१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान पुर्नलेखनको माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल — देशभर संविधान दिवस मनाइरहदा प्रदेश नं. ५ को अस्थाइ मुकाम बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ। नेपालको संविधान २०७२ को  पुर्नलेखनको माग गर्दै जनमुक्तिले बुटवलमा खबरदारी सभा गरेको हो। बुटवलको ट्राफिक चोकमा गरिएको खबरदारी सभालाइ संबोधन गर्दै पार्टीका महासचिव केशव सुर्यबंसी मगरले संविधानलाई सबैले अपनत्व लिने बनाउन पुनर्लेखन गर्नुको बिकल्प नभएको बताए।

संविधानमा धेरै त्रुटिहरु रहेको उल्लेख गर्दै उनले त्यसमा रहेका त्रुटिहरुलाई सच्याउन संसोधनले मात्रै नपुग्ने भएकोले पुनर्लेखनको आवस्यकता परेको बताए। संविधानमा रहेका सबै राम्रा कुरा यथावत राख्ने,नराम्रा कुरा जति हटाउने र नपुगेका धेरै कुरा समावेस गर्नकालागि पार्टीले संविधान पुनर्लेखनको माग अगाडि सारेको उनले बताए। पुनर्लेखन नगरिए वर्तमान संबिधानले २०८२ साल नदेख्ने दाबी समेत महासचिव सुर्यबसीले गरे। भएका उद्योग धन्दा बन्द गर्नेहरुले समृद्धिको सपना देखाएको भन्दै उनले भ्रष्टाचारको अन्त्य नगरी मुलुक समृद्ध हुन नसक्ने बताए।

जनमुक्तिका प्रदेश नं ५ का अध्यक्ष झम बहादुर गुरुङ्ग, उपाध्यक्ष तथा जातीय समन्वय विभाग प्रमुख दलबहादुर बिरकट्टा मगर,विदेश विभाग प्रमुख कमला थापा,राष्ट्रिय पुर्व सैनिक संगठनका अध्यक्ष भिमबहादुर राना,राष्ट्रिय महिला मोर्चाकी बरिष्ठ उपाध्यक्ष मधु राना,नेपाल आदीबासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष संकर गाहा,राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश सचिव बालकिशोर राना,जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले बोल्दै संबिधान पुनर्लेखन गरेर सबैका अधिकार सुनिस्चित नगरेसम्म आफुहरुको संघर्ष जारी राख्ने र संविधान दिवस नमनाउने बताए।

संविधान दिवसको अवसरमा प्रदेश सरकारले रात्री भोजको आयोजना गरेको भन्दै उनिहरुले सडकमा चाट फुल्की बेच्ने र मकै पोलेर जिबिकोपार्जन गर्नेहरुबाट उठाएको करले भोज नखान चेतावनी दिए।

यसैबिच, राजपा रुपन्देहीले पनि शुक्रबार मझगावामा कालो दिवशको दिनको रुपमा विरोध कार्यक्रम गरेको छ। राजपा जिल्ला अध्यक्ष मण्डलका प्रशान्त गुप्ता,अजय बर्मा, रामअधारे यादव, पुर्व मन्त्री गोविन्द चौधरी लगायतका जिल्ला नेताहरुले बिरोध सभामा बोल्दै सिंगो मधेशका जनताले उठाएका मुल मुद्याहरुलाइ सम्बोधन नगरी बनाइएकाले संविधान आफुहरुलाइ स्वीकार्य नभएको बताएका थिए।
 

प्रकाशित: ३ आश्विन २०७६ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App