७ वैशाख २०८१ शुक्रबार
राजनीति

लुम्बिनीका कारण नजिकिँदै चीन

दुई महिनाअघि चीन भ्रमणका क्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चीनको सिंचुवान प्रान्तका गभर्नर यीन लीबीच भगिनी सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर हुँदै। फाइल तस्बिर: नागरिक

रुपन्देही - प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ। यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो। महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरू बताउँछन्।

प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ। प्रदेश ५ का ी शंकर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनको विभिन्न प्रान्तको भ्रमण गरे। सोही सिलसिलामा प्रदेश ५ र चीनको सिंचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ।

यो सम्झौताले दुवै प्रदेशबीच लगानीका क्षेत्र पहिचान गरेर विकासमा साझेदारी गर्ने बाटो खुला गरिदिएको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा निस्कदै छ। यसका साथै प्रदेश ५ का विभिन्न स्थानीय तहबाट पनि चीनका विभिन्न प्रान्तका समकालीन नगरपालिकाको भ्रमण धमाधम भइरहेको छ। विशेषगरी प्रदेश ५ मा बुद्धजन्मस्थल र बृहत् लुम्बिनी क्षेत्र रहेकाले धार्मिक आस्थाका आधारमा पनि चिनियाँ आशक्त देखिएका हुन।

चीनको विश्वविद्यालयमै अध्ययन गरेर फर्केका डा. सागर न्यौपानले प्रदेश र स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गराउने सूत्राधारका रूपमा काम गरेका छन्। उनले भाषा र चिनियाँको मनोविज्ञानबारे सहजीकरण गरेकाले प्रदेश सरकारसँग सहकार्य गर्ने क्रम बढेको हो।

चीनले निजी क्षेत्रसँगभन्दा सरकारसँग नै सम्बन्ध कायम गरेर सहकार्य गर्न खोजेकाले आफूले सहजीकरणको काम गरेको डा. न्यौपानेले बताए। उनका अनुसार चिनियाँ सरकारका उच्च अधिकारीहरु समेत बारम्बार यहाँका विभिन्न क्षेत्रको भ्रमणमा आउने गरेका छन्।

चीनले रुपन्देहीको सियारी गाउँपालिकामा नेपालकै नमूना ‘नेपाल–चीनमैत्री कृषि पर्यटकीय उद्यान’ निर्माण गर्ने तयारी थालेको छ। सियारी गाउँपालिका र चीनको कान्सु प्रान्त सरकारबीच सम्झौता भएर यसको निर्माण प्रक्रियासमेत सुरु भइरहेको छ। सियारीले जग्गा उपलब्ध गराउने छ। यो नमूना कृषि फर्म हुने गरि सम्झौता गरिएको हो।

चीनले आर्थिक उत्पादनका क्षेत्र र विभिन्न सस्कृतिक, शैक्षिक र ज्ञान सीप आदानप्रदान गर्ने उद्देश्यले समेत भगिनी सम्बन्ध कायम गरेको सहजकर्ता डा. न्यौपानेले बताए। दुई वर्षयता चिनियाँ सरकारको उच्चस्तरीय टोलीले नै प्रदेश ५ का विभिन्न स्थानीय र प्रदेश सरकारसँग सहकार्यको हात बढाएको हो। स्थानीय सरकारसँग त्यहाँको विशेषता र सम्भावनाअनुसार नै चीनका स्थानीय नगरपालिकाले भगिनी सम्बन्धमा सम्झौता गर्ने गरेको उनले बताए। ‘लुम्बिनीकै कारण चिनियाँहरू यो प्रदेशमा आएका छन्, उनीहरू यहाँको आर्थिक, सांस्कृतिक र शैक्षिक विकासमा सहकार्य गर्न खोजेको देखिन्छ,’ डा. न्यौपानेले भने, ‘हाम्रा सरकारले फाइदा लिने मौका जुरेको छ।’

मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा सिंचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम भएको छ। प्रदेश ५ को राजधानी बुटवल र चीनको साङ्सी प्रान्तको राजधानी शियान नगरपालिका विच सन् २०१८ कै सुरुवातमा भगिनी सम्बन्ध कायम भएको छ। शैक्षिक र सांस्कृतिक सहयोग तथा लगानी भित्र्याउन यो समझदारी गरिएको हो। तिलोत्तमा नगरपालिका र चीनको प्रसिद्ध तथा अति सुन्दर तालीयान नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने अन्तिम प्रक्रियामा छ। तिलोत्तमा नगरपालिकाको टोली चीन गएर समझदारी गर्ने कार्यक्रमसमेत तय भइसकेको छ। सोही अवसरमा तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनमा चिनियाँलाई लगानीका लागि आह्वान गर्ने योजना बनाएको छ।

३ वर्षअघि रुपन्देहीको सिद्धार्थ नगरपालिका र साङ्सी प्रान्तको बाउचीन नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएपछि प्रदेश ५ मा चिनियाँ सरकारी टोलीको भ्रमण बाक्लिन थालेको डा. न्यौपानेले जानकारी दिए। विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै चिनियाँको आकर्षण बढी देखिएको छ। चीनको सिंछुवान प्रान्तको लशान नगरपालिकाबीच पाल्पाको तानसेन, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाबीच सम्बन्ध कायम भएको छ। लशानमा मैत्रीय बुद्धको सबैभन्दा ठूलो बुद्धको मूर्ति छ। यसैगरी एक वर्षअघि चिनियाँ दार्शनिक कम्फ्यूसियसको जन्मस्थान रहेको शान्तोङ्ग प्रान्तको छुङ्फु नगरपालिका र बुद्धजन्मस्थल रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध जोडिएको छ।

यसैगरी स्व. रवीन्द्र अधिकारी संघीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको बेला लशान नगरपालिकाअन्तर्गत बृहत् उद्यान र लुम्बिनी विकास कोषबीच पवित्र उद्यान भगिनी सम्बन्ध कायम भएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका र आन्सोई प्रान्तको छिचौं नगरपालिमा प्रदेशका सांसद विष्णु पन्थीको नेतृत्वमा भ्रमण हुँदा प्रदेश ५ को बृहत् क्षेत्रमा सहकार्य गर्नेगरी छलफल भएको थियो। सोही छलफलपछि नै प्रदेश ५ मा चिनियाँ चासो थप बढेको हो। सैनामैना नगरपालिका र कान्सु प्रान्तको कान्नान् प्रिफेक्चर(उपप्रान्त) विच भगिनि सम्बन्ध गर्ने औपचारीक प्रक्रिया पूरा भएको छ। बुद्ध मावली देवदह नगरपालिका र छिचौं नगरपालिकाबीच विविधि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य गर्नेगरी सम्झौता हुने तयारी भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा गौतमबुद्ध विमानस्थल र लुम्बिनीबीच चिनियाँ सरकारको वान बेल्ट वान रोड परियोजनाअन्तर्गत बुद्धिष्ट एक्जुभेसन पार्कको अवधारणा अघि बढेको छ। यसको विस्तृत अध्ययन भइरहेको छ। यसका अतिरिक्त लुम्बिनी बौद्ध विश्वविद्यालयसँग चीनका विभिन्न युनिभर्सिटीले भाषा अध्ययन, पुरातात्व, शैक्षिक तथा प्राध्यापक विद्यार्थी आदानप्रदान जस्ता कार्यक्रमका लागि पनि भगिनी सम्बन्ध जोडिएको छ।

प्रदेश तथा स्थानीय सरकारले समेत चिनियाँ सरकारसँग भगिनी सम्बन्ध कायम गर्दा आर्थिक विकास र पर्यटन पबद्र्धनमा टेवा पुग्ने आशा लिएको छ। उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले चीनसँग विकासको मोडेल र आर्थिक विकासका लागि चिनियाँलाई लुम्बिनीमा आकर्षित गर्न सम्बन्ध विस्तार गरेको बताए। उनले भारतसँग मात्रै निर्भर नेपालले चीनसँग पनि सम्बन्ध कायम गर्दा आर्थिक विकास गर्न सक्ने देखेर सहकार्यका लागि समझदारी भएको बताए।

चिनियाँहरुको प्रदेश ५ मा बृहत् लुम्बिनी क्षेत्रले नै आकर्षित गरेकाले यसको फाईदा चिनियाँ पर्यटक मार्फत नेपालले लिनुपर्ने चीनका जानकार मोहन भण्डारीले बताए। उनले तराई र पहाड दुवैका मौलिक परम्परागत संस्कृति र उत्पादनलाई चीनसँग सहकार्य गरेर आर्थिक रुपमा उपार्जन गर्ने अवसर मिलेको बताए। उनले चीनको चासो र आकर्षण बढे पनि उनीहरूलाई फलोअप गर्ने संयन्त्र नहुँदा चिनियाँ टाढिन सक्ने जोखिम औंल्याए।

प्रदेश र स्थानीय सरकारले भने भगिनी सम्बन्ध कायम भएपछि पनि उनीहरूसँग स्पष्ट योजना दिन सकेका छैनन्। भगिनी सम्बन्धले बृहत् क्षेत्रमा सहकार्य गर्ने बाटो खोलेकाले प्रष्ट योजनासहित चिनियाँ लगानी भित्र्याउनतर्फ ध्यान दिन सके धेरै फाइदा लिन सकिने चीनका लागि प्रदेश ५ का सहजकर्ता डा. सागर न्यौपानेको भनाइ छ।

प्रकाशित: १० भाद्र २०७६ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App