coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सम्झौता प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ। चीन र नेपालबीच बिआरआईअन्तर्गत विभिन्न महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वनको अवस्था भने सन्तोषजनक देखिँदैन। बैठकमा चिनियाँ पक्षले सम्झौता कार्यान्वयनमा भइरहेको विलम्बबारे चासो देखाएपछि बैठकले तिनको प्रभावकारी कार्यान्वयनका लागि सहमति जुटाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर भएको छ। चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सोमबार भएको सम्झौतामा मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लगानीमा अस्पताल निर्माण गर्ने, आपतकालीन अवस्थामा प्रयोग गर्न ५ हजार टेन्ट उपलब्ध गराउने र नेपालस्थित चिनियाँ दूतावास र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ‘नेपालमा स्वयंसेवी चिनियाँ शिक्षक कार्यक्रम’ सञ्चालन गर्ने उल्लेख छ। बैठकमा नेपाल चीन दुई पक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपति सी जिङ पिङको एक महिनापछि हुने भनिएको सम्भावित भ्रमणको तयारीलगायत विषयमा पनि छलफल भएको जनाइएको छ।

भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ सहयोगको प्रशंसा गर्दै कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, शिक्षालगायत क्षेत्रको विकासमा चिनियाँ सहयोगको आवश्यकता औंल्याए। त्यस्तै चिनियाँ विदेशमन्त्री वाङले चीनले नेपालको विकासमा निरन्तर सहयोग गर्ने आश्वासन दिएका थिए। दुवै पक्षबीच उच्चस्तरीय भ्रमणले आपसी सद्भाव र विश्वास बढ्ने भन्दै त्यसलाई निरन्तरता दिने विषयमा छलफल गरेका थिए। दुवै पक्षका बीचमा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा आपसी चासोका विषयमा सहकार्य गर्ने सहमति पनि भएको छ।

आइतबार काठमाडाैं आइपुगेका विदेशमन्त्री वाङले सोमबार केही समय चन्द्रागिरिमा ट्रेकिङसमेत गरेका थिए। केबलकारमार्फत चन्द्रागिरि पुगेका उनी त्यहाँको प्राकृतिक सुन्दरतासँग केही समय रमाएका थिए। दिउँसो परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुँदै केही सम्झौतामा हस्ताक्षर गरेपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

विदेशमन्त्री वाङले साँझ परराष्ट्रमन्त्री ज्ञवालीले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा पनि सहभागिता जनाएका थिए। विदेशमन्त्री वाङसँगको भेटका क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका थिए। चिनियाँ राष्ट्रपति सी अर्काे महिना नेपाल आउने सम्भावना रहेको जनाइएको छ।

विदेशमन्त्री वाङले मंगलबार बिहान ९ बजेदेखि ९ः३० सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग मेरियट होटलमा भेट गर्ने कार्यक्रम तय भएको छ। उनले ९ः३० देखि १० बजेसम्म प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्नेछन्। भ्रमण सकेर वाङ मंगलबार दिउँसो १ बजे विशेष विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: २४ भाद्र २०७६ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App