८ वैशाख २०८१ शनिबार
राजनीति

‘कम्युनिस्ट सरकारले लुटतन्त्र मच्चायो’

काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले मुलुकमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०६ आंै जन्मजयन्ती तथा पार्टीकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको मंगलबार सुरुवात गर्दै शीर्ष नेताहरूले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने समय आउन लागेको बताए।

सरकारले आर्थिक अनियमिता, भ्रष्टाचार र संविधानविपरीतका गतिविधि तीव्र बनाएको उनीहरूको आरोप छ। सरकारको गतिविधिले जनतामा निराशा छाउन थालेको गुनासो गर्दै उनीहरूले सरकार काण्डैकाण्डमा फसेको धारणा राखे।

पार्टी सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको दुईतिहाइ सरकारको अधिनायकवादी शैली नसुध्रिए पार्टी आन्दोलनमा उत्रिने बताए। बिपी कोइरालाको १०६ औं जन्मजयन्ती तथा दोस्रो चरणको जागरण अभियानको मंगलबार सुनसरीमा सुरुवात गर्दै देउवाले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए। ‘हाम्रो देश अप्ठ्यारो अवस्थामा छ। देशमा कम्युनिस्ट सरकारले डरको शासन, त्रासको शासन र जनतालाईं झुक्याउने काम गरिहेको छ,’ सभापति देउवाले भने, ‘देशमा जनताले २००७ मा लडेर ल्याएको प्रजातन्त्र, २०४६ मा ल्याएको प्रजातन्त्र र २०६२÷०६३ को आन्दोलनबाट ल्याएको प्रजातान्त्रिक गणतन्त्र हरण गर्ने काम दिइनेवाला छैन।’

देउवाले कम्युनिस्ट सरकारले बोल्ने, लेख्न र अभिव्यक्ति स्वतन्त्रा सिध्याउन खोजे पनि त्यो कांग्रेसले डटेर सामना गर्ने बताए। ‘कम्युनिस्ट सरकारले पुलिस, सेना, मानव अधिकार आयोग, सञ्चार क्षेत्र नियन्त्रण गर्ने, हस्तक्षेप गर्ने, दण्ड दिने सोच रहेको छ,’ उनले भने, ‘यो देशका लागि डरलाग्दो अवस्था हो।’ कम्युनिस्टको अधिनायकवादी सोच नसच्चाए लडाइँ लडनुपर्ने बेला आएको उनले दोहो¥याए। ‘अब कम्युनिस्टको अधिनायवादी शासनको खिलापमा लाग्न सबै साथीहरू तयार रहनुहोस्,’ उनले भने।
उपसभापति विजयकुमार गच्छदारले कम्युनिस्ट अधिनायकवादी शासनबाट देशले मुक्ति खोजिरहेको बताए। कार्यक्रममा सहमहामन्त्री प्रकाशसरण महत, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताले कम्युनिस्ट सरकारले गरेका गलत कार्यको गाउँगाउँमा कार्यकर्तामाझ पुगेर भन्डाफोर गर्नुपर्ने धारणा राखे।

त्यस्तै, पोखरामा आयोजित कार्यक्रममा नेता रामचन्द्र पौडेलले नेकपाको सरकारले देशमा लुट मच्चाइरहेको आरोप लगाएका छन्। कास्की –२ ले आयोजना गरेको कार्यक्रममा उनले सरकारले न्यायालयदेखि अख्तियारसम्मलाई तर्साइरहेको आरोप लगाए। दुईतिहाइको दबाबले अख्तियार र न्यायालयले राम्रोसँग काम गर्न नसकेको उनको भनाइ थियो।

पौडेलले नेकपाको कुशासन र भ्रष्टाचारले जनता निराश बनेको बताए। उनले कम्युनिस्टको कुशासन र भ्रष्टाचारका कारण जनता निरास र असन्तोष बनेको बताए। नेकपाले सपना एउटा देखाउने तर सत्तामा पुगेर अर्कै काम गर्दा जनतामा असन्तोष र निराशा छाएको बताए। उनले जनतामा देखिएको असन्तोष र निराशा कांग्रेसका लागि अवसर भएको बताए। निराश र असन्तुष्ट जनतालाई कांग्रेसले विकल्प दिने भन्दै बिपीको सिद्धान्त, विचार र आचरण अवलम्बनले जनतालाई आशावादी र सन्तुष्ट बनाउने बताए।

त्यस्तै, धनुषाको जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति विमलेन्द्र निधिले संविधानप्रति रहेका असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने धारणा राखे। पार्टीभित्रै कार्यकर्ताबीच देखिएको असन्तुष्टिसँगै जनतामा सरकारको काम कारबाहीप्रतिको नैराश्यतालाई कांग्रेसले मनन गर्नुपर्ने बेला आएको बताउँदै उपसभापति निधिले भने, ‘संविधानमा मुख्यरूपले त्रुटि औंल्याउने समाजवादी पार्टी सरकारमै छ। तर असन्तुष्टिलाई सम्बोधन गर्न कुनै चासो देखाएको छैन।’ मधेसी जनताको हकमा केही बुँदा सच्याउनुपर्ने र केही थप्नुपर्ने र कांग्रेस संशोधन गर्न पनि तयार रहेको बताए।

मकवानपुरको हेटौंडामा आयोजना गरिएको कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरी देश र जनताको पक्षमा एकजुट हुनुपर्ने अवस्था आएको बताए। आन्तरिक झमेलाबाट मुक्त भएर पार्टी कम्युनिस्ट नेतृत्व सरकारको गलत कामको भण्डाफोरमा लाग्नुपर्ने धारणा राखे। ‘पार्टीभित्रको आन्तरिक तिक्ततालाई मेटाएर कांग्रेस एकताबद्ध हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘कम्युनिस्टको गलत क्रियाकलापको भण्डाफोर गर्दै आमजनतामा दोस्रो चरणको जागरण अभियानलाई उपलब्धीमूलक बनाउनुपर्छ।’

पार्टीभित्रकै आन्तरिक कलहले मात्रै कांग्रेस हारेको जिकिर गर्दै उनले कांग्रेसजन एकजुट भए अब पनि कसैले हराउन नसक्ने तर्क गरे। ‘बिपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्र हो,’ उनले थपे, ‘बिपीको सिद्धान्तलाई आत्मसाथ गर्दै सबै नेता, कार्यकर्ता एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडि बढनुपर्छ।’

त्यस्तै,भक्तपुरमा आयोजीत कार्यक्रममा महामन्त्री पूर्णबहादुर खड्काले अभियानको सुरुवात गरे। पार्टी संगठनलाई मजबुत बनाउँदै जनताको पक्षमा काम गर्न नेता तथा कार्यकर्तालाई महामन्त्री खड्काले निर्देशन दिए। काठमाडौं कांग्रेसले विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रममा कोषध्यक्ष सितादेवी यादवले अभियानको सुरुवात गरे। सरकार एकदलीय सर्वसत्तवादतर्फ उन्मुख भएको भन्दै त्यसकाविरुद्ध कांग्रेस एकजुट भएर उभिनुपर्ने धारणा राखिन्। सरकार आर्थिक अनियमिता र संविधान विपरितका क्रियाकलपामा सक्रिय रहेको जनाउँदै उनले कम्युनिष्ट सरकारको कुशासन, अलोकतान्त्रिक विधेयक, महँगीसहितका विषयमा जनतालाई जागृत बनाउन लाग्नुपर्ने बताइन्।

बिपी जन्मजयन्तीको अवसर पारेर मंगलबारबाट सुरु गरिएको दोस्रो चरणको अभियान असोज ७ गते सबै जिल्लामा विरोध प्रदेशन र सभा गरेर सक्ने कार्यक्रम रहेको छ। सबै प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपण गरे अभियानको सुरुवात गरेको कांग्रेसले नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणालीबारेकै विमतिसमेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस अघि बढाउने जनाएको छ। युवा पुस्तालाई पार्टीभित्र आकर्षण गर्न उनीहरू केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाउँदै उसले प्रत्येक प्रदेशबाट तीन सय युवाका बीचमा बिपीको विचार र संस्कारलाई एक लाख युवासँग संवाद र सम्प्रेषण गर्ने उसले जनाएको छ। (अमर खड्का/ईटहरी, सन्देश श्रेष्ठ/पोखरा, सुरेश यादव/जनकपुर, अशोकसुजन श्रेष्ठ/मकवनपुर)

प्रकाशित: २५ भाद्र २०७६ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App