coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विजुक्छेंको आरोपः ‘प्रचण्ड दिल्लीको दूत हुन्’

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंले सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड दिल्लीको दूत हो कि नेपाली नेता छुटाउनै गाह्रो भएको आरोप लगाएका छन्। पार्टीको सातौं महाधिवेशनको शुक्रबार भक्तपुरको सल्लाघारीस्थित एक सय आठ रोपनी क्षेत्रफलको खुल्ला चौरमा उदघाटन गर्दै पार्टी अध्यक्ष विजुक्छेंले प्रचण्डको पार्टी भारतले छोडेको ट्रोजन हर्स  (घोडा) भएको आरोप लगाएका हुन्।

नेपाली कांग्रेस, तत्कालिन एमाले र तत्कालिन माओवादी पार्टीको छुटाछुटै चर्चा गरेका अध्यक्ष विजुक्छेले कांग्रेस पद, पैसा र पावरका लागि राजनीति गर्ने सामन्तवादी पार्टी भएको आरोप लगाए। नेपाली कांग्रेसपछि एकीकृत हुनु अगाडिको एमालेबारे चर्चा गर्दै उनले भने, ‘एमाले, कांग्रेसको नीति र सिन्तान्तसँंगै मेल खाने गरी अगाडि बढेको भाइ कांग्रेस हो।’

एमाले संशोधनवादी कम्युनिष्ट पार्टी भएको उनको भनाई थियो। एकीकृत हुनु अगाडिको प्रचण्ड अध्यक्ष रहेको माओवादी पार्टी दिल्लीले छोडेको ट्रोजन हर्स भएको बताए। उनले एकीकृत एमाओवादी निर्वाचनको माध्यमबाट सरकारमा पुगेर लुछाचँुंडी मच्चाउने प्रयास गर्ने अवसरवादी पार्टी भएको टिप्पणी गरे। सैद्धान्तिक बेमेल भएपनि अवसरका लागि मिल्ने पार्टी अवसरवादी भएको उनको भनाई थियो।

फरक राजनीतिक दलसँंगैको संघर्ष कुनै व्यक्तिगत रिसइबी नभई देश बचाउने हो कि होइन? मुलुकलाई आमुल परिवर्तनको दिशामा लाने हो कि होइन भन्ने रहेको उनले बताए। अन्तर्राष्ट्रिय परिस्थितिबारे बोल्दै अध्यक्ष विजुक्छेंले नेपाली अर्थतन्त्र परनिर्भर हुँदै गएकोमा गहिरो चिन्ता व्यक्त गरे।

उदघाटन समारोहमा सातौं महाधिवेशन तयारी समितिका संयोजक एवं संघीय सांसद प्रेम सुवाल, पार्टीका केन्द्रिय सदस्यहरु सुनिल प्रजापति, डिल्लीप्रसाद काफले, जग्यबहादुर शाही, राजवीर डंगोल, अनुुराधा थापामगर, वैकल्पिक केन्द्रिय सदस्यहरु तथा प्रदेश सांसदहरु सुरेन्द्रराज गोसाई, सृजना सैंजू, सरोज शाह, गुप्तबहादुर शाहीलगायतले बोलेको थिए।

उदघाटन समारोह सुरु हुनु अघि तीन छुटाछुटै स्थानहरुबाट जुलुससहित उदघाटनस्थल भक्तपुरको सल्लाघारी पुगेको थियो। भक्तपुरको च्याम्हासिंह, मध्यपुर थिमिको बोडे र काठमाडौंको कोटेश्वरसमेत गरी तीन ठाउँहरुबाट जुलुस सुरु भएको थियो।

महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनले पार्टीको नयाँं नेतृत्व चयन गर्नेछ। साथै अबको रणनीति, कार्यदिशा पनि तय गर्ने जनाइएको छ। महाधिवेशनमा देशका ४८ जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरु सहभागी रहेको जनाएको छ।

यसअघि पार्टीको छैटौं महाधिवेशन २०७० चैत २१ देखि २४ गतेसम्म काठमाडौंमा भएको थियो। त्यो बेला भक्तपुरदेखि काठमाडौंसम्म पैदल र्याली गरी महाअधिवेशन भएको थियो। २०३६ सालमा स्थापित पार्टीको अध्यक्षमा विजुक्छे हालसम्म सर्वसम्मत रुपमा अध्यक्ष हुँंदै आएका छन्।

प्रकाशित: ३ आश्विन २०७६ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App