८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसमा संविधान दिवसको रमझम

सिरहाको गाउँदेखि सहरसम्म मनाइएको संविधान दिवसको झलक मिथिलेश यादव/नागरिक

सिरहा - नेपालको संविधान २०७२ जारी भएको चार वर्ष पुरा भएको छ। पाँचौं संविधान तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।  यता मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी(राजपा)ले कालो दिवसको रुपमा मनायो भने समाजवादी पार्टी मौन बस्यो।

समाजवादी पार्टी प्रदेश २ का अध्यक्षसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पार्टीले संविधान दिवसमा विरोध र समर्थनमा कुनै कार्यक्रम नगरेको बताए। समाजवादी पार्टीले संविधान दिवसको दिन असोज ३ गते खुसीयालीको रूपमा दिपावली वा विरोधको रूपमा कालो दिवस दुवै नमनाउने पार्टीको निर्णय रहेको यादवले बताएपनि समाजवादी पार्टी प्रमुख रहेको गाउँपालिकामा दिपावली मनाइएको पाइयो।

२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवम् अपूर्ण रहेकाले संविधान जारी भएको दिन कुनै कार्यक्रममा सहभागी नहुने निर्णय भएको यादवले बताए।

तर, प्रदेश २ को सिरहामा गाउँदेखि सहरसम्म संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। बरियारपट्टी गाउँपालिकामा जनप्रतिनिधि, जनता, कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरुले संविधान दिवस मनाएका छन्। गाउँपालिका प्रमुख, उपप्रुखसहितका जनप्रतिनिधिले मैनवत्ती बालेर संविधान दिवशको खुशीयाली मनाएका छन्। गाउँपालिका प्रमुख सन्तोष कुमार महतो, उप प्रमुख रेखा यादवसहितका कर्मचारीहरुले गाउँपलिकामा मैनवत्ती बालेर संविधान दिवस मनाएको फोटो प्रमुख महतोले फेसबुक भित्तामा सार्वजनिक गरेका छन्। प्रमुख महतो समाजवादी फोरमबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष हुन।

सिरहा नगरपालिकामा संविधान दिवसको अवसरमा बृक्षारोपण गरिएको छ। क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य नरेश यादव, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख रमेशचन्द्र यादव, सशस्त्र प्रहरी उपरिक्ष प्रवीण कडेंल, व्यपार संघ सिरहाका अध्यक्ष प्रमोद पोद्दार, रेडक्रस सभापती राजदेव यादवलगायत सहभागीहरुको खुसीयाली ¥याली नगरपरिक्रमा गरेपछि जिल्ला समन्वय समितिको प्राङ्गनमा सभामा परिणत भएको थियो।

सभामा प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले भने,‘जनप्रतिनिधिहरुले जारी गरेको संघीय गणन्त्रात्मक नेपालको पहिलो संविधान उपलब्धीपूर्ण हो। उनले थपे,‘संविधान परिवर्तणीय दस्तावेज हो, समयक्रमले संशोधन तथा परिमार्जन हुँदै जान्छ।’ जनताको आवश्यकता अनुसार संविधानमा संशोधन हुँदै जाने भएकोले यो संविधान जारी भएको दिनलाई उल्लासपूर्ण रुपमा मनाउनुपर्ने उनको कथन थियो।

संविधान दिवसको दिन गोलबजारमा विभिन्न जातिय झाँकी निकालिएको थियो। टोलटोलबाट जातीय पहिचान झल्काउने झाँकीसहित निस्केको खुशीयाली जुलुस नगर परिक्रमा गरेर धमीनी थानमा आयोजना गरिएको सभामा मिसिएको थियो।

प्रकाशित: ३ आश्विन २०७६ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App