२९ असार २०७७ सोमबार
राजनीति

'त्रिपक्षीय सन्धिको सान्दर्भिकता सकियो'

फाइल तस्बिर

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोर्खा भर्तिसम्बन्धी नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धिको सान्दर्भिकता सकिएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोर्खा भर्ती केन्द्रका विषयमा सोधेको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘यो सन्धिको सान्दर्भिकता सकिएको विषयमा प्रधानमन्त्रीले पनि बेलायत भ्रमणमा कुरा उठाउनुभएको थियो, हामी भारत र बेलायतसँग यस विषयमा छुट्टाछुट्टै डिल गर्न चाहन्छौँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका बेला पनि यो विषयमा छलफल भएको भन्दै मन्त्री ज्ञवालीले नेपाल सन्धिको पुनरावलोकनको पक्षमा रहेको बताए। नयाँ संविधानको धारा ५१ ड २ ले विगतमा भएका पुराना र असमान सन्धिको पुनरावलोकन गर्ने निर्देशनात्मक व्यवस्था गरेकाले सरकार पुराना सन्धि सम्झौताको अध्यनमा लागिरहेको बताए। मन्त्री ज्ञवालीले नेपालको हितविपरीत रहेका सन्धि सम्झौताप्रति सरकार गम्भीर रहेको भन्दै उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर पुनरावलोकन गर्ने बताए।

मन्त्री ज्ञवालीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदनका आधारमा पुराना सन्धि सम्झौताको पुनरावलोकन गरिने बताए। यस विषयमा बुधबार सम्पन्न नेपाल भारत उच्चस्तरीय आयोगको संयुक्त बैठकमा पनि छलफल भएको मन्त्री ज्ञवालीले संसदलाई जानकारी गराएका छन्। गोर्खा भर्तीसम्बन्धी नेपाल बेलायत र भारतसँग भएको त्रिपक्षीय सन्धि नेपालको हितविपरीत रहेको भन्दै विभिन्न राजनीतिक दलले यो सन्धिको पुनरावलोकनका लागि सरकारसँग माग गर्दै आएका छन्।

संसदमा सोधिएको फरक प्रशंगको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भारतले विशेष राज्यको दर्जा खोजको कश्मिरमा ९० हजार नेपालीको बसोबास रहेको र नेपाल त्यहाँ शान्तिका पक्षमा रहेको बताए। उनले नेपालले समस्याको समाधान शान्तिवार्ताबाट खोज्नुपर्ने भनेर बोलिसकेको भन्दै नेपाल त्यसमा अडिग रहेको बताए। मन्त्री ज्ञवालीले बुधबार सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा छलफल भएका विषयबारेमा पनि जानकारी गराएका थिए। बैठकमा नेपाल र भारतबीच सुस्ता र कालापानीको नक्सानका लागि ठोस प्रस्ताव अघि बढाउने सहमति पनि भएको मन्त्री ज्ञवालीले संसद्लाई जानकारी गराएका थिए।

प्रकाशित: ६ भाद्र २०७६ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App