८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ३ : १७ विधेयक पारित गरी बर्खे अधिवेशन अन्त्य

मकवानपुर– प्रदेश ३ को प्रदेश सभाको बर्खे (चौथो) अधिवेशन १७ वटा विधेयक पारित गरी अन्त्य भएको छ। बुधबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयको बर्खे अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका थिए।

‘प्रदेश सभामा हालसम्म दर्ता भएका ४५ वटै विधेयक पारित भएका छन्,’ उनले भने, ‘३८ वटा विधेयक प्रदेश प्रमुखको कार्यालयले प्रमाणित गरेको छ भने सात वटा प्रमाणिकरणको प्रक्रियामा गएका छन्।’

बैशाख ३० गतेदेखि शुरु भएको चौथो अधिवेशनले १७ वटा विधेयक पारित गरेको उनले बताए। उनका अनुसार ३८ वटा बैठक बसेको चौथो अधिवेशनमा दर्ता भएका सात वटा र तेस्रो अधिवेशनका बाँकी दश विधेयक पारित भएको हो ।

प्रदेश सभाको चौथो अधिवेशनले स्थायी राजधानी तोक्ने कार्यविधि, प्रदेश सभा नियमावली (पहिलो संशोधन) २०७६ समेत पारित गरेको छ। त्यस्तै, प्रदेश सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुलीमा सामुहिक चक्लाबन्दी खेती र मत्स्यपालनको स्थलगत प्रतिवेदन पेश गरेको छ भने प्रदेश सभाले प्रदेश सभा दर्पण भाग २ प्रकाशित पनि गरेको छ। साथै, प्रदेश सभा अन्तर्गतको विषयगत समितिहरुले वार्षीक प्रतिवेदन पेश गरेका छन् भने प्रदेश सभा बैठकमा डेंगी रोगको प्रकोप सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भई छलफल समेत गरेको जनाइएको छ।

यसैबीच, बुधबार बसेको चौथो अधिवेशनको अन्तिम बैठकले दुई विधेयक पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले पेश गरेको अर्थ तथा विकास समितिको प्रतिवेदनसहितको ‘सार्वजनिक नीजि सहकारी साझेदारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मालिम तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले पेश गरेको उद्योग, पर्यटन तथा वातावरण समितिको प्रतिवेदनसहितको ‘प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सर्वसहमतीले पारित गरेको हो।

ती दुई विधेयकका सम्बन्धमा राप्रपाकी रीना गुरुङ्ग, नेपाली कांग्रेसकी विजया केशी श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नारायणबाबु सिल्वालले आ–आफ्नो धारणा राखेका थिए। बैठकले प्रदेश सांसदहरु केशव स्थापित, अजय क्रान्ति, रीता माझी, राजेन्द्र पाण्डे, विराजभक्त श्रेष्ठ लगायतको विभिन्न समयको अनुपस्थितिको सूचना सभाले स्वीकृत पनि गरेको छ।

प्रकाशित: २५ भाद्र २०७६ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App