१६ चैत्र २०८० शुक्रबार
राजनीति

उपलब्धिको रक्षा गर्न दलहरुलाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन्।

समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको ‘कृति संविधान निर्माण घटना र अनुभूति’ को शनिबार विमोचन गर्दै उनले भने, ‘२०६२/६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो।’ 

पूर्वराष्ट्रपति यादवले भने, ‘कतिपय शक्तिले संविधानसभा नै भङ्ग गर्न खोजिरहेको निकै अप्ठ्यारो समयमा कतिपय जातजाति र समुदायले उठाएका मुद्दा नसमेटिए पनि सबैको भावनालाई संविधानले आत्मसात गरेको छ, त्यसैले यो उपलब्धिको रक्षा गर्न राजनीतिक दलले निकै सोच विचार पु-याएर काम गर्नुपर्छ।’

संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गरे। 

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताए। उनले भने, ‘संविधानमा परेका सबै विषयवस्तु निकै सोच र विचार गरेर राखिएको हुनाले संविधानमा कुनै त्रुटि र खराबी छैन, कसरी कार्यान्वयन गरेर अघि बढने सन्दर्भमा राजनीतिक दलका पदाधिकारीको क्षमता, वुद्धि र विवेकमा भरपर्दछ।’

नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र  समावेशी सिद्धान्त नचाहने पक्षबाट मात्र संविधानबारे टिक्काटिप्पणी हुने गरेको स्पष्ट पारे। सांसद प्रेम आलेले संविधानले नेपालको भौगोलिक र जातीय विविधतालाई समेटेको बताए। 

नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष शम्भु थापाले लेखिएकै आधारमा मात्र संविधान, मूल कानून र रटान गरेकै आधारमा लोकतन्त्रको सही अभ्यास हुँदो रहने छ भन्ने विषय कतिपय घटनाले पुष्टि गरिरहेको धारणा व्यक्त गरे। उनले भने, ‘न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकाले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमा जोड दिनुपर्ने आवश्यकता औल्याए। 
 
संविधानविद् डा भिमार्जुन आचार्यले कामभन्दा बोल्न बढी रुचाउने नेपाली राजनीतिक नेताबीचमा कही कतैबाट पनि प्रभावित नभई सरल र स्पष्ट भाषामा संविधानको व्याख्यात्मक टिप्पणीकै झल्को दिने पुस्तक प्रकाशित गरेर नेता सिंहले संविधान निर्माणका बेलाको घटना र अनुभूति पस्कन सफल भएको बताए।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले संविधानसभाबाट संविधान जारी गर्न सफल भए पनि संविधानले सबै तह तप्का र समुदायका मुद्दालाई सम्बोधन गर्न नसकेको भनी गुनासो गरे।

प्रकाशित: ७ भाद्र २०७६ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App