१५ चैत्र २०८० बिहीबार
राजनीति

कांग्रेस पार्टी पुनर्संरचनामा दोलखा पहिलो

दोलखा - संघीयतापछि नयाँ संरचनाअनुसार कांग्रेसमा पुर्नसंरचना सम्पन्न गर्ने पहिलो जिल्ला दोलखा बनेको छ। संघीयतापछि मुलुक पुनर्संरचना भइसक्दा पनि आन्तरिक संरचना बदल्न नसकेको कांग्रेसले देशैभरि पुनर्संरचना गर्न जिल्लामा आउँदो साताबाट बल्ल प्रतिनिधि खटाउने तयारी थाल्दै गर्दा दोलखा कांग्रेसले भने जागरण अभियानका क्रममा ३ महिनाअघि नै वडा, गाउँपालिका नगरदेखि क्षेत्रसम्मको पुनर्संरचना सम्पन्न गरेको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दोलखाले मातहतका आफ्ना सबै समिति सर्वसम्मत पुनर्संरचना गरेर गठन गरेको छ। ‘दोलखामा सबै काम सर्वसम्मतिबाटै टुङ्गिएको जानकारी आएको छ,’ पौडेलले नागरिकसँग भने, ‘त्यसलाई केन्द्रबाट खटिने प्रतिनिधिले अनुमोदन गरेपछि मात्र वैधानिकता पाउनेछ।’ उनले देशभरि पुनर्संरचना र मातहतका समिति समायोजनसहितको कामकाजका लागि मंगलबारसम्म देशैभरि जिल्लामा प्रतिनिधि खटाइने सुनाए। खटिने प्रतिनिधिले पार्टी मातहतका समिति र एकाइ गठन गर्ने र सोहीअनुसार केन्द्रले अनुमोदन गर्ने पौडेलले सुनाए।

दोलखा कांग्रेसले वैशाख २५ देखि जेठ २५ गतेसम्म चलेको जागरण अभियानका क्रममा जिल्ला भर नयाँ संरचना अनुसार पार्टीका समिति गठन गरिसकेको छ। ९ ओटा स्थानीय तह र ७४ वडा रहेको जिल्लामा नयाँ संरचनाअनुसार सबै समिति बनिसकेका छन भने महासमितिले पारित गरेको नयाँ विधानअनुसार स्थानिय कमिटी समायोजन र पूरा भएका छन्।

मुलुक संघीयतामा जानुअघि दोलखामा ५१ गाविस र दुई निर्वाचन क्षेत्र थिए। सोहीअनुसार पार्टीको ५१ गाविस समिति, दुई क्षेत्रीय समिति र एउटा जिल्ला कार्य समिति थियो। पार्टीका जिल्ला सभापति रुद्रबहादुर खड्काका अनुसार संघीयतापछि बनजेका ९ ओटै स्थानीय तह, ७४ ओटै वडामा पार्टीको नयाँ विधानअनुसारको संरचना गठन भएको छ। यस्तै नयाँ विधानअनुसार स्थानीय तहमा थप्नुपर्ने पदाधिकारी र सदस्यको नियुक्तिसमेत सर्वसम्मतले नै सकिएको छ।

जिल्लाका २ नगर र ७ गाउँपालिका गरेर ९ ओटा स्थानीय तह छन्। तीमध्ये भिमेश्वर नगरपालिका र जिरी नगरपालिकामा यसअघिकै मौजुदा कार्य समितिमा नयाँ विधानअनुसार नयाँ थपिएका संरचनाबाट प्रतिनिधित्व सुनिश्चित हुनेगरी उपसभापतिसहितका पदाधिकारी र सदस्य थप गरेर विस्तार गरिएको छ। भिमेश्वरमा राजेश श्रेष्ठ र जिरीमा सोनाम शेर्पा सभापति छन्। यस्तै कालिञ्चोक गाउँपालिकामा अर्जुन शिवाकोटी, शैलुङ गाउँपालिकामा दावादोर्जे लामा, मेलुङमा छत्रबहादुर गोले, तामाकोसीमा ङरहरि फुयाँल, वैत्येश्वरमा राजु उप्रेती, गौरीशंकरमा श्याम सुन्दर तामाङ र विगुमा हेमराज तामाङ सभापति बनेका छन्।

पार्टीका जिल्ला सभापति खड्काले जिल्लाभर पुनर्संरचना गत जेठमै सकिएको र केन्द्रबाट खटिने प्रतिनिधिले अनुमोदन गरेपछि समितिहरू वैधानिक हुने जानकारी दिए। ‘देशभरिमै पुर्नसंरचना टुङ्ग्याउने हामी पहिलो जिल्ला भएका छौं,’ उनले भने, ‘अब वैधानिक रूपमा अनुमोदन हुन मात्र बाँकी हो।’

उपसभापति र सचिव मनोनित
कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला उपसभापति र सचिव मनोनित भएका छन्। जिल्ला सभापति खड्काको प्रस्तावमा शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला कार्य सम्पादन समितिको बैठकले उपभापतिमा छविलाल तामाङ र सचिवमा वालकृष्ण आचार्यलाई मनोनयन गरेको हो। पुरानो विधानअनुसार सभापतिले उपसभापति र एकजना सचिव मनोनयन गर्न पाउने चलन थियो। नयाँ विधानअनुसार पार्टी समिति टुंग्याउन जिल्लामा प्रतिनिधि खटिनुअघि नै सभापतिले दुवै पदमा मनोनयन सकेका हुन्। मनोनयनको निर्णय भने आगामी अन्तिम साता बस्ने जिल्ला कार्य समितिले अनुमोदन गर्ने कांग्रेस जिल्ला सभापति खड्काले बताए।

प्रकाशित: ८ भाद्र २०७६ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App