतेदेखि कांग्रेसले सञ्चालन गर्दै आएको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पनि औपचारीकतामै सीमित बन्न पुगेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले सुरु गरेको दोस्रो चरणको जागर अभियानपछि मात्र भ्रातृ संगठन र विभागका विषयमा निर्णय हुने जानकारी दिए। ‘दोस्रो चरणको जागरण अभियान नसकिएसम्म केही हुँदैन,’ शर्माले भने, ‘त्यसलगतै नेपाल विद्यार्थी संघको नेतृत्व टुंगो लाग्छ र केही विभागहरु पनि गठन हुन्छ।’ भदौ २४ गतेबाट सुरु भएको कांग्रेसको दोस्रो चरणको अभियान असोज ७ गते सकिँदैछ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी आगामी महाधिवेशनमा केन्द्रित हुनुपर्ने धारणा राखे। कम्युनिस्ट नेतृत्व सरकारको विकल्प कांग्रेस भएको उल्लेख गर्दै उनले आगामी निर्वाचन र मुलुकको नेतृत्व गर्न कांग्रेसले आफूलाई तयार गर्नुपर्ने बताए। उनले भने, ‘कांग्रेसले आफूलाई तयार गर्नुपर्छ। त्यसका लागि सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्छ।’ पार्टीले सञ्चालन गरेको जागरण अभियानका क्रममा तल्लो तहका नेता तथा कार्यकर्ताको चाहना पनि छिटो महाधिवेशन होस् भन्ने बुझिएको बताउँदै उनले भने, ‘पार्टीको मात्र होइनm भ्रातृ संगठनलाई पनि महाधिवेशनमा पठाउनुपर्छ।’ संगठन भनेको विधान र प्रक्रियलाई सम्मान गर्नु पनि भएको बताउँदै जोशीले थपे, ‘संगठन सञ्चालन गर्न बनाइएको विधि र प्रक्रियालाई बेवास्ता गर्दा अहिलेको अवस्था आएको हो। यसको अन्त्य गर्ने उपाय महाधिवेशन मात्र हो।’

प्रकाशित: ५ आश्विन २०७६ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App