४ वैशाख २०८१ मंगलबार
राजनीति

‘सरकारले कम्युनिस्ट सर्वसत्तावाद लाद्न खोज्यो’

नगेन्द्र उपाध्याय/गणेश विशु

सुर्खेत - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कम्युनिस्ट सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्। उनले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको दाबी गरे। ‘कम्युनिस्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्रै होइन्, संवैधानिक आयोगहरूको अधिकार पनि खोसेको छ,’ शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधिहरूका लागि वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सर्वसत्तावादी कम्युनिस्ट शासन अन्त्यका लागि फेरि एकपटक लड्ने बेला आएको छ।’

सभापति देउवाले जनताको मत पाएर कम्युनिस्टहरू सरकारमा पुग्नु ठूलो विषय नभएको तर्क गर्दै सर्वसत्तावादी कम्युनिस्ट शासन लाद्नुलाई गम्भीर रूपमा लिनुपर्ने बताए। ‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो,’ सभापति देउवाले भने, ‘अब अन्तिमपटक कम्युनिस्ट शासन अन्त्यका लागि लड्न सबै तयार हुनुपर्छ।’ उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार र महँगीबाहेक जनतालाई केही दिन नसकेको बताए। ‘जनताको ढाड सेक्नेगरी कर बढाइएको छ। उपभोक्ता समितिका नाममा कार्यकर्ता पोस्ने काम भएको छ। भ्रष्टाचारले सीमा नाघेको छ,’ उनले भने, ‘सरकारले जनतालाई राहत मिल्ने केही पनि काम गर्न सकेको छैन।’

दुई कम्युनिस्ट एक भएर चुनाव जितेको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘कांग्रेस एउटै भएर पनि दुई पार्टीजस्तो भई चुनावमा गएकाले हार बेहोर्नुप-यो।’

पार्टीभित्रको प्रसंगमा देउवाले बढ्दो अन्तरद्वन्द्वलाई संकेत गर्दै आफू सभापतिमा निर्वाचित भएदेखि स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो गरे। ‘पार्टी सभापति सहमति र एकता चाहन्छ,’ नजिकै रहेका महामन्त्री सशांक कोइरालातर्फ इंगित गर्दै उनले भने, ‘तपाईंहरूले पनि सभापतिलाई सहयोग गर्नुप-यो नि ?’ उनले आफ्नो कार्यकालको लामो समय पार्टीभित्र सहमतिका लागि वार्ता गर्दै बितेको उल्लेख गरे।

सभापति देउवाले पार्टीका विभाग, संगठनलगायतलाई सहमतिका आधारमा पूर्णता दिन धेरै प्रयास गरे पनि आफूसँग निर्वाचनमा पराजित समूहबाटै सहयोग नपाएको स्पष्ट पारे। उनले अब एक्लै भए पनि पार्टीका विभाग र संगठनहरूलाई पूर्णता दिने बताए। ‘आजसम्म सहमतिका लागि समय बिताएँ। अब पनि सहयोग पाइनँ भने एक्लै निर्णय गर्छुु,’ उनले भने, ‘यसले कसैले पनि दुःख नमान्नुहोला।’ उनले निर्वाचनमा अन्तर्घात गरेकाहरूलाई कारबाही गर्न खोज्दा पनि विरोध हुने गरेको बताए। ‘अनुशासन समितिलाई बिना कुनै पूर्वाग्रह निर्वाचनमा अन्तर्घात गर्नेहरुलई कारबाही गर्न निर्देशन दिएको छुु,’ देउवाले भने, ‘यसमा कसैले रोक्न खोजे उनीहरूका नाम केन्द्रीय समितिको बैठकबाट सार्वजनिक गर्छु।’

सभापति देउवाले पार्टीको आन्तरिक एकता असम्भव नभएको बताउँदै व्यक्तिभन्दा पार्टी र देशका लागि सबैले सोच्नुपर्ने बताए। ‘दुई कम्युनिस्ट पार्टी नेकपा बनेको छ,’ उनले भने, ‘हामी एउटै घरका हौं, आन्तरिक एकता असम्भव होइन।’ दुई कम्युनिस्ट एक भएर चुनाव जितेको उल्लेख गर्दै सभापति देउवाले भने, ‘कांग्रेस एउटै भएर पनि दुई पार्टीजस्तो भई चुनावमा गएकाले हार बेहोर्नुप-यो।’

उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र संविधानविरोधी काम गरिरहेको आरोप लगाए। ‘हजारौं जनताको बलिदानी र संघर्षबाट संघीयता र संविधान प्राप्त भएको हो,’ उनले भने, ‘कम्युनिस्ट सरकार यो उपलब्धिविरुद्ध कामहरू गरिरहेको छ।’ कांग्रेसले सिंहदरबारमा रहेको अधिकारलाई जनताको घरघरमा पु-याएको बताउँदै उपसभापति निधिले भने, ‘अहिले सिंगापुरबाट सरकार सञ्चालन गर्न खोजिँदै छ।’ उनले स्वास्थ्य उपचारका लागि सिंगापुर जानु ठिकै भए पनि त्यहींबाट प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्नु गम्भीर विषय भएको बताए। महामन्त्री सशांक कोइरालाले डेढ वर्षको अवधिमा कम्युनिस्ट सरकारले भ्रष्टाचार र महँगी मात्रै जनतालाई उपहार लिएको बताए। ‘जनताले ठूलोे आशा र अपेक्षा गरेर कम्युनिस्टहरूलाई सत्तामा पु-याए। संघमा मात्रै होइन, प्रदेशमा पनि उनीहरूकै पूर्ण सहमत छ,’ महामन्त्री कोइरालाले भने, ‘उनीहरूले जनताको आशा र अपेक्षामाथि ठूलो घात मात्रै गरेनन्, देशमा महँगी र भ्रष्टाचारलाई संस्थागत पनि गरे।’

महामन्त्री कोइरालाले कार्यक्रममा गुट अन्त्यको घोषणा गरे। ‘आजैका मितिदेखि केन्द्रमा कोही कसैको गुट र समूह रहनेछैन्, तपाईंहरू पनि गुट–उपगुट बनाउनेतर्फ नलाग्नुहोस्,’ उनले भने, ‘कांग्रेस एकताबद्ध हुँदा मात्रै कम्युनिस्टहरूसँग मुकाबिला गर्न सकिन्छ।’ महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट सरकारका गलत क्रियाकलापलाई समयमै रोक्न नसके देश ठूलो द्वन्द्वमा फस्ने चेतावनी दिए। ‘सरकारका गलत निर्णय र क्रियाकलाप रोक्न सकेनौं भने देश जातीय, धार्मिक र क्षेत्रीय द्वन्द्वमा फस्ने सम्भावना देखिँदै गएको छ,’ उनले भने, ‘यसलाई रोक्न पार्टीलाई रूपान्तरित गर्दै सिंगो मुलुकको नेतृत्व कांग्रेसले लिनु जरुरी छ।’

महामन्त्री खड्काले पहिलो चरणको जनजागरण अभियानले कांग्रेसजनमा नयाँ उत्साह र जाँगर भरेको बताउँदै दोस्रो चरणको अभियानले पार्टीका आन्तरिक संरचना स्थापित हुनुका साथै जनतामा कांग्रेसप्रतिको भरोसा बढ्ने बताए। उनले भदौ २० गतेभित्र प्रदेश र निर्वाचन क्षेत्रको समायोजन सम्पन्न हुने र कात्तिकसम्ममा स्थानीय तहको समायोजन प्रक्रिया सकिने जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०७६ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App