१५ चैत्र २०८० बिहीबार
राजनीति

सर्वदलीय बैठकः पूर्वराजा र विप्लव समूहबारे छलफल, प्रमको प्रस्तावमा देउवाले के भने?

काठमाडौं– प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलगायत राजावादी शक्ति र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिबारे छलफल भएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी नियुक्तिमा छलफल गर्न बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिबाट परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै एकताबद्ध हुनुपर्ने प्रस्ताव राखेका थिए। उनले देशमा हिंसात्मक गतिविधि हुन नदिनका निम्ति सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। 

प्रधानमन्त्रीको धारणामा सहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य दलका नेताहरुले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली, संविधानको रक्षा गर्ने प्रश्नमा एकताबद्ध छौं, कहिकतैबाट प्रहार भयो भने सहन गर्दैनौं भनेका थिए। 

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली, संविधानमाथि विभिन्न पक्षबाट प्रहार भइरहेको स्थिती र यसलाई क्षतविक्षत गर्ने प्रयत्नहरु हुन थालेको भन्दै यसविरुद्ध संघर्ष गर्न सबै राजनीतिक पार्टीहरु एकताबद्ध र इमान्दारिताका साथ अघि बढ्नुपर्ने निष्कर्ष निस्किएको बताए।

‘जुन शक्ति, तत्व, प्रवृत्ति विस्तापित भएका थिए। तिनीहरुबाटै कुनै न कुनै कोणबाट हुनसक्ने चलखेलको खतराबाट सचेत हुन खोजिएको हो। तर हाम्रो निष्कर्ष प्रतिगमन आइसक्यो, निकटमै छ भन्ने होइन’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसप्रकारका गतिविधि हुन नदिन हामी सचेत छौं।’

उनका अनुसार विप्लव समूहका गतिविधि र हिंसात्मक गतिविधि नियन्त्रणका लागि पनि एकताबद्ध हुने समझदारी भएको छ। ‘देशलाई फेरि हिंसातर्फ लानु हुँदैन, यसलाई कसैले पनि प्रोत्साहित गर्ने गतिविधि गर्नुहुँदैन, यसलाई अन्त्य गर्न, शान्तिलाई सुदृढ गर्न हामी सबै एकताबद्ध हुनुपर्छ भन्नेमा सबै सहमत भए’, प्रवक्ता श्रेष्ठले भने। 

‘प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र अन्य दलका नेताहरुले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली, संविधानको रक्षा गर्ने प्रश्नमा एकताबद्ध छौं, कहिकतैबाट प्रहार भयो भने सहन गर्दैनौं। सरकार र नेकपासँग एकताबद्ध छौं भन्नुभयो’, श्रेष्ठले थपे।  

प्रवक्ता श्रेष्ठले ‘शान्ति प्रक्रियाका काम पुरा गर्नुपर्छ, फेरि देशमा कुनै पनि हिंसात्मक गतिविधि हुन दिनु हुँदैन। प्रोत्साहन गरिनु हुँदैन। कानुन संविधान विरोधी गतिविधि नियन्त्रण गर्नुपर्छ। आवश्यक परे वार्तामार्फत समाधान गर्नुपर्छ’ भन्ने दोस्रो निष्कर्ष निस्किएको बताए। बैठकमा कांग्रेस नेताले विप्लव समूहलाई वार्तामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए। 

प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको बारेमा पनि सम्पूर्ण नेतालाई जानकारी गराएका थिए। ‘बाहिर चर्चा भएजस्तो स्वास्थ्यमा गम्भीर समस्या नभएको, स्वास्थ्यको पुनः परीक्षणका लागि ५ गते सिंगापुर जाँदै हुनुहुन्छ। तर स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘चिकित्सकको सुझावमा फेरि जान लागेको जानकारी प्रधानमन्त्रीले गराउनुभयो, नेताहरुले स्वास्थ्यलाभको कामना गर्नुभयो।’ 

सर्वदलीय बैठक भोलि पनि बस्ने र शान्ति प्रक्रिया पुरा गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: ३ भाद्र २०७६ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App