१५ चैत्र २०८० बिहीबार
राजनीति

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

काठमाडौं– विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।  

मंगलबार समितिले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर ३७ गाईको हत्या एवम् ८६ वटा गाई घाइते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्र्सना गरेको छ। 

समितिका महासचिव रोसन जङ्ग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं। यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन।’

‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ। विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ।’

कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ–संरक्षणमा लाग्नको लागि जोड दिए। उनले गौ–माताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिक रुपमा निकम्मा सावित हुने दाबी गरे। हालै भएको गौ–हत्याको बारेमा पनि उनले भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे। 

त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए। उनले भने, ‘म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घट्नास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ।’ उनका अनुसार सिधै ८ वटा टिप्पर तथा ट्रकमा गाईलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट देखिन्छ।’

जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आईरहेको बताउँदै सुदूर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेको पनि सुनाए। उनले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपुर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्यपनि गलत रहेको टिप्पणी गरे। 

कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको आरोप लगाए। उनले भने, ‘यो घट्ना नियोजित हो। यसको सत्य, तथ्य पत्ता लगाउनको लागि पनि गम्भिर र निश्पक्ष छानबिन हुनुपर्छ।’ 

थापाले गृहमन्त्री रामबहादुर थापाले यो घट्नाका दोषीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याएर आफ्नो विगतको पापहरुसमेत पखाल्नुपर्ने भन्दै सुझाव दिए। 

उनले भने, ‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ। विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ।’

उनले पनि बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप कुनै पनि हालतमा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए। उनले आजैबाट आफूहरुले आरतीअघि बजाउन भनिएको राष्ट्रिगान बजाउन नदिने पनि चेतावनी दिएका छन्। 

विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति, बाँसबारीका उपसभापति तथा पूर्वमन्त्री दिनबन्धु अर्यालले गौमाताको संरक्षण गर्न नसक्ने सरकारले उल्टै गौमातको सुनियोजित हत्या गर्ने गरेको आरोप लगाए। त्यस्तै, उनले बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप भएको भन्दै आपत्ति जनाए। 

विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानका अभियन्ता शरदचन्द्र दाहालले अहिले बढेको वेधर्मी कदमलाई रोक्नको लागि राजासहितको हिन्दूअधिराज्यले मात्रै सम्भव हुने बताए। दाहालले गौहत्या नरोकिए भोलिका दिनमा सन्त, महन्तलाई पनि भीरबाट लगेर खसाल्नेसम्मको षड्यन्त्र हुनसक्ने खतरा औंल्याए। 

कार्यक्रममा भागवत वाचिका अनुराधा शास्त्रीले गौमाता जनावरमात्रै नभएर प्रकति पुजक रहेको बताउँदै गाईबाट असंख्य अक्सिजनसमेत प्राप्त हुने कुरा उल्लेख गरिन्। उनले पनि गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन्। 

समितिको विज्ञप्तिमा अगाडि भनिएको छ,‘सरकारले छानबिन गरेर दोषीलाई कारबाही होला भन्ने कुरामा शंका छ, निर्मला पन्तदेखि पत्रकार सालिकराम पुडासैनीका बारेमा समेत न्यायोचित छानबिन गर्न असक्षम सावित भएको सरकारले गौ–मातको हत्यारा पक्राउ गरेर सजाय दिन्छ भन्ने कुरा किमार्थ मान्न सकिँदैन तसर्थ घट्नालाई उचित छानबिन गरि दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं।’

समितिले सनातन हिन्दू धर्म विरुद्धका कार्य रोक्न माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको कार्यक्रममा यही भदौ १९ गते देशैभरिका जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २० गते धार्मिक संघसंस्थाबीच अन्तरक्रिया गर्ने, भदौ २१ गते बिहान सरकारको सत्बुद्धिको कामना गर्दा कमलादी गणेशस्थानमा पुजाआजा गर्ने, भदौ २३ गते महासंघ परिसरमा हत्या गरिएको गौ–माताहरुको चीर शान्तिको लागि श्रद्धाञ्जली सभा गर्ने, भदो २४ गते नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालययमा ज्ञापनपत्र बुझाउने रहेका छन्। 

भदौ २४ गतेसम्मपनि आफ्ना मागहरु पूरा नभए र सरकारले ध्यान नदिए बाध्य भएर दोस्रो चरणका कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नपनि आफूहरु बाध्य हुने समितिका अध्यक्ष थापाले बताए। एनका अनुसार भदौ २४ गतेपछि हुने आन्दोलनमा काठमाडौं उपत्यका बन्द, नेपाल बन्ददेखि लिएर दशैंको मुखमा तीन तहका सरकार प्रमुखहरुलाई मन्दिर प्रवेशमा निषेध गराउनेसम्मका हुनेछन्। 

प्रकाशित: १७ भाद्र २०७६ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App