७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालगन्ज घटनाबारे देउवाको आक्रोशः ‘हामीले पनि हात भाँचिदिए के हुन्छ?’

दाङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेको नेकपालाई संयमित बन्न चेतावनी दिएका छन्। नेपालगन्ज खजुरामा पार्टीको जागरण अभियानका क्रममा नेकपाका कार्यकर्ताले आफ्ना जिल्ला सभापति किरण कोइरालाको हातै भाँचिने गरि गरेको आक्रमणको निन्दा गर्दै देउवाले भने, ‘तिमीहरु संयतिम बन, नत्र भने हामीहरुको पनि लड्नु बाहेक अरु उपाय हुने छैन।’ शुक्रवार दाङको घोराहीमा विपी कोइरालाको शालिक अनावरण गर्दै सभापति देउवाले बाँके जिल्ला सभापति कोइराला लगायत नेता तथा कार्यकर्तामाथि आक्रमण गर्नेमाथि तत्काल कारवाही गर्न चेतावनी समेत दिए। अन्यथा आफूहरु पनि विधीको शासन तोड्न बाध्य हुने चेतावनी दिँदै सभापति देउवाले संसदभित्रै लड्ने चेतावनी समेत दिए।  

‘बन्द कोठामा पार्टीको जागरण कार्यक्रममा गुण्डाशैलीमा पसेर सभापतिको हातै भाँचिदिए, ति हात भाँच्नेहरुलाई कडा कारवाही होस् भनेर मैले भनिसकेको छु’, उनले भने, ‘यदि उनीहरुलाई कारवाही भएन भने हामीहरु संसदभित्रै लड्ने छौं।’ नेकपाले अहिले प्रजातन्त्रमाथि तारन्तार प्रहार गरिरहेको भन्दै देउवाले प्रजातन्त्र माथि प्रहार हुनु भनेकै कांग्रेसमाथिको प्रहार भएको बताए। कांग्रेसमाथि निरन्तर भैरहेका प्रहार अब सहन नसकिने अवस्थामा पुगिसकेको भन्दै उनले भने, ‘अब कांग्रेसले कुनै पनि हालतमा सहन्न, हामी पनि विधी उलंघन गरेर एक्सनमा जानुपर्ने बाध्यता आउन लाग्यो।’ 

नेकपाका कार्यकर्ताले लगातार प्रहार गरिरहेको भन्दै उनले प्रतिवादका लागि तयार रहन पार्टी नेता कार्यकर्तालाई निर्देशन समेत दिए। ‘हाम्रा जिल्लाका सभापति कोइरालाको हात भाँच्नेहरुको हात हामीले भाँचिदिए के हुन्छ?’ सभापति देउवाले प्रश्न गरे, ‘अब प्रतिवादका लागि हामीहरु सबै तम्तयार भएर बस्नु पर्छ।’ यसका लागि देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताबीचको मतभिन्नता अन्त्य हुन जरुरी रहेको समेत बताए। ‘हामीहरु माथि परिरहेको ज्यादती र आक्रमण कति सहने?’ उनले भने, ‘हामीहरु पनि एक भएर उनीहरुको खिलापमा मैदानमा उत्रनु पर्ने बेला आइसकेको छ, त्यसैले हामी सबैले मतभिन्नता त्यागेर हातेमालो गरौं।’

आफूहरुले कम्युनिस्टले सरकारको नेतृत्व गरेकोप्रति विरोध नगरेको तर सरकारको नाममा कम्युनिस्ट शासन लाद्न खोजिएकोप्रति आपत्ति प्रकट गरिरहेको देउवाले स्पष्ट पारे। ‘हामीहरु कम्युनिस्ट सरकारको बिरोधी हैनौं’, उनले भने, ‘सरकारका नाममा लाद्न खोजिएको कम्युनिस्ट शासनको बिरोध गरेका हौं।’ वर्तमान सरकारले एक पछि अर्को जनविरोधी निर्णय लिइरहेको भन्दै देउवाले वर्तमान सरकारको यो रबैया अब टिक्न नदिने चेतावनी समेत दिए। ‘यहीँ सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्यो, संवैधानिक आयोगलाई पार्टीकरण गर्यो’, देउवाले भने ‘जनहितको बिपक्षमा गरिएका यस्ता गलत कदमको साक्षी नेपाली काँग्रेस बन्न सक्दैन।’

नेपाली कांग्रेस दाङले निर्माण गरेको विपीको शालिक शुक्रवार अनावरण गरिएको हो। साढे पाँच लाख लागतमा निर्माण गरिएको उक्त शालिक अनावरण कार्यक्रममा कांग्रेसका विभिन्न केन्द्रीय सदस्यहरु समेत सहभागी थिए। शनिबार पनि तुलसीपुरमा विपीको शालिक सभापति देउवाले अनावरण गर्ने कार्यक्रम छ।

प्रकाशित: २७ भाद्र २०७६ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App