८ वैशाख २०८१ शनिबार
राजनीति

सञ्चारमन्त्री बाँस्कोटा भन्छन्- साना दुःखले आर्जेको संविधान होइन

फाइल फोटाे

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन्। मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा आज कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको, जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कुण्ठाग्रस्त वर्गले धुप बालेर नबदलिने दाबी गरेका हुन्। 

उनले भने, “सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोज्नु ठूलो भूल हुनेछ, जुन कुरा असम्भव छ, यस्तो सपना इतिहासमा गइसक्यो।” मन्त्री बाँस्कोटाले सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोजिरहेका तत्वलाई वर्तमान संविधान कस्तो छ भन्ने ज्ञानसमेत नभएको उल्लेख गर्दै यस्ता वर्गको पतन अनिवार्य भएको बताए। “संविधान निरन्तर चलिरहन्छ, एक दुई असन्तुष्टिलाई लिएर व्यवस्थामाथिनै प्रहार गर्न खोज्ने विषय सफल हुन सक्दैन”, उनले भने। अब चिहानबाट निरङ्कुश राजतन्त्रका कुनै पनि अवेशष फर्केर आउन नसक्ने उनको दाबी थियो। 
 
उनले भने, “संविधानले राष्ट्रिय प्राण भरेको छ, जहाँ प्रत्येक नागरिकको राजनीतिक, सामाजिक र सांस्कृतिक, न्याय र सम्मानको अधिकार सुरक्षित गरेको छ।” उनले कहीँकतै देशको प्रगति, नागरिकको अधिकार, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, राष्ट्रिय आत्मसम्मान र आफ्नो गौरव र गाथाप्रति वर्तमान संविधानले अप्ठेरो पार्छ भने मात्रै केही पुनर्विचार गर्न सकिने बताए। आफूहरु राजनीतिक क्रान्तिपछि निर्माणको क्रान्तिद्वारा जनतालाई सन्तुष्टि दिलाउन चाहेको उनको धारणा थियो। उनले सरकारका कारण कसैलाई कही पनि अप्ठेरो नपरेको दाबी गरे। 

उनले आर्थिक प्रगतितर्फ मुलुक उन्मुख भएकाले इतिहासमा पहिलोपटक सात दशमलव एक प्रतिशत आर्थिक वृद्धदर कायम भएकोमा खुशी हुनुपर्ने बताए। मन्त्री बाँस्कोटाले सरकारले स्वाधीनताका साथ, कसैसँग सत्रुता नगर्ने, सबैसँग मित्रता कायम गर्ने, संवादद्वारा समस्या समाधान गर्दै जाने सुविचारी ढङ्गले अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ बनाउँदै लगेको बताए। उनले पैसा र समय खर्च गरी सामाजिक सञ्जाल तताएको उल्लेख गर्दै सञ्जालमा भनिएको भन्दा विपरीत प्रगति पाएपछि आफूलाई गलत महसुस हुँदै जाने बताए। हाल काभ्रेपलाञ्चोकको १९ वटा विद्यालयमा करीब रु एक अर्ब विनियोजन गरिएको र रु ५० करोडका केही परियोजना तत्कालै शुरु गर्ने उनले जानकारी दिए।

प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईले उत्कृष्ट संविधानअनुसार निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्दै जाने बताए। अर्का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले वर्तमान संविधानलाई परिवर्तन गर्ने चुनौती कसैले पनि दिन नसक्ने दाबी गरे। जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम र मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले संविधानको रक्षाको निम्ति एकजुट भएर लाग्न सुझाव दिए। रासस

प्रकाशित: ३ आश्विन २०७६ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App