१५ चैत्र २०८० बिहीबार
राजनीति

समाजवादीसँग एकीकरण गर्न राजपाका तीन सर्त

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया टुंगोमा पुग्न लाग्दा राजपाका नेताले एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल राख्न प्रस्ताव गरेका छन्। प्रस्तावमा समाजवादी पार्टीका नेतासमेत सकारात्मक भएको राजपाका नेताको भनाइ छ।

पार्टी एकीकरणका लागि भएको औपचारिक संवादमा राजपाले ३ वटा सर्त राखेको हो। राजपाका नेताहरूले समाजवादी पार्टीका नेतालाई भेटेरै एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल हुनुपर्ने, महन्थ ठाकुरलाई पहिलो स्थानमा राख्नुपर्ने तथा एकीकणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेका हुन्। ३ दिनअघिको भेटमा राजपाबाट महन्थ ठाकुर, शरतसिंह भण्डारी तथा समाजवादी पार्टीबाट अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी उपस्थित थिए। भेटमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडांैबाहिर भएकोले बैठकमा उपस्थिति हुन सकेनन्।

भेटमा राजपाका नेताहरूले एकीकृत पार्टीमा ४ सदस्यीय अध्यक्षमण्डल राख्नुपर्ने सुझाव दिँदै अध्यक्षमण्डलमा नसमेटिने महन्द्र यादव र शरतसिंह भण्डारीलाई एकीकृत पार्टीमा वरिष्ठ नेताको पद दिनुपर्ने सर्त राखेका थिए। हाल राजपाका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव र अनिल झाको विषयमा केही कुरा नभएको स्रोतको दाबी छ।
उक्त वार्तामा सहभागी राजपाका नेता महेन्द्र यादवले एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी राख्न आफूहरूले प्रस्ताव राखेको स्वीकार गर्दै भने, ‘समाजवादी जनता पार्टी नाम राख्न दुईतिरबाट प्रस्ताव आएको छ। अन्य नाम पनि प्रस्तावका रूपमा आएका छन्।’

यसअघि समाजवादी पार्टीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी राख्न राजपालाई प्रस्ताव पठाएको थियो। समाजवादी पार्टीको नाममा पार्टी एकीकरण हुन नसक्ने राजपाका नेताहरूले जवाफ फर्काएको स्रोतको भनाइ छ। ठाकुरलाई मर्यादाक्रममा पहिलो नम्बरमा राख्नुपर्ने समाजवादी पार्टीले राखेको प्रस्तावमा समाजवादी पार्टीका नेताहरू सकारात्मक भएको राजपाका नेताहरूको भनाइ छ। यादवले भने, ‘पार्टी एकीकरणका लागि वार्ता धेरै हदसम्म अघि बढिसकेको छ। वार्ता सकारात्मक छ।’ राजपाले समाजवादी पार्टीका नेताहरूसँग राखेको अर्को प्रस्तावमा एकीकृत पार्टीमा पदाधिकारी तथा केन्द्रीय सदस्यरू बराबरीको आधारमा हुनुपर्ने सर्त राखेको छ। यसमा पनि समाजवादी पार्टीका नेता सकारात्मक भएको स्रोतको भनाइ छ। यसैगरी राजपाका नेताहरूले एकीकृत पार्टीमा कार्य विभाजन र शक्ति बाँडफाँट हुनुपर्ने प्रस्ताव राखेका छन्।

राजपा र समाजवादी पार्टी एकीकरण प्रयासमा राजपामा ठाकुर, राजेन्द्र महतो, यादव र भण्डारी बढी सक्रिय छन्। महतो भने हाल अमेरिका छन्। राजपाका अध्यक्षमण्डलका दुई सदस्य राजकिशोर यादव र अनिल झा भने महाधिवेशनपछि एकीकरण हुनुपर्ने लाइन छन्। त्यसैलाई ती दुई नेतालाई पार्टी एकीकरण वार्तामा बोलाउने गरिएको छैन।

अहिले पार्टी महाधिवेशनपछि एकीकरण गर्ने कि महाधिवेशन अघि गर्ने भन्ने विषयमा विवाद छ। आगामी कात्तिक अन्तिम साता पार्टीको महाधिवेशनको तिथि तय गरिएको छ। राजपाका केन्द्रीय सदस्य हृदयश नारायण दास भन्छन्, ‘पहिले महाधिवेशन गरांै। त्यसपछि एकीकरण गरांै भन्ने कार्यकर्ताको भावना हो तर हामी एकीकरणको विपक्षमा छैनौं।’ अध्यक्षमण्डलका बहुमत सदस्यहरू महाधिवेशनअघि नै समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्ने लाइनमा उभिएपछि राजपाको महाधिवेशनको तयारी करिब करिब शून्य अवस्थामा छ। जसबाट समाजवादी पार्टीसँग एकीकरण नभएमा आगामी कात्तिकमा राजपाको महाधिवेशन हुने सम्भावना घट्दै गएको छ।

असोजभित्र एकीकरणको तयारी
दुबै पार्टीका नेताहरू असोजभित्रै एकीकरणको घोषणा गर्ने तयारीमा जुटेका छन्। असोज ६ बाट अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर राजपाको संयोजक हुँदैछन्। उनको नेतृत्वमा समाजवादी पार्टीसँग एकीकरण घोषणा गर्ने तयारी राजपाको छ। राजपाका नेता यादवले भने, ‘हाम्रो प्रयास समाजवादी पार्टीसँग जतिसक्दो चाँडौ एकीकरण गरांै भन्नै नै हो,’ राजपाका एक पदाधिकारीले भने, ‘अहिले हाम्रो सम्पूर्ण प्रयास असोजभित्र एकीकरण घोषणा गर्ने नै हो। कथमकदाचित असोजभित्र एकीकरण हुन सकेन भने तत्काल एकीकरणको सम्भावना टर्छ। त्यसपछि हामी पूर्ण रूपमा महाधिवेशनको तयारीमा जुट्छौं।’ असोज भित्र राजपा–समाजवादी पार्टी एकीकरण घोषणा नभए पार्टीभित्र झा–राजकिशोर लाइन विजयी हुने ती नेताले घोषणा गरे।

प्रकाशित: २९ भाद्र २०७६ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App