१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओलीले भने– ‘राजतन्त्रले दरबार बनायो, प्रधानमन्त्री निवास उपयुक्त बनाएन’

काठमाडौं– मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो।

‘निरङ्कुश राजतन्त्रको बेलामा विगतमा जनताद्वारा निर्वाचित जनप्रतिनिधि कमजोर र अव्यवस्थित क्षेत्रमा बस्नुपर्छ भनेर नेपालमा धेरै दरबार बनिसकेपछि प्रधानमन्त्रीका लागि सामान्य घर बनाइएका थिए’ प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गर्दै भने,‘जसमा प्रधानमन्त्रीका लागि आवश्यक कुनै पनि पुर्वाधार थिएन।’

उनले राजतन्त्रले निर्माण गरेका भवन उपयुक्त नभएको बताए। ‘भुइँतलामा तीन कोठा र माथि तीन कोठा मात्रै थिए, अतिथि सत्कार र बैठक कक्ष कुनै थिएन, त्यो विस्तार गर्दा पनि उपयुक्त थिएन’, उनले भने।

निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि दुई छुट्टाछुट्टैरुपमा बन्ने भवनको कन्टेक प्रालि नक्सालले निर्माणको जिम्मा लिएको छ। भवन दुई वर्षमा सक्ने योजना छ। दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन नौ महीनामा र दोस्रो भवन १५ महीनामा सक्ने लक्ष्य रहेको र यसका लागि झण्डै ४० करोड लागत लाग्ने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिएका छन्। 

‘मौलिक परम्परा झल्कने गरी काठमा बुट्टा कुँदेर झ्याल, ढोका बनाइनेछ, काठको बाल्कुनेसमेत आकर्षक हुन्छ, इँटाको प्रयोग सोहीअनुसार हुनेछ, समग्रमा हाम्रो परम्परा र संस्कृति झल्कने गरी भवन निर्माण हुन्छ’, गेलालले भने।  

आधुनिक प्रविधियुक्त बनाइने र आकस्मिक मन्त्रिपरिषद्समेत बस्न सक्ने गरी भवन निर्माण हुनेछ। भवनमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने अडियो भिडियोसहितको स्टुडियो पनि बनाइने विभागले जनाएको छ। प्रधानमन्त्री निवास यसअघि पटकपटक गरेर बनाइएको थियो।

पहिलो चरणमा उत्तरखण्ड र दोस्रो चरणमा दक्षिणखण्डको भवन बनेको थियो। निरङ्कुश राजतन्त्रको बेलामा भवन बनाइएको थियो। यसपाली काठको बुट्टा कुँदेर आकर्षक झ्याल बनाइनेछ। इँट्टा पनि मौलिक संस्कृतिसँग मिल्ने गरी प्रयोग गरिने र बाल्कुने बनाएर नेपाली पन झल्कने गरी डिजाइन गरिएको विभागले जनाएको छ।  

एउटा भवन प्रधानमन्त्रीको नितान्त निजी प्रयोजनका लागि र अर्को भवन सार्वजनिक प्रयोजनका लागि हुनेछ। सार्वजनिक भवन राजनीतिक, कूटनीतिक संवाद तथा सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग हुनेछ। 

सार्वजनिक भवनको भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, चालिस जनासम्मले खान मिल्ने डाइनिङ हल, किचेन, कम्युनिकेशन सेन्टर, सुरक्षाकर्मीको नियन्त्रण कक्ष, एडिसी कक्ष, गोप्य कोठा, प्रतीक्षा कक्ष हुनेछ।

पहिलो तलामा सर्वसाधारण भेटघाट कक्ष, भोजन गर्न मिल्ने बैंक्वेट, दुई प्रतिक्षा कक्ष, होल्डिङ कक्ष, पिए बस्ने र प्रधानमन्त्रीको ग्यालरी कक्ष, शैलुन, डाक्टर कक्ष र डेन्टलसहितको नौ युनिट रहनेछ। 

दोस्रो तलामा प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न मिल्ने अडियो भिडियोसहितको स्टुडियो, बगैँचासहितको लवी गरी १२ युनिट रहनेछ । सार्वजनक भवनको भुइँ तलामा १४ कार्यकक्ष रहेछ। भुइँतला अति विशिष्ट व्यक्तिसँगको भेटघाटका लागि छुट्याइनेछ। 

निजी निवास पूर्णतया व्यक्तिगत प्रयोजनका लागि हुनेछ। भुइँ तलामा गेष्ट रुमसहित १० युनिट, पहिलो तला पारिवारिक आवासका लागि बाल्कुनेसहितको १५ युनिट रहनेछ। दोस्रो तला अति विशिष्ट पाहुनालगायतका लागि गरी ११ युनिटको हुने विभागले जनाएको छ। 

अहिलेको सरकारी निवास समयानुुकूल आवश्यकता परिपूर्ति गर्ने खालको नभएको र सुरक्षाका हिसाबलेसमेत उपयुक्त नभएकाले आधुनिक भवन निर्माण गर्न लागेको शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए। सरकराले हिजो मात्रै संसद् भवनको शिलान्यास गरेको थियो।

अहिले धेरै भवनको शिलान्यास भएको र प्रधानमन्त्री ओलीको कार्यकालको अन्त्यसम्ममा सबै भवन उद्घाटन गर्ने गरी योजना बनाइएको उनले बताए। अर्को हप्ता प्रदेश प्रमुखको निवासको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिँदै सचिव अधिकारीले मुलुकको समृद्धिको सपना साकार पार्ने चरणमा सरकार अगाडि बढेको र कतिपय निर्माण समयमै र समयअघि नै सम्पन्न गरेकोसमेत बताए।  रासस

प्रकाशित: २ आश्विन २०७६ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App