१६ चैत्र २०८० शुक्रबार
राजनीति

शिक्षामा सहयोग गर्न जर्मनसँग प्रदेश ३ को आग्रह

हेटौंडा– प्राविधिक शिक्षाको विकास र विस्तारमा सहयोग गर्न जर्मनीसँग प्रदेश ३ सरकारले आग्रह गरेको छ। नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरसँग विहीबार प्रदेशको राजधानी हेटौंडामा भएको भेटमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस्तो अनुरोध गरेका हुन्।

‘अहिलेको युग सूचना र प्राविधिको हो, त्यसैले प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियान लिएको छ’, मुख्यमन्त्रीलाई उद्धृत गर्दै प्रेस संयोजक प्रकाश दाहालले भने, ‘प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना र आवश्यक्ता रहेकाले जर्मन सरकारबाट सहयोगको अपेक्षा गरेका छौं।’

भेटघाटका क्रममा राजदूत सेफर र मुख्यमन्त्री पौडेलविच प्राविधिक शिक्षाको विषयमा विशेष छलफल समेत भएको थियो। छलफलपछि राजदूत सेफरले प्रदेशसँग मिलेर काम गर्न जर्मनी उत्सुक रहेको बताएका थिए।

‘प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राविधिक शिक्षालयलाई पनि सहयोग गर्न सकिन्छ’, राजदूत सेफरलाई उद्धृत गर्दै दाहालले भने, ‘नेपालको विकासका लागि जर्मन सरकार हातेमालो गरेर अघि बढ्न तयार छ।’ जर्मनीले प्राविधिक शिक्षालाई विस्तार गरिरहेको बताउँदै राजदूत सेफरले प्रदेशसँग प्राथमिकता अनुसार सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।

यसअघि गतबर्षको फागुन ९ मा मुख्यमन्त्री पौडेल र अष्ट्रेलियाका राजदूत पिटर बडबीच भेटवार्ता भएको थियो। शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा प्रदेशको सम्भावना र अष्ट्रेलियाले गर्ने सहयोगका बिषयमा भेटघाट केन्द्रीत रहेको थियो।

गत मंसीर २७ मा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले हेटौंडा आएर मुख्यमन्त्री पौडेलसँग भेट गरेका थिए। त्यसअघि राजदूत मोरिसले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, मध्यनेपाल पर्यटन विकास समिति र मकवानपुर उद्योग बाणिज्य संघका पदाधिकारीसँग भेट गरेका थिए।

प्रकाशित: १९ भाद्र २०७६ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App