७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखियो, औषधिले काम नगर्दा सिंगापुर जानुपर्यो’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले ओली थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन्। उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए। 

बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे। प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो। एनका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ। प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंह सँगै गएकी छिन्। 

डा. शर्माले सिंगापुरमा रहँदा नेश्नल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गरिने जनाए। उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनाईन अहिले २ को हाराहारीमा छ। उनले भने, ‘उहाँको मृगौला स्थिर छ।’ सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ। 

उनले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र उपचारका क्रमहरु आफुहरुले नेपाली जनतालाई अवगत गराइरहने पनि विश्वास दिलाए। 

बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाइन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए। एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाई छ। 

डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरनाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधिले पनि काम नगर्ने बताए। तर, प्लाज्माफेरिसिस मार्फत एन्टीबडी नर्मल गर्न सकिने उनको भनाई छ। एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्ने बताए। उनकाअनुसार कम्तिमा पनि ६ पटक गर्नुपर्ने हुन्छ। प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पूनः मृगौला प्रत्यारोपणपनि हुनसक्ने काफ्लेले बताए। 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए। श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतीको भने विरोध गरे। विदेश उपचारमा जानैपर्ने भए पनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतिलाई पनि नेपालका नेताहरुले आत्मसात नगरेकोमा उनको गुनासो थियो। 

प्रकाशित: ५ भाद्र २०७६ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App