१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश २ सरकार संविधान दिवसमा मौन बस्ने, राजपाले ब्ल्याक आउट गर्ने

लहान - प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सोमबार फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘मधेसी जनताले संविधान दिवस मनाउने अवस्था आएको छैन।’ प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउन मुख्यमन्त्रीको नेतृत्वमा छलफल गरेपछि सत्ता साझेदार दल मात्र नभई सत्ता नेतृत्वकर्ता दलकै मन्त्री विपक्षमा उभिएपछि सरकार पछि हटेको छ। अन्ततः प्रदेश सरकारले संविधान दिवस नमाउने भएको छ।

मन्त्री साहले नागरिकसँग भने, ‘संविधान दिवसका कुनै पनि औपचारिक कार्यक्रममा म सहभागी हुँदिन,’ उनले थपे, ‘म संविधान दिवस मनाउँदिन।’ जनता पार्टी प्रदेश २ का अध्यक्षसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पार्टीले संविधान दिवसमा विरोध र समर्थनमा कुनै कार्यक्रम नगर्ने बताए। समाजवादी पार्टीले संविधान दिवसको दिन कुनै पनि कार्यक्रममा सहभागी नहुने भएको छ। असोज ३ गते संविधान दिवसको दिन खुसीयालीको रूपमा दिपावली वा विरोधको रूपमा कालो दिवस दुवै नमनाउने पार्टीको निर्णय रहेको यादवले बताए।

प्रदेश २ सरकारका प्रवतmा एवं अन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने, ‘प्रदेश सरकारले संविधान दिवश कार्यालम मनाउँदैन। कर्मचारीहरु मनाउँछन् भने हामी रोक्दैनौं तर, हामी त्यो कार्यक्रममा सहभागी हुँदैनौं।’

२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवम् अपूर्ण रहेकाले संविधान जारी भएको दिन कुनै कार्यक्रममा सहभागी नहुने हाम्रो निर्णय हो। उनले भने, ‘असोज ३ गते जनकपुरमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तक्र्रिया कार्यक्रममा हामी हुन्छांै, उत्सवमा सहभागी हुँदैनौ।’

सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टीले भने औपचारिक रूपमै संविधान दिवशको दिन कालो दिवस मनाउने निर्णय गरेको छ। प्रदेश २ सहित २७ जिल्लामा कालो दिवस मनाउने राजपाले प्रतिनिधिसमेत तोकिसकेको छ।

प्रदेश नम्बर २ सरकारका मन्त्रिपरिषद्का सदस्यसमेत संविधान दिवस मनाउने नमनाउनेबारे विभाजित देखिएका छन्। मुख्यमन्त्री लालबाबु राउतलगायत समाजवादी पार्टीबाट बनेका मन्त्रीहरू संविधान दिवसमा मौन बस्ते पक्षमा छन् भने सत्ता सहयात्री राजपा नेपालका मन्त्रीहरू संविधान दिवसका दिन विरोध दिवस मनाउने कार्यक्रम सार्वजनिक गरिसकेका छन्।

राजपा नेपालले संविधान दिवसलाई विरोध दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश २ सरकारमा सहभागी राजपा नेपालका मन्त्रीसमेत पार्टीकै लाइनमा अगाडि बढ्ने निर्णय गरेका हुन्। प्रदेश नम्बर २ सरकारमा राजपा नेपालको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संविधान संशोधनको मुद्दा यथावत नै रहेकोले यथास्थितिमा संविधान दिवसका दिन हर्षोल्लास गर्न सक्ने स्थिति नरहेको बताए।

राज्य मन्त्री सुरेश मण्डलले भने, ‘जुन संविधान जारी गर्नका लागि मधेसी जनतामाथि लाठी चार्ज गरियो, कर्फ्यु लगाइयो, गोली दागियो, त्यसमा रहेका विभेदपूर्ण बुँदा संशोधन नभएसम्म हामी विरोधस्वरूप कालो दिवस मनाउछौं।’

राजपा नेपालले संविधान दिवशका दिन कालो दिवस मनाउने निर्णय गरेपछि जनता पार्टी नेतृत्वको प्रदेश सरकार दवावमा आएर संविधान दिवस मनाउने निर्णयबाट पछि हटेको स्रोतको भनाइ छ। संविधानसभाबाट संविधान जारी भएपछि आन्दोलनरत मधेस केन्द्रित दलहरूले विरोधस्वरूप संविधान जलाएका थिए। देशका बाँकी भागमा दिपावली गरिरहँदा तराई–मधेसमा भने ‘ब्ल्याक आउट’ गरिएको थियो।

गत वर्ष जनता पार्टी नेपालकी उपाध्यक्ष रोणुकुमारी यादवले असोज ३ लाई ‘कालो दिन’कै रूपमा मनाउने निर्णयसहितको प्रेस विज्ञप्तिले पार्टीमा हलचल मच्चाएको थियो। संविधान दिवसको दिन बत्ती बालेर स्वागत गर्ने कि बत्ती निभाएर विरोध गर्ने भन्ने विषयले मधेस केन्द्रित राजनीतिक दलमा गत वर्ष पनि यस्तै विवाद देखिएको थियो।

प्रकाशित: १ आश्विन २०७६ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App