१६ चैत्र २०८० शुक्रबार
राजनीति

थरुहट-थारुवान सम्मेलन शान्तिपूर्ण बनाउन ७ बुँदे सहमति

टीकापुर - थरुहट थारुवान राष्ट्रिय सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ७ बुँदे निर्णय गरिएको छ। सम्मेलन भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा आयोजना हुँदैछ।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा आयोजना गरेको सर्वदलीय बैठकमा ७ बुँदे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

उनले जिल्लामा क्रियाशिल सबै राजनीतिक दल र आयोजक पक्षबीच लिखित रुपमा निर्णय भएको बताए। बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न राजनीतिक दलहरुले स्थानीय प्रशासनलाई सहयोग गर्ने बताएका छन। त्यसैगरी आयोजक पक्षले समेत स्थानीय प्रशासनलाई सघाउने प्रतिवद्धता व्यक्त गरेको छ।

बैठकले सम्मेलनलाई शान्तिपूर्वक रुपमा सम्पन्न गर्नका लागि टीकापुर नगरपालिका भित्र भदौ ६ गते साँझ ५ बजेदेखी ९ गते साँझ ५ बजेसम्म मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाउने निर्णय गरेको छ। यसैका आधारमा जिल्ला प्रशासन कार्यालय कैलालीले होटल व्यवसायीहरुलाई मदिरा बेचबिखन नगर्न निर्देशन जारी गरिसकेको जनाएको छ।

आयोजकले सम्मेलनमा सहभागीहरुलाई पहिचान खुल्ने प्रवेश पासको व्यवस्था गर्ने र सोही आधारमा कार्यक्रमस्थलमा सुरक्षा चेकजाँच गरेर मात्रै प्रवेश गराउने निर्णय भएको छ। आयोजकका तर्फबाट कार्यक्रमस्थलमा खटिने स्वयमसेवकहरु समेत सुरक्षाकर्मीको समन्वयमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए।

सम्मेलनमा सहभागी हुन आउने व्यक्तिहरुले सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा असर पर्ने गरी कुनै किसिमको नारा, जुलुस, वक्तव्य र सम्बोधन समेत नगर्ने निर्णय भएको छ। कार्यक्रमस्थल आसपासको क्षेत्र र बजारमा कसैले पनि लाठी, घरेलु हतियार बोक्न, प्रयोग गर्न तथा प्रदर्शन गर्ने जस्ता कार्य नगर्न बैठकले निर्णय गरेको छ। यस्ता क्रियाकलापमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही हुने निर्णयमा उल्लेख छ।

टीकापुरमा समेत सम्मेलनलाई मध्यनजर गर्दै इलाका प्रशासन कार्यालयको पहलमा बिहिवार सर्वदलीय बैठक बसेको छ। सो बैठकले जिल्ला प्रशासन कार्यालयको पहलमा गरिएको निर्णय अनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख उपसचिव हिरालाल चौधरीले सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैसँग आग्रह गरेका छन। उनले शान्ति सुव्यवस्थामा अफ्ठ्यारो पार्ने कुनै काम भएमा कानून बमोजिम कारवाही गरिने बताए।

२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटना पछि यस क्षेत्रको सुरक्षा व्यवस्थालाई गम्भिरताका साथ हेर्ने गरिन्छ। सो घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। ज्यान जानेमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ६ जना, सशस्त्र प्रहरीका २ जना र १ जना १८ महिनाका नाबालक टेकबहादुर साउँद रहेका थिए।

प्रकाशित: ५ भाद्र २०७६ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App